कालीकोटमा दादुरा र कालाजारको संक्रमण

कालीकोट — खाडाचक्र-२ काम्लामोडका दाजुभाइ ज्वरोले थला परे । २ वर्षे कान्छो छोरा र ९ वर्षका जेठो छोरालाई हनहनी ज्वरो आउने, खोकी लाग्ने, आँखा रातो हुने र शरीरमा बिबिरा आएर खाना पनि खान छाडेपछि बाबुआमाले जिल्ला अस्पतालमा पुर्‍याए ।

अस्पताल प्रमुख डा। संकेत विश्वकर्माको टोलीले भने दादुराको लक्षण देखेपछि उनीहरुसहित चार जनाको स्वाब संकलन गरेर काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । जेठ २१ गते चारै जनाको रिपोर्ट पोजिटिभ आयो । दादुरा पुष्टि भएका एकै परिवारका दुई बालकसहित सोही वडाका ६ महिने शिशु र वडा नं १ का ३७ वर्षीय पुरुष छन् । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बालबालिकाले दादुराको मात्रा अनुसारको खोप नलगाएकोले महामारी फैलिएको हुनसक्ने स्वास्थ्य व्यवस्थापकसमेत रहेका डा विश्वकर्माले बताए । उनले खोप लगाउन छुटेका बालबालिकालाई स्थानीय तहको सक्रियतामा खोज र खोपको अभियान संचालन गर्नुपर्ने बताए ।

गाउँमा बिरामी थपिए । त्यसपछि दादुरा पुष्टि भएकै टोलका ७ जना बालबालिकामा पनि दादुराको लक्षण देखिएपछि स्वाब संकलन गरेर विश्व स्वास्थ्य संगठनको परामर्शमा टेकु पठाइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । उनकाअनुसार शुभकालिका-८ मा पनि आइतबार दादुराको लक्षण भएको बिरामी फेला परेका छन् । कालीकोटमा ५ वर्षपछि दादुराको महामारी फैलिएको उनले बताए ।

दादुराको एउटा पