ग्याबोनमा सैन्य ‘कु’

लिब्रुभिल — अफ्रिकाको अर्को देश ग्याबोनमा सेनाले ‘कु’ गरेको छ । मंगलबार राति सेनाले सत्ता हातमा लिएको र राष्ट्रपति अली बोन्गो ओन्डिम्बालाई घरमै नजरबन्दमा राखेको जनाएको छ । बुधबार उच्च सैन्य अधिकारीले सत्ता नियन्त्रणमा लिएको त्यहाँको टेलिभिजनमार्फत बताएका हुन् । राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ । उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् ।
गत अगस्ट २६ मा भएको निर्वाचनमा ६४ वर्षीय बोन्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४.२७ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । उनका प्रतिस्पर्धी अल्बर्ट ओन्डो ओसाले ३०.७७ प्रतिशत मत पाएका थिए । तर, सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । त्यहाँको टेलिभिजनले ‘कु’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केको दृश्य देखाएको छ ।
अली सन् २००९ मा राष्ट्रपति भएका थिए । त्यसयता उनी निरन्तर सत्तामा थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए । बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ । ‘गत चुनावमा पनि जनताले सोचेजस्तो पारदर्शी, विश्वसनीय र समावेशी मतदानको मापदण्ड पूरा हुन सकेन,’ सेनाले भनेको छ, ‘गैरजिम्मेवार शासनले यस्तो अवस्था निम्तिएको हो ।’ ग्याबोनिज रिपब्लिकन गार्डका प्रमुख ब्राइस क्लोथेयरमाथि सत्ता कब्जा गरेको आरोप छ । सन् २०१८ मा बोन्गोको स्वास्थ्यमा समस्या आउँदा ‘कु’ को प्रयास गरिए पनि असफल भएको थियो ।
मध्य अफ्रिकाको देश ग्याबोन सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यसयता एउटै परिवारले पाँच दशकसम्म यहाँ शासन गरेको थियो । प्रतिव्यक्ति वार्षिक आयका हिसाबले यो अफ्रिकाको धनी देशमध्येको एक हो । २० लाख ३० हजार जनसंख्या रहेको यो देशको प्रतिव्यक्ति आय सन् २०२१ मा ८ हजार ६ सय ३५ अमेरिकी डलर थियो । ग्याबोनको राजस्व आम्दानीको ६० प्रतिशत हिस्सा तेल बिक्रीबाट प्राप्त हुन्छ । सन् १९७० मा यहाँ तेल उत्खनन सुरु भएको थियो, जसले मध्यम वर्गको आर्थिक अवस्था बलियो बनाउन मद्दत गरेको थियो । तर, अझै एक तिहाइ जनसंख्या गरिबीको रेखामुनि रहेको विश्व बैंकको तथ्यांक छ । ग्याबोन सन् २०२० यता सैनिक विद्रोह भएका पश्चिम तथा मध्य अफ्रिका आठौं देश हो । यसअघि गत जुलाईमा निजेरमा पनि सेनाले ‘कु’ गरेको थियो । यस्तै, अफ्रिकाका माली, गिनी, बुर्किना फासो, चाडमा पनि सैनिक शासन लागू छ । राष्ट्रपति बोन्गोले एउटा भिडियो जारी गर्दै विश्वभर रहेका आफ्ना मित्रहरूलाई ‘कु’ को विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन् । ग्याबोनमा भएको पछिल्लो घटनाप्रति फ्रान्स, चीन र रुसले चासो व्यक्त गरेका छन् ।
सुरक्षा परामर्श समूह अफ्रिपोलिटिकाका विश्लेषक ओविग्वे एगुगुका अनुसार ग्याबोनमा भएको ‘कु’ अन्य देशको भन्दा फरक रहेको बताए । ‘ग्याबोनको ‘कु’ अन्य पश्चिम अफ्रिकी देशको भन्दा फरक छ । अन्य देशमा सुरक्षा र शासन व्यवस्थालाई कारण बनाएर ‘कु’ गरिएको थियो, तर यहाँ चुनावी प्रक्रियालाई कारण देखाइएको छ,’ उनले भने । लामो समयदेखिको भ्रष्टाचार र सत्तामा परिवारवाद हावी हुँदामा ग्याबोनमा ‘कु’ भएको दक्षिण अफ्रिकी बुद्धिजीवी सनुशा नाइडु बताउँछिन् । वित्तीय व्यवस्थापन तथा स्रोत परिचालनमा असफलता र विकास निर्माणमा उदासीनताका कारण ग्याबोनको सत्ता परिवर्तन भएको उनको भनाइ छ । ‘यो लोकतान्त्रिक प्रक्रियाप्रति जनतामा देखिएको निराशाको उपज पनि हो । त्यसैले ग्याबोनका जनता सैन्य संस्थाप्रति भरोसा गर्न बाध्य भएका छन्,’ उनले भनिन् ।










