सशस्त्र प्रहरीमा ९ सय जवानका लागि भर्ना खुल्दा ३४ हजारले दिए आवेदन

सशस्त्र प्रहरीमा ९ सय ३२ जवानका लागि खुलेको विज्ञापनमा ३४ हजारको आवेदन परेको छ । सशस्त्र प्रहरीले असार २९ गते समावेशी कोटासहित ९ सय ३२ जना जवानको भर्ना खुलाएको थियो । त्यसमा देशभरबाट ३४ हजार २५८ जनाले आवेदन दिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका अनुसार बाग्मती र सशस्त्र हेडक्वार्टरबाट ४ हजार ८९९, सुनसरीको एक नम्बर बराह बाहिनीबाट ४ हजार १२२, महोत्तरीको दुई नम्बर छिन्नमस्ता बाहिनीबाट ६ हजार ३२३, कास्कीको चार नम्बर मुक्तिनाथ बाहिनीबाट १ हजार ३३९ जनाले आवेदन दिएका छन् ।
यस्तै, रुपन्देहीको पाँच नम्बर बिन्ध्यवासिनी बाहिनीमा ५ हजार ५९९, सुर्खेतको छ नम्बर महेश्वरी बाहिनीमा ५ हजार ६८५, कैलालीको सात नम्बर वैद्यनाथ बाहिनीमा ५ हजा ५३२ र नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा हुम्ला, मुगु र कालिकोटमा ७६० जनाले आवेदन दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । अहिले सशस्त्रमा भर्ना छनौट चलिरोखको छ ।
सशस्त्र प्रहरीले भर्खरै कर्मचारीहरूको दबरन्दी मिलान गरेर ७ हजार सशस्त्र प्रहरी कर्मचारीको बढुवा गरेको थियो । सशस्त्र प्रहरी बलको इतिहासमा पहिलोचोटी एकैपटक प्रहरी जवानदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सम्म बढुवा भएको थियो ।










