पश्चिम अफ्रिकामा डुंगा दुर्घटना ः ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको आशंका

काठमाडौँ — पश्चिम अफ्रिकामा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम अफ्रिकाको केप भर्डे टापुनजिकै समुद्री तटमा डुंगा भेटिएपछि उक्त दुर्घटनाको खबर सार्वजनिक भएको हो ।

बीबीसीका अनुसार बालबालिकासहित ३८ जनालाई सकुशल उद्धार गरिएको छ । उनीहरूलाई सल टापुमा ल्याइएको छ । उक्त डुंगा एक महिनादेखि नै समुद्रमा रहेको र सबैजना सेनेगलबाट आएका व्यक्ति भएको अनुमानसमेत गरिएको छ ।

दुर्घटनापछि केप भर्डेका अधिकारीहरूले आप्रवासीहरूले सुन्दर भविष्यको सपनामा दिनदिनै ज्यान गुमाइरहेको भन्दै विश्वव्यापी रूपमै यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । पहिलो पटक सोमबार देखिएको डुंगा पहिले डुबेको बताइए पनि पछि किनारमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।

सेनेगलको विदेश मन्त्रालयका अनुसार उक्त डुंगा गत जुलाई १० मा १०१ जना यात्रुसहित फासे बोय गाउँबाट छुटेको थियो । त्यस्तै उक्त डुंगामा सियरा लियोन र गिनी बिसाउका नागरिकसमेत भएको बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!