जग्गाको मूल्य ४० प्रतिशतसम्म बृद्धि

हुम्ला ः हिमाली जिल्ला हुम्लामा जग्गाको मुल्य प्रतिवर्गमिटर दशदेखि ४० प्रतिशतसम्म बृद्धि भएको छ । स्थानीय र जग्गाधनीबाट जग्गाको मुल्यबृद्धि माग र जग्गा बेचबिखनका लागि चलनचल्तीको दर फरक परेपछि जिल्ला दररेट समितिले जग्गाको मुल्य बृद्धि गरेर साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।
जिल्ला मालपोत कार्यालयका प्रमुख रबीन्द्र शाहीले नयाँ आर्थिक वर्षबाट लागु हुनेगरी जिल्लाभरका जग्गाको महत्व हेरेर साविकको मुल्यमा प्रतिवर्गमिटर १० देखि ४० प्रतिशतसम्म बृद्धि गरिएको छ । गतवर्ष जग्गाको मुल्य निर्धारण गरिएपछि सेवाग्राहीबाट बिरोध आएको थियो ।
ठाउँ र महत्व हेरी जग्गाको चलनचल्तीको मुल्य र जिल्लाले निर्धारण गरेको मुल्यमा फरक भएको गुनासो आउँदा समितिले सबैतिरको जग्गाको यस वर्ष मुल्य बृद्धि गरेको बताउनुभयो । उहाँका अनुसार यसरी बढेको मुल्यमा कवाडीदेखि हिल्सासम्मको कर्णाली करिडोरसँग जोडिएको जग्गाको मुल्य प्रतिवर्गमिटर ४० प्रतिशत बृद्धि गरिएको छ ।
यसअघि सो क्षेत्रको जग्गाको मुल्य साढे चारसय निर्धारण गरिएको थियो । त्यसैगरी कर्णाली करिडोर र गाउँपालिका केन्द्रबाट निर्माण भएको ग्रामीण सडकका आसपासका क्षेत्रको जग्गाको मुल्यमा ३० प्रतिशत बृद्धि गरिएको छ । ती क्षेत्रमा यसअघि प्रतिवर्गमिटर साढे पाँचसय रुपियाँसम्म मुल्य थियो ।
यता, सदरमुकाम सिमकोट –५ को धुपी रुखदेखि ६ नम्बर वडाको मानसरोवर नमूना माध्यमिक विद्यालयसम्म निर्माण भएको कालोपत्रे सडकसँग जोडिएको जग्गाको मुल्य प्रतिवर्गमिटर बीस प्रतिशतले बृद्धि गरिएको छ । सो क्षेत्रको जग्गाको मुल्य यसअघि प्रतिवर्गमिटर ६ हजार तीनसय रुपियाँ रहेको थियो । यी क्षेत्रबाहेक अन्य सबै जग्गाको मुल्यमा प्रतिवर्गमिटर १० प्रतिशत बृद्धि गरिएको छ ।








