सुरक्षा भत्ता समयमा भुक्तानी गर्न माग

कालीकोट ः सरकारवाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठनागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरुको भनाइ छ ।
पलाँता –२ का गोरेवहादुर बमले आफुले २०७९ सालको १२ महिना यताको भत्ता नपाएको गुनासो गर्नुभयो । पलाँता गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता समयमा नदिएर ज्येष्ठनागरिक, एकल महिलामाथि अन्याय गरेको गुनासो उहाँहरुको छ ।
नेकपा एमाले पलाँता गाउँ कमिटीले प्रेस बिज्ञप्ति प्रकाशन गरेर समयमै भत्ता उपलब्ध गराउन आग्रह गरेको छ । एमाले पलाँता गाउँपालिका कार्यवहाक अध्यक्ष लोकेन्द्र न्यौपानेले २०७९ सालको १२ महिनाको भत्ता नदिएकोभन्दै आपत्ति जनाएको छ ।
पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमले पहिलो र दोस्रो किस्ता बितरण भइसकेको, तेस्रो र चौथो किस्ता वितरण गर्न बाँकी रहेको बताउनुभयो । केआईसी अपडेट नभएकाले भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ । बच्चाको थोरै रुपियाँ आउने भएकाले वर्षभरीको एकै पटक दिंदा सहज हुने भएर भुक्तानीमा ढिलो भएको उहाँले बताउनुभयो ।



