डोल्पाका सांसद धनबहादुर बुढाले नाका खुलाउन परराष्ट्रमन्त्री गुहारे – पाँच वर्षदेखि चीनसँगका नाका बन्द

हेमन्त केसी
काठमाडौँ ः संघीय संसद्मा डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले चीनसँग जोडिएका दुई नाका खुलाउने विषयमा समन्वय गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग अनुरोध गरेका छन्। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद बुढाले क्याटो र मरिम नाका खुलाउन पहल गरेका हुन्।

‘चीनसँग जोडिएको १४ नं क्याटो र १५ नं मरिम नाकामा सदियौं कालदेखि व्यापारिक मेला लाग्दै आएको छ। कोभिड महामारीले गर्दा विगत चार–पाँच वर्षदेखि कुनै पनि नाका खुल्न नसकिएको अवस्था छ,’ सांसद बुढाले मन्त्री साउदलाई लेखेको पत्रमा भनिएको छ, ‘हाल स्वायत्त तिब्बतको सिँगाचे प्रदेश डोङ्बा काउन्टीले केही दिनको लागि व्यापारिक नाका खोल्ने जानकारी आएकोले उक्त समयमा डोल्पासँग जोडिएका दुवै नाका कम्तीमा पनि दुई हप्ताको समय निर्धारण गरी व्यापारिक मेला सञ्चालन गरिदिनुहुन अनुरोध छ।’

उपल्लो डोल्पामा चिनियाँ नाका हुँदै खाद्यान्न तथा नुन आयात नगरिएको ५ वर्ष भइसकेको छ। कोरोना सुरु भएसँगै चीनबाट उपल्लो डोल्पामा आउने सबै खालका व्यापारिक सामान ल्याउने काम ठप्प भएको थियो। यो अहिलेसम्म जारी छ। कोरोना समयभन्दा अगाडि काठमाडौंबाट तिब्बतको बाटो हुँदै मरिम र क्याटो नाकाबाट उपल्लो डोल्पामा चामल तथा नुन आयात हुँदै आएको थियो। प्रत्येक वर्ष १५ दिन हाटबजारको नाममा यी नाका खुल्थे। तर, कोभिडको समयबाट हालसम्म नाका खुलेका छैनन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न चीनको बाटो प्रयोग गर्दै आएको थियो। साल्ट ट्रेडिङलाई पनि नुन ढुवानीका लागि यहीमात्र विकल्प थियो। कोभिडको समयमा बन्द गरिएको नाका अहिलेसम्म नखुल्दा उपल्लो डोल्पाबासीले सरकारी अनुदानको खाद्यान्न र नुन उपभोग गर्न पाएका छैनन्। दुई वर्षअघि प्रधामन्त्री पुष्पकमल दाहाल उपल्लो डोल्पाको भ्रमणमा जाँदा त्यहाँका स्थानीयले छुट्टै स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।
त्यतिबेला प्रधानमन्त्री दाहालले उपल्लो डोल्पालाई न्याय गरिने बचन दिएका थिए।

उपल्लो डोल्पाका जनतालाई उनले सीमा रक्षक भनेर प्रशंसासमेत गरेका थिए। उपल्लो डोल्पाको विकास र समृद्धिमा कुनै कसर बाँकी नराख्ने बताएका प्रधानमन्त्री दाहालले भूगोल सुहाउँदो विकासे कार्यक्रम उपलब्ध गराउने बताएका थिए। त्यतिबेला डोल्पाका दुई पालिकाका अध्यक्षसहित ३० भन्दा बढी माओवादीमा प्रवेश गरेका थिए। तर, प्रधानमन्त्री दाहाल काठमाडौं नपुग्दै उनीहरु पुरानै पार्टीमा फर्किएका थिए।

अहिले फेरि उपल्लो डोल्पाको विषयमा चासो राख्दै १५ दिन भए पनि नाका खोली यहाँका स्थानीयलाई व्यापारिक वातारण सिर्जना गरिदिन प्रतिनिधिसभा सदस्य बुढा र शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले परराष्ट्रमन्त्री साउदलाई ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री दाहालले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणका क्रममा मरिम र क्याटो नाकाको कुरा उठाउन पनि उपल्लो डोल्पाबासीले माग गरेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको सिँगाचे प्रदेशस्थित डोङ्बा काउन्टीले व्यापारिक नाका केही दिनका लागि खोल्ने जानकारी आएकाले सोही अवसरमा डोल्पाका नाका पनि खोल्न पहल भएको पूर्वमन्त्रीसमेत रहेका सांसद बुढाले बताए।

तिब्बतबाट उपल्लो डोल्पाको आधा भागसम्म सडक निर्माण भइसकेकाले खाद्यान्न तथा अन्य सामग्री ढुवानी गर्न अहिले सहज अवस्था छ। वर्षमा एकमात्र बाली पाक्ने उपल्लो डोल्पामा उत्पादित अन्नले ३ महिनाभन्दा बढी नपुग्ने भएकाले आयातित अन्न नै यहाँको बाँच्ने प्रमुख आधार रहँदै आएको छ। स्थानीय तह स्थापनापछि मात्र केही विकास–निर्माणका काम हुन थाले पनि अझै धेरै काम गर्न बाँकी रहेको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताए। अहिले दुनैबाट उपल्लो डोल्पा जाने घोडेटो बाटोसमेत वर्षाले भत्काएका कारण आवतजावतमा समस्या छ।

भेरी करिडोर हुँदै घोडा, खच्चडमा उपल्लो डोल्पा पुर्याएको खाद्यान्न तथा अन्य सामग्री निकै महँगो पर्ने डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए। भेरी करिडोर निर्माण गर्न सरकारले ५० करोडमात्र बजेट विनियोजन गरेको छ। उपल्लो डोल्पाको सडक निर्माण नेपाली सेनालाई दिएमात्र छिटो काम हुने जनप्रतिनिधिले बताउँदै आएका छन्। उपल्लो डोल्पामा सडक कहिले पुग्ने कुनै टुंगो छैन। भेरी करिडोरको जाजरकोटबाट डोल्पाको दुनैसम्म अधिकांश पुल निर्माण गर्न बाँकी नै छ।





error: Content is protected !!