विद्या नेतृत्वमा आउने चर्चाले तरंगित केपी ओली चुनौति महसुस गर्दै

पार्टीका सबै संरचना र तहमा संगठनात्मक पकड जमाए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नयाँ खालको चुनौती सामना गरिरहेका छन् ।
नेकपा विभाजनताका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि माधव नेपाल समेतसँग पौँठेजोरी खेलेर कठिन अवस्थालाई पार लगाएका ओली अहिले नयाँ चुनौतीको घेरामा उभिएका हुन् । बलियो र व्यवस्थित पार्टी संगठनको शक्तिशाली अध्यक्ष ओलीले यतिखेर अत्यधिक ‘थ्रेट’ महसूस गरिरहेको उनका पछिल्ला अभिव्यक्ति र गतिविधिले देखाउँछन् ।

राष्ट्रपति पदमा झण्डै आठ वर्ष बिताएर फर्किएकी विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउन सक्ने चर्चा र पार्टीभित्रको उकुसमुकुस विस्फोट हुने खतराबीच ओलीले एमालेको नेतृत्व सम्हालेयताकै सबैभन्दा बढी ‘थ्रेट’ महसूस गरिरहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

विधानले नदिए पनि तेस्रोपटक पार्टी अध्यक्ष बन्ने तीव्र अभिलाषामा रहेका ओली विद्या राजनीतिमा फर्किने हल्लाले नै सशंकित हुन पुगेका छन् ।

केही दिनअघि पत्रकारले विद्या भण्डारी एमालेको राजनीतिमा आउन लागेकी हुन् भन्ने हिसाबले सोधेको सामान्य प्रश्नलाई ओलीले निकै महत्त्व दिँदै एमालेमा समस्या निम्त्याउन खोजेको टिप्पणी गरेका थिए ।

‘विद्या भण्डारी हाम्रो पार्टीको उपाध्यक्ष भइसकेको आदरणीय व्यक्तित्व हो । विष्णु पौडेलले मात्रै होइन, मैले र अरूले पनि ९पार्टीमा आइदिन भनेर० कुरा गरेका छैनौं,’ ओलीले २८ साउनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘कार्ड नै छपाएर निम्ता गरेको भन्ने खालका हल्लालाई मलजल नगरौं ।’

आफू स्वेच्छाले राजनीतिबाट बिदा लिने बिन्दुमा आफ्नो उत्तराधिकारीका रूपमा विद्या भण्डारीलाई ल्याउन ओलीलाई कुनै आपत्ति देखिँदैन । तर, विधान संशोधन गरेर फेरि एकपटक अध्यक्षमा आउने चाहनालाई भण्डारीले ‘ओभरटेक’ गर्लिन् कि भन्ने त्रासमा ओली रहेको बताइन्छ ।

‘पार्टीमा नेम्वाङसहितका नेतामा ९ओलीप्रति० विकर्षण बढेको उसै होइन, ओलीकै एकपछि अर्को गल्तीका कारण हो । विद्या ल्याउँदा सबै कुरा हल हुने होइन, तर ओलीले यस्तै गतिविधि जारी राखे एमालेलाई झनै धराशायी बनाउँछन् भन्ने मत एमालेमा बलियो बन्दै गएको छ,’ एमालेका एक नेताले भने ।
आक्रोशमिश्रित स्वरमा पत्रकारलाई जवाफ फर्काएको केही दिनमा उनले फेरि विद्यादेवी भण्डारी सबैको सम्मानित पात्र भएको भनेर नरम प्रतिक्रिया दिएका थिए ।

भण्डारीले आफ्नो झण्डै आठ वर्षे कार्यकालमा कतिपय विषयमा राजनीतिक नेताकै शैलीमा गतिविधि गरेकी थिइन् । उनी एमालेमा उपाध्यक्ष भइरहँदा सक्रिय राजनीतिको भोक नमरिकन विशिष्ट परिस्थिति भन्दै अध्यक्ष ओलीकै जोडबलमा राष्ट्रपति बनाइएकी थिइन् ।

मदन भण्डारीको ठूलो विरासत र आफ्नै पनि सक्रियतापछि राज्यको सबैभन्दा ठूलो पद प्राप्त गरेकी भण्डारीमा एकपटक फेरि एमालेको नेतृत्वसम्म पुग्ने इच्छा रहेको बताइन्छ ।

राष्ट्रपति भण्डारी स्वयंले एमालेमा सक्रिय हुने गरी कुनै औपचारिक प्रतिक्रिया दिएकी वा सक्रियता देखाएकी छैनन् । तर, सम्भावनालाई नकारेकी पनि छैनन् । आफ्नोबारे कस्तो माहोल बन्दैछ भनेर उनले नेतारकार्यकर्ताको नाडी छामिरहेको एक नेता बताउँछन् ।

