डोल्पामा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

डोल्पा ः डोल्पाको जगदुल्ला गाउँपालिका–६ की १५ वर्षीय किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका– ५ माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका– ५ कालागाउँका २० वर्षीय रेशम राना र जाजरकोटको कुशे गाउँपालिका– ९ का २१ वर्षीय कृष्ण विक रहेका छन्। ती किशोरीलाई २०७९ फागुन १५ गते राति १० बजेतिर जगदुल्ला गाउँपालिका वडा नं.६ झ्याकोटस्थित बारीमा पहिलो पटक रेशम रानाले र त्यसपछि अन्यले पटक–पटक विभिन्न स्थानमा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ।
ती किशोरी हाल ६ महिनाकी गर्भवती छन् । उनलाई सुर्खेतको बालबालिका हेरचाह केन्द्रमा स्तान्तरण गरिएको छ। किशोरीका परिवारले गत साउत २७ गते पक्राउ परेका तीन जनासहित ९ जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएका थियो । प्रहरीले पक्राउ परेका तीन जना माथि अनुसन्धान जारी राख्दै अन्य ६ जनाको खोजी कार्य तीव्र पारेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।








