बाढीले विद्युत आयोजना क्षतिग्रस्त हुँदा ३ हजार परिवार बिजुलीविहीन

मुगु — भारी वर्षासँगै आएको बाढीका कारण मुगुको छायाँनाथ रारा नगरपालिकास्थित स्थानीय जलविद्युत आयोजनामा क्षति हुँदा ३ हजार परिवार रहेको सिंगो बस्ती नै एक सातादेखि अन्धकारमय बनेको छ ।
भारी वर्षासँगै गमखोलाबाट बालुवा, लेदो, बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न भई विद्युत सेवा अवरुद्ध हुँदा करिब ३ हजार परिवार एक सातादेखि अन्धकारमय बनेको हो ।
गमगाढ खोलाबाट बगेर आएको लेदो र बालुवा विद्युतको नहरमा पसेर विद्युत सेवा अवरुद्ध भएको गमगाढ जलविद्युत आयोजना वितरण केन्द्र प्रमुख साजन ऐडीले बताए ।
दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको ऐडीको भनाइ छ । नहरको लेदो र बालुवा सफा गर्दै हैरान भइसकियो, ऐडीले भने, एक साता भइसक्यो विद्युत सुचारु गर्न सकिएको छैन ।
एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजार, कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्प, लगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् ।
विद्युत नहुँदा सरकारी तथा गैरसैरकारी कार्यालय साथै अन्य वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ । विद्युत अभाव हुँदा स्थानीयहरू पैसा तिरेर जेनेरेटरबाट मोबाइल चार्ज गर्न बाध्य भएका छन् ।
यसरी मोबाइल चार्ज गरे वापत घण्टाको ५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको गमगढीका स्थानीय कर्णराज गिरीले बताए ।
२०६८ साल देखि संचालनमा आएको ४ सय किलो वाटको गमगाढ जलविद्युत हरेक बर्खामा अवरुद्ध हुने गरेको छ । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले उक्त जलविद्युत आयोजनालाई क्षतिग्रस्त बनाएको हो ।
राष्ट्रिय प्रसारण लाइन सुस्त
यससँगै मुगुमा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार कार्य सुस्त देखिँदा समस्या भोग्नु परेको जिल्लावासीहरूको गुनासो छ ।
छिमेकी जिल्ला जुम्ला, कालीकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भए पनि मुगुमा अझै पुग्न सकेको छैन ।
मुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारमा तीव्रता दिनुपर्ने भन्दै नेपाल सरकारलाई दबाब दिनुपर्ने स्थानीय अगुवाहरूको भनाइ छ ।








