नलगाड आयोजना ः डिपिआरमै बित्यो सात वर्ष, साताभित्रै रिपोर्ट आउँदै

सुर्खेत ः नलगाड जलविद्युत आयोजनाको डिपिआर रिर्पोट एक हप्ताभित्र आउने भएको छ। जाजरकोटको नलगाड नगरपालिका–७ विद्युत उत्पादन गृह र बारेकोट गाउँपालिका ८ मा ड्याम निर्माण गर्ने लक्ष्य रहेको छ।

आयोजनाका प्रमुख सुनिल पौडेलले अबको एक हप्ता दिन भित्र फाइनली प्रतिबेदन हातमा पर्ने बताए।

उनले भने, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले छिटो काम गर्न ताकेता गरिरहनुभएको छ, मैले कन्सलटेन्टलाई छिटो प्रतिवेदन देऊ भनेको छु। मसँग भएको जानकारीअनुसार हप्ता दिन भित्र सबै रिर्पोट आउनेछ।

सम्झौताअनुसार नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन९डीपीआर० २०७६ मा नै निर्माण हुनुपर्ने थियो तर तोकिएको समय भन्दा चार वर्ष बितिसक्दासम्म पनि डीपीआर प्रतिबेदन नआउदा आफूहरुले गाली खानु परेको प्रमुख पौडेलले बताए।

तीन वर्षभित्र डीपीआर तयार गर्नेगरी २०७३ मा सम्झौता गरिएको थियो। अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, टेण्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो।

निर्धारित म्यादभित्र काम नभएपछि पटक–पटक म्याद थप भइसकेको छ। नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी निर्देशक पौडेलले अब स्थानीयले मलाई कुटन मात्र बाँकी राख्ने अवस्था छ , त्यसैले हप्ता दिन भित्र हातमा डिपिआर पर्छ भने।

डीपीआर मात्रै होइन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) ले पनि पूर्णता पाएको छैन। निर्देशक पौडेलका अनुसार इआइए स्वीकृतका लागि मन्त्रालयमा पेस गरिएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको पौडेलले जनाए।

‘डीपीआर बनिसकेपछि अन्य बाँकी काम सुरु हुन्छ’ उनले भने, ‘अहिले निर्माणपूर्वका काम भइरहेका छन्।’ प्रतिवेदन तयार भइरहँदा आयोजना निर्माणपूर्वका तयारीका काम भने धमाधम चलिरहेको छ।

चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना जाजरकोटको नलगाड नगरपालिका ७ दल्लीमा विद्युत उत्पादन गृह र बारेकोट गाउँपालिका ८ अधेरीखोलामा बाँध निर्माण हुनेछ। आयोजनाबाट नलगाड नगरपालिका वडा नं। ५ र ७, बारेकोट गाउँपालिकाका वडा नं। १, २, ४, ६, ७, ८ र ९ वडा प्रभावित हुनेछन्।

आयोजना निर्माणका लागि पाँच हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ। प्रभावित हुने पाँच सय तीन घरटहराको क्षतिपूर्ति दिन बाँकी रहेको छ। मुआब्जा वितरणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको र अर्थ मन्त्रालयसँग छलफल जारी रहेको उनले बताए।

आयोजनास्थलमा अन्य पूर्वाधार निर्माणको काम भने भइरहेको छ। बाँधस्थलसम्म पुग्ने दुईवटा सडक निर्माण गरिएको छ। उनका अनुसार कार्यालय स्थापना, आर्मी क्याम्प स्थापना, टनेल निर्माणलगायतका काम सम्पन्न भएको छ। छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले ७ वर्ष अघि लिएको पुलको ठेक्काको काम भने अहिले सम्म गरेका छैनन्।

पिल्लर उठाउने काम बीचमै छाडेर मेयर खड्का अदालत पुगेका छन्। सोही कारणले अहिलेसम्म पुल निर्माण कार्य अलपत्र पर्दै आएको छ।

यस्तै, प्रभावित क्षेत्रमा ७।१ मेगावट विद्युत् उत्पादनका लागि पासगार्ड हाइड्रोपावरको काम पनि अघि बढेको छ। विद्युत उत्पादन गृह नलगाड नगरपालिकाको वडा नं। ७ मा एउटा सुरूङ निर्माण गरिएको छ।

आयोजनाको बाँध निर्माणस्थल बारेकोट गाउँपालिकाको अधेरीखोलामा चारवटा सुरूङ निर्माण गरिएको छ। त्यसैगरी दल्लीमा भूमिगत दुई वटा पावर हाउस निर्माण गरिएको छ।

आयोजनाअन्तर्गत बारेकोटको अँधेरीखोलादेखि दल्लीसम्म ८।५ किलोमिटर लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्। पाँच सय मिटर लम्बाइ र दुई सय ४८ मिटर अग्लो ड्याम बन्नेछ। जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने जनाइएको छ।

आयोजनामा चारवटा टरवाइन हुनेछन्। प्रत्येक टरवाइनबाट १०४।२५ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित विद्युत चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत् दानी पिपलबाट सुर्खेतको मैनतडामा सवस्टेशनमा जोडिने छ। आयोजनास्थलबाट मैनतडासम्म १५० किलोमिटर लम्बाइ रहेको छ।

डीपीआरमा उल्लेख भएअनुसार आयोजना सम्पन्न गर्न प्रसारण लाइनबाहेक करिब एक खर्ब ६७ अर्ब लाग्ने अनुमान गरिएको छ। आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको आयोजनाका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।

यसअघि आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रूपैयाँ रहेको थियो। तर समयमै काम सुरु नहुँदा लागत पनि बढ्ने भएको छ।

आयोजना बनाउन ताक्सुगाडको काम हुने

७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजना निर्माण गरि नलगाड जलविद्युत आयोजनाको काम गर्ने योजना रहेको छ।

नलगाड नगरपालिका भित्र पर्ने ताक्सुगाडबाट ७ मेगावाट विद्युत उत्पादन गरेर नलगाड जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य रहेको छ।

चार ठाउँमा सव स्टेशन निर्माण हुँदै

जाजरकोटमा ३३ केभी प्रशारण लाइन विद्युत सबै ठाउँमा पुर्‍याउनका लागि ४ ठाउँमा सव स्टेशनको काम गर्न टेन्डर भइसकेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए। कुशेको समाइला, नलगाडको चौखा, छेडागाडको वडावनमा ठेक्का लागिसकेको उनले बताए। प्रशारण लाइन जिल्ला सबै ठाउँमा निर्माण गर्नका लागि हप्ता दिनभित्र विद्युत प्राद्यिकरणको प्राविद्यिक सहितको टिम जाजरकोट पुगी लागत स्टामेट बनाई तत्काल कामको सुरुवात हुने मन्त्री बस्नेतले बताए।





error: Content is protected !!