वृद्धभत्ता झिक्न दुई दिन पैदल

मुगु — ८४ वर्षीय कालीबहादुर मल्ल आफ्नो वृद्धभत्ता झिक्न दुई दिन हिँडेर सोरुकोटको राष्ट्रिय वाणिज्य बैंकमा आएका छन् । सोरु गाउँको धैनकोट गाउँका उनी पालिकाले सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा गरी दिएपछि झिक्न दुई दिन हिँडेर सोरुकोट आएका हुन् ।
घरबाट हिँडेर एक दिन भिई गाउँ पुगेँ, भोलिपल्ट हिँडेर सोरुकोट पुगेँ, मल्लले भने, आफ्नै वृद्धभत्ता झिक्न २ दिन पैदल हिँड्नु पर्यो । पहिले घरमै पुगेर हातमै वृत्ता भत्ता दिन्थे । अचेल खल्तीमा चेक बोकेर सोरुकोट बैंकमा आउनु पर्दा दुःख भयो ।
नेपाल सरकारले जेष्ठ नागरिकलाई पोषणबापत उपलब्ध गराउँदै आएको साजाजिक सुरक्षा भत्ता झिक्न दुर्गमका बुढापाकालाई कठिनाइ भएको छ । आफूहरुको दुःखकष्ट बुझेर सरकारले वृद्धभत्ता घरमै पुर्याइदिएमा राम्रो हुने कालीबहादुरको भनाइ छ । सरकारले हामीलाई दया गर्यो, भत्ता दियो, खाना लाउन औषधि किन्ने सुविधा भयो, उनले भने, तर बैंक टाढा हुँदा पैसा झिक्न मात्र गाह्रो भयो ।
सोरु गाउँपालिकाको धैनकोट, नेर, ताँजा गाउँका जेष्ठ नागरिकलाई आफ्नै वृद्धभत्ता झिक्न दुई दिन हिँडेर सोरुकोट पुग्नु पर्ने अवस्था छ । खत्याड गाउँपालिकाको हयाङलु, बिना, खमाले, सुकाढिक गाउँका जेष्ठ नागरिकलाई सरकारले दिएको भत्ता झिक्ने गथ्मा माझचौर बैंकमा पुग्न एक दिन हिँडनुपर्छ ।
मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्ती मुगु, डोल्फू चितै र तल्लो बस्ती छाइल, पापु, गाउँका जेष्ठ नागरिकलाई भत्ता झिक्न एक दिन हिँडेर पुलु राष्ट्रिय वाणिज्य बैंक पुग्न बाध्य छन् ।
हिँड्न नसक्ने जेष्ठ नागरिकलाई बोकेर बैंक पुर्याउनु पर्ने अवस्थाले परिवार जनलाई गाह्रो हुने गरेको छ । पहिले साबिकको गाउँ विकास समिति हुँदाका सचिव जेष्ठ नागरिकको भत्ता घरमै पुगेर बाँड्ने गर्थे भने संघीय संरचना लागू भएपछि हरेक जेष्ठ नागरिकको खाता बैंकमा खोलेर रकम जग्मा गरिदिने निर्णय गरेपछि दुर्गम बस्तीका जेष्ठ नागरिकलाई झिक्नै गाह्रो भएको हो ।
पारदर्शिी जवाफदेही र हिनामिना नहोस् भन्ने हिसाबले सरकारले देशभरका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बैंक प्रणालीमार्फत वितरण कार्य सुरु गरेको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । विकट बस्तीका जेष्ठ नागरिकलाई आफ्नै भत्ता झिक्न हिँडेर बैंक आउनु पर्ने अवस्थाले गर्दा केही गाह्रो महसुस भएको उनले बताए । सडक यातायात पुगेका बस्तीका जेष्ठ नागरिकलाई भत्ता भिक्न बैंक आउन दुःख छैन, उपाध्यक्षले भने, जहाँ यातायातको पहुँचभन्दा बाहिर रहेका बस्तीका जेष्ठ नागरिकलाई भत्ता झिक्न हिँडनुपर्ने दुःख छ ।
नेपाल सरकारले मासिक रुपमा ६० देखि ६८ वर्ष सम्मका जेष्ठ नागरिकलाई २६ सय ६० र ६८ वर्षदेखि माथिका जेष्ठ नागरिकलाई ४ हजार भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, एकल महिलालाई मासिक २६ सय ६०, पूर्ण अपांगलाई ३ हजार ९ सय ९० र ख वर्गका अपाङलाई २ हजार १ सय २८ भत्ता दिँदै आएको छ ।










