सुरक्षित कर्णाली अभियान सुरु

डोल्पा ः त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका चार हजार ८ सय घरधुरीमा प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत फोन नम्बरसहितको स्टिकर टाँस गर्न सुरु गरेको छ । पहिलो चरणमा ठुलिभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाबाट छुट्टाछुट्टै कार्यक्रम गरेर प्रहरीको फोन नम्बरसहितको स्टिकर घरघरमा टाँस सुरु गरिएको हो ।

विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया ठुलिभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले प्रहरीले सञ्चालन गर्न थालेको कार्यक्रम अपराधमुक्त समाज निर्माणका लागि उपयुक्त भएको बताउनुभएको हो ।

प्रहरी नायब उपरिक्षक शिव बुढाथोकीले छिटोछरितो सूचना पाउन र दिन यो अभियानबाट सहज भई आपराधिक क्रियाकलाप नियन्त्रण तथा भयमुक्त समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । विकट क्षेत्रमा समेत मोबाइलको पहुँच पुगेको र सबैको हातमा मोबाइल उपलब्ध भएकाले आफ्नो टोल छिमेक र बजारमा कुनै पनि आपराधिक गतिविधि भएको अवस्थामा गोप्य रुपमा नागरिकले प्रहरीलाई सूचना दिन सहज होस् भनेर घर-घरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, त्रिपुरासुन्दरी नगरपालिकाको कोट बजार क्षेत्रमा प्रहरी निरीक्षक नवीनप्रसाद चापागाईं र नगरप्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा स्टिकर टाँस गरेर सुरक्षित कर्णाली विशेष अभियानको सुरुवात गर्नुभएको थियो ।

प्रहरीले आफ्नो घरघरमा आएर जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिटलगायत प्रमुखको फोन नम्बर र मोबाइल नम्बरसहितको स्टिकर टाँस गरेकाले आगामी दिनमा अपराध नियन्त्रण गर्न र प्रहरीलाई समयमै खबर गरेर सुरक्षित बन्न सहयोग पुग्ने त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटका तुलबहादुर विष्टले बताउनुभयो ।





error: Content is protected !!