‘हाम्रो विधानले प्रस्ट रूपमा ७० वर्ष र दुई कार्यकालभन्दा बढी अध्यक्षमात्रै होइन, केन्द्रीय सदस्यबाहेकका कुनै पनि पदाधिकारी दोहोरिन नपाउने व्यवस्था गरेको छ । अहिलेकै अध्यक्ष फेरि दोहोरिने हो भने विधान संशोधन गर्नुपर्छ, तर अब एउटै नेतालाई पटक–पटक अवसर दिने अनि एमाले कर्नरमा पर्दै जाने भन्ने हुँदैन,’ विगतमा ओलीसँग निकै निकट मानिने एक नेताले लोकान्तरसँग भने, ‘सातौं महाधिवेशनदेखि नै विधान लागू भएको छ । भरतमोहन अधिकारीदेखि प्रदीप नेपाल यही उमेरहद कार्यान्वयन भएका कारण एमालेको राजनीतिबाट टाढिनुभयो । त्यसैले बुढा नेताहरूले चितामा नजाँदासम्म पद र शक्ति छाड्दैनन् भन्ने अवधारणालाई हटाउनुपर्न भन्ने मत एमालेमा पनि जबर्जस्तरूपमा उठेको छ ।’

विद्या भण्डारी नेतृत्वमा आउँदा अहिलेको एमाले मात्र नभएर माओवादी तथा नेकपा एससम्मलाई स्वीकार्य हुने र कम्युनिस्ट आन्दोलन पुनः एकीकृत हुने विश्वास समेत उनले व्यक्त गरे ।

‘उहाँसँग मदन भण्डारीको विरासत पनि छ । आफ्नै सक्रियता र प्रभाव पनि छ । राष्ट्रपति हुँदाको सम्मान उत्तिकै छ । उमेर र सबैलाई मिलाउन सक्ने स्वभाव पनि छ,’ ती नेता भन्छन्, ‘अध्यक्षको अस्वाभाविक अडान र घुर्कीले संसद् विघटन एवं एमाले विभाजन मात्रै भएन, सत्तामा पुगेको पार्टी सडकमा आउनुपरेको छ । त्यसैले फेरि बलियो एमालेको विरासत फर्काउने गरी सबैलाई मिलाउन सक्ने नेता नै नेतृत्वमा आउनुपर्छ भन्ने ठूलो जमात पार्टीमा छ ।’ ओलीले समाधान दिन सकेनन् भनेरै गोकुल बाँस्कोटादेखि कर्ण थापासम्मले विद्या भण्डारीको खोजी गरेको एमालेकै पुराना नेता राधाकृष्ण मैनाली बताउँछन् ।

‘ओलीले अब एमाले थेग्न सक्दैनन् भनेर कर्णले प्रस्ताव राखे अनि ओली च्याँठ्ठिए । एमालेको अन्तर्विरोध चर्किएको र ओलीले सही समाधान दिन नसकेको अवस्थामा विद्या भण्डारीले पार्टीप्रति आकर्षण ल्याउन सक्छिन् भन्ने बहस यतिखेर छ,’ उनी भन्छन्, ‘मदन भण्डारी फाउन्डेसन ओलीले नै खोले, तर यसको आकर्षण अहिले विद्या भण्डारीमा छ । कार्यकर्ताको भीड पनि उनले विस्तारै तानिरहेको देखिन्छ । यसैले एकथरीले विद्यालाई ल्याउने भनेर अभियान चलाएपछि अ‍ोली सशंकित बन्न पुगेका छन् ।’

विद्या घर फर्किएपछि बनेको यस्तो मतबाट ओली आत्तिएको एमालेकै अर्का एक नेता बताउँछन् ।

‘आफ्नो सहजता हुन्छ भने आफूपछि विद्यालाई पार्टीको उत्तराधिकारी बनाउन अध्यक्षलाई आपत्ति हुने देखिँदैन,’ ती नेता भन्छन्, ‘तर अरू कसैले प्रस्ताव गर्दा र सबैको साझा हुन खोज्दा उहाँ ९ओली०ले सहज रूपमा नलिने देखिएको छ ।’

विशेष गरी नेपाली कांग्रेसमा भुसको आगोसरी फैलिएको पुस्तान्तरणको बहस एमालेमा पनि प्रवेश गरिसकेको छ । सार्वजनिक अभिव्यक्ति दिन हिच्किचाए पनि नेताहरूले अब खुला प्रतिस्पर्धा हुनुपर्छ भन्न थालिसकेका छन् ।

