भूमेमा ग्राभिटी गुड्स रोपवे सञ्चालनमा

रूकुम पूर्व — कृषि उपज तथा अन्य सामग्री ओसारपसारका लागि रूकुम पूर्वको भूमे गाउँपालिका-८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेशसभा सदस्य सुरूल पुनले बुधबार एक कार्यक्रमबीच रोपवेको उद्घाटन गरेका हुन् ।

यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन तथा विकास सरोकार समाज (डी-कोष) को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका प्रबन्धक देवदत्त भट्टले जानकारी दिए । स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकासँगको समन्वयमा निर्माण गरिएको बताउँदै भट्टले यो शून्य ईनर्जी प्रविधि भएको र तारको माध्यमबाट सञ्चालन हुने बताए ।

भूमे-४ काडाबगरबाट भूमे-८ कुचिबाङसम्म कूल १ हजार १ सय ४४ मिटर लामो यो रोपवेको उचाई ४ सय ८४ मिटर रहेको पनि प्रबन्धक भट्टले जानकारी दिए । कूल ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको बताउँदै उनले भने‚ यसबाट भुमे-८ का कुल २ सय ४२ घरधुरी लाभान्वित हुनेछन् । यसमा माथिबाट तल ९० किलो र तलबाट माथि ३० किलो सामान ओसारपसार गराउन सकिन्छ ।

अब २ मिनेटभित्रै सामान ओसारपसार गराउन मिल्ने रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले बताए । दुई जना अपरेटर राखेर सेवा दिने बताउँदै उनले सामान ओसारपसारबापत प्रतिकिलो २ रूपैयाँ लिने र यसबाट जम्मा भएको रकममध्ये ७५ प्रतिशत अपरेटर स्वयंले र बाँकी यसको सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिने जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग छेउबाट आफ्नो गाउँसम्म सामान ओसारपसार गर्न रोपवे बनेपछि आफूहरूलाई धेरै सहज भएको भूमे-८ की किसान भीमकुमारी पुनले बताइन् ।





error: Content is protected !!