सुन्तला जोगाउन कृषिविज्ञको समूह किसानको बिचमा

सल्यान ः सल्यान जिल्लाको सुन्तलामा देखिएको पिङ्क डिजिज रोगको अध्ययनका लागि कृषिविज्ञको समूह किसानको बिचमा पुगेका छन् । केही समयअघि जिल्लाको बागचौर नगरपालिका–८ र ९ का सुन्तला बगैँचामा देखिएको रोगको नमुना सङ्कल गरी राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रमा पठाइएको थियो । परीक्षणबाट सुन्तलामा पिङ्क डिजिज (गुलाबी रोग) पुष्टि भएको थियो । त्यसपछि विज्ञको टोली किसानको बगैँचामै पठाएर उपचार सुरु गरिएको हो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मासमेत किसानसँग सरकार कार्यव्रmम अन्तर्गत विज्ञसहितको प्राविधिक टोली लिएर सुन्तला बगैँचामा पुग्नुभएको छ  । सुन्तलाको पकेट क्षेत्र बागचौर नगरपालिका–८, कोटमौलाका किसानलाई तालिम दिएर रोग नियन्त्रण, विषादी वितरणका साथै प्रयोगको विषयमा बगैँचामै पुगेर व्यावहारिक प्रदर्शनी गरेर उपचार गरिने छ ।

रोग र उपचारका विषयमा सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान सिपमार्फत रोग उपचार गर्ने व्यवस्था गरिएको छ । बढी ओसिलो र न्यानो वातावरण भएको असारदेखि साउन, भदौसम्म सुन्तलाका बोटका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने गरेको छ । कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतका अनुसार पिङ्क रोगले सुरुमा पानीले भिजेको जस्तो देखिने र बिस्तारै रोगले ग्रस्त पार्दै जाने तथा वर्षा सकिएपछि बिस्तारै हांँगाको बोक्राको तन्तु मर्दै जाने लक्षण देखिन्छ । बोक्रा सुकेर चर्केको भागमा गुलावी रङ आउने र यसरी बोक्रा सुकेपछि जुन हांँगामा लागेको छ त्यो हाँंगा सुकेर जान्छ ।

सुन्तलामा देखिएको रोगको उपचार तथा रोगथामका लागि बोटको फेदमा माटोको सतहबाट एक मिटर जति माथि बोडेक्स पेस्ट लगाउने, रोग देखिएको बोटको माथिल्लो भागमा कपर अक्सिसक्लोराइडयुक्त विषादी दुई ग्राम प्रतिलिटर पानीको वा बोडो मिश्रण एक प्रतिशतका दरले स्प्रे गर्न सकिन्छ । यस्तै उक्त विषादीलाई १० देखि १२ दिनको फरकमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ ।





error: Content is protected !!