कालीकोटमा भाइरल ज्वरोका बिरामी बढे
कालीकोट ः कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
हप्ता दिनसम्म ज्वरो निको नभएपछि ११ कोष टाढा रास्कोट नगरपालिका, शान्नीत्रिवेणी गाउँपालिका लगायतका स्थानीय तहबाट बिरामी जिल्ला अस्पताल आउन थालेका छन् ।
भाइरल ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा बेडको पनि अभाव हुन थालेको छ । आइतबार इमर्जेन्सी वार्डमा बेड अपुग हुँदा बेन्च राखेर बिरामीको उपचार थालिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा। सङ्केत विश्वकर्माले नयाँ भवन बन्न धेरै समय लागेका कारण अस्पतालमा बिरामीलाई बेड अपुग हुनेगरेको बताउनुभयो । ‘अहिले सिजनल भाइरल ज्वरो फैलिएको छ, बिरामी दैनिक दुईसयको हाराहारीमा अस्पताल आउनेगरेका छन्, अस्पतालमा बेडको अभाव भइरहेको छ’ डाक्टर विश्वकर्माले बताउनुभयो ।
सान्नीत्रिवेणी गाउँपालिका–२ का अनिल विष्टले आफ्नो दाजु बिरामी भएको तीन दिनसम्म पनि ज्वरो निको नभएकाले जिल्ला अस्पतालमा आउनुपरेको बताउनुभयो । अस्पतालमा बेड अपुग भएर दिनभरि बेन्चमा बिरामीलाई राख्नुपरेको गुनासो गर्नुभयो ।
इमरजेन्सी वार्डमा बिरामीको चाप निकै बढिरहेको छ । अस्पतालका डाक्टर अप्सरा हमालले गाउँमा भाइरल ज्वरो फैलिएका कारणले अस्पतालमा पनि बिरामीको सङ्ख्या वृद्धि भएको सुनाउनुभयो । आइतबार दुई सय नजिक बिरामीले ओपिडी सेवा लिएका थिए भने त्यसमा ज्वरोका मात्र एकसय बिरामी रहेको अस्पताल चिकित्सकको भनाइ छ ।