‘अध्यक्ष ओलीले दुईपटक पार्टीको नेतृत्व गरिसक्नुभयो । अब फेरि अध्यक्ष भए उहाँ ८० वर्षको हुनुहुन्छ । कोही ६०र६५ वर्षमा पनि केन्द्रीय सदस्य भइरहनुपर्ने, कोहीचाहिँ बाचुञ्जेल अध्यक्ष हुनुपर्ने ? हामीले कहिल्यै आकांक्षा राख्न नहुने ? ती नेता भन्छन्, ‘मभन्दा कान्छो नेता गगन थापा कांग्रेसमा महामन्त्री भइसके । हामी केन्द्रीय सदस्यकै लागि लड्दैछौं, त्यसैले अब नेताले नेता बनाउने होइन, प्रतिस्पर्धाबाट आउने सक्ने गरी माहोल बनाउनुपर्छ ।’

बाहिर विस्फोट नभए पनि एमालेमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालबाहेक कुनै पनि शीर्ष पदाधिकारी अर्को कार्यकाल पनि ओलीको निरन्तरताको पक्षमा नरहेको एमाले स्रोतको दाबी छ ।

एमालेका पुराना नेता राधाकृष्ण मैनालीले फोटो, खादा र मञ्च सजावटको सन्देश दिन खोज्नुले ओलीले ‘थ्रेट’ महसूस गरिसकेकको प्रस्टै देखिने बताए ।

‘ओलीबाट चलेन, दुईतिहाइको सत्ता टिकाउन सकेनन् भन्ने असन्तुष्ट पार्टीभत्रि बढेको छ । विरोध टार्न र पदमा रहिरहन ओलीले लिइरहेको अहम् र अराजनीतिक अडानपछि उनीनिकटकै नेता पनि आजित भएका छन् । तर आफ्नो यही पहिचानलाई टिकाएर आफू प्राधिकार हुन खोजेपछि एमालेमा ठूलो संकट आएको छ,’ मैनाली भन्छन्, ‘पछिल्लो समय आफ्नो ठूलो फोटो राख्ने, मञ्चमा नेता बस्न नपाउनेजस्ता विषय त्यत्तिकै आएका छैनन् । तल जनमानसमा कार्यकर्ताबीच ओली भक्ति जति देखिन्छ, तर अवस्था त्यस्तो मात्र छैन भन्ने यो फोटो काण्डले देखाउँछ । सबैथोक सहजै चलेको भए यसरी प्रतिक्रियास्वरूप सकुर्लर गरेरै फोटोको विषय उचाल्नुपर्ने थिएन ।’

निरन्तरको असन्तुष्टि विस्फोट हुने संकेत

पछिल्ला कदमले एकपछि अर्को ‘ब्याकफायर’ भइरहेका बेला अब ओलीबाट चल्दैन भन्ने मत पार्टीमा जबर्जस्त ढंगले बलियो हुँदै गएकोे छ ।

त्यसको छनक पार्टी उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको अभिव्यक्तिमा समेत मिल्छ । ओलीनिकट मानिँदै आएका नेम्वाङले काभ्रे पुगेर संसद् अवरोध नियमसंगत नभएको बताए ।

‘संसद् अवरोध नियमसंगत छैन । नियमले अवरोध गर्न मिल्दैन । संविधानले पनि अनुमति दिएको छैन । राजनीतिकरूपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ नेम्वाङले शनिवार भनेका छन् ।

‘हरेक कुरालाई घुमाइघुमाइ गर्न सक्ने र जस्तासुकै प्रश्नलाई पनि विषयान्तर गरिदिन सक्ने खुवी भएका’ नेम्वाङले सिधासिधा संसद् अवरोध गलत हो भन्नुले धेरै कुराको संकेत गर्ने एमालेकै एक नेताले बताए ।

नागरिकका दर्जनौं सवाल उठाउनुपर्ने र विधेयकलाई अगाडि बढाउने बाटो खोल्नुपर्नेमा महिनौंसम्म संंसद् अवरुद्ध गरेकोप्रति एमालेमा प्रस्टै दुई धार देखिएको छ ।

एक धारको प्रतिनिधित्व संसदीय मूल्य र मान्यताको मसिनो गरी निगरानी गर्न सक्ने संसदीय दलका उपनेता नेम्वाङले गर्दै आएका छन् ।

‘हरेक कुरालाई घुमाइघुमाइ गर्न सक्ने र जस्तासुकै प्रश्नलाई पनि विषयान्तर गरिदिन सक्ने खुवी भएका’ नेम्वाङले सिधासिधा संसद् अवरोध गलत हो भन्नुले पनि धेरै कुराको संकेत गर्ने एमालेकै नेताहरू बताउँछन् ।
‘हाम्रो संसद्को अभ्यास, नियमावली, संविधान र कानूनले संसद् अवरुद्ध गर्न पाइने भनेर कहीँ पनि उल्लेख गरेको छैन । कसैले गरे पनि सभामुखले सचेत गराउन सक्छन्,’ ती नेता भन्छन्, ‘तर एमालेले पछिल्लो समय राखिरहेको अडान र देखाएको लहडले व्यवस्थाकै धज्जी उडाएको छ । यतिधेरै नागरिक सवालका विषय उठाउनुपर्ने संसद् बैठक एमालेले मात्रै होइन कुनै दलले पनि रोक्नुहुँदैन,’ एमालेका एक नेताले लोकान्तरसँग भने, ‘गलत कदम र अभ्यासविरुद्ध एक न एक दिन असन्तुष्टि विस्फोट भएरै छाड्छ । संविधानसभाको अध्यक्ष र सभामुख भइसकेको नेताले यत्तिकै फायर खोल्नुभएको होइन । लोकतन्त्रको उपहास गरेपछि यस्ता फायर एकपछि अर्कोगरी खुल्दै जान्छन् ।’

पार्टीमा शक्ति र सामर्थ्यका आधारमा मात्रै टिक्ने दिन गएको ती नेता बताउँछन् ।

‘कुनै समय थियो, पार्टीमा असीमित शक्ति र सामर्थ्य हुनेले जे गरे पनि चल्थ्यो । अब विचार, समय र युवाको भावनाले चल्ने हो । मेरो विकल्प छैन भनेर कसैले पनि भन्नु हुँदैन । पद र कुर्सी दुनियाँमा कहिल्यै खाली हुँदैनन्,’ लोकान्तरसँगको कुराकानीमा ती नेताले थपे ।

१० पुसमा सत्ता समीकरण फेरेर केन्द्रदेखि प्रदेशसम्म एमालेलाई सत्तामा पुर्‍याए पनि अस्वाभाविक नियन्त्रणको ओली नीतिले माओवादी भड्किएको बुझाइ पनि एमालेमा अत्यधिक छ । प्रचण्डलाई विश्वासमा लिन नसक्दा भड्किएर कांग्रेससँग मिसिन जाने परिस्थिति ओली नै सिर्जना गरेको आरोप समेत अनौपचारिक कुराकानीका क्रममा नेताहरूले लगाउन थालेका छन् ।

देखिनलाई अहिले पनि ओली एमालेमा सर्व शक्तिमान छन्, तर भित्रभित्रै उनी आत्तिरहेको माथि उल्लेखित विभिन्न घटनाक्रमले देखाउँछन् ।

आफूविरुद्ध घेराबन्दी हुन थालेपछि ओलीले पहिले असहमत भएकालाई पनि फर्काउने र अरूलाई साइजमा राख्ने नीति लिएका छन् । गत महाधिवेशनमा आफूसँग अध्यक्षमा भिडेकै निहुँमा ओलीले प्रभावशाली नेता भीम रावललाई चुनावको टिकट समेत दिएका थिएनन् । तर यतिखेर पार्टीमा ओलीले भीम रावलको खोजी गरेर आफैं कार्यालय गएर भेटेका छन् । माधव नेपाललाई निर्मम गाली गरे पनि यतिखेर सो पार्टीका नेता कार्यकर्तालाई फर्काउने मिसन नै ओलीले चलाएका छन् । झलनाथ खनालदेखि रामकुमारी झाँक्रीसम्मलाई एमालेमा फर्काउने नीतिमा ओली रहेको बताइन्छ ।

यसअघि चर्चाबाहिरका गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने र अरू प्रभावशाली दाबेदारलाई छाडेर लो–प्रोफाइल  देवराज घिमिरेलाई सभामुख बनाउने ओलीको निर्णयले समेत धेरैलाई चकित पारेको थियो ।

चौतर्फी घेराबन्दी र प्रतिपक्षमा छँदा पनि झेल्नु परेको आलोचनाका कारण पूर्व राष्ट्रपति भण्डारीप्रति आकर्षण बढेको ती नेताले बताए  ‘पार्टीमा नेम्वाङसहितका नेतामा ९ओलीप्रति० विकर्षण बढेको उसै होइन, ओलीकै एकपछि अर्को गल्तीका कारण हो । विद्या ल्याउँदा सबै कुरा हल हुने होइन, तर ओलीले यस्तै गतिविधि जारी राखे एमालेलाई झनै धराशायी बनाउँछन् भन्ने मत एमालेमा बलियो बन्दै गएको छ,’ उनले थपे ।





error: Content is protected !!