नगरपालिकाले भाडा भुक्तानी गर्ने गरी दमाइको उद्धार

रुकुम पश्चिम ः घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ खेतकि ३५ वर्षकि बास्मति दमाईलाई उद्धार गरिएको हो।

शनिवार बिहान सबेरै घरबाट घाँस काट्न गएकि दमाई घर नजिकैको भिरबाट लडेर करिब एक सय मिटर तल खसेको स्थानीयले जनाएका छन । घटनास्थलबाट वडा नम्वर २ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछी हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ । नगरप्रमुख केसीले घाईतेको उद्धार गर्न हेलिकप्टरका लागि प्रशासन समक्ष अनुरोध गरेका थिए । घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताए ।

घटनास्थल एकदमै दुर्गममा भएको र सडक भए पनि बर्षातमा अवरुद्ध भएकोले उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानियको सहयोगमा घाईतेको उद्धार गरिएको थियो । गम्भीर घाइते भएकि दमाईको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाईएको हो । स्यालाखदी स्वास्थ्य चौकीमा कार्यरत चेतना यरीका अनुसार दमाईको अवस्था गम्भिर भएपछी नगरपालिका सँग हेलिकप्टर मार्फत उद्धार गर्न अनुरोध गरिएको छ । नगरपालिकाको सहयोगमा सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धार गरिएको जनाईएको छ ।

वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार घाईते दमाईको टाउको फुटेको र खुट्टा दुई ठाउँमा भाँचिएको छ । शनिवार बेलुकातिर स्वास्थ्य चौकी पुगेकी उनलाई प्राथमिक उपचार पछी प्रदेशअस्पताल सुर्खेत पठाईएको वडाअध्यक्ष घर्तीले जानकारी दिए ।





error: Content is protected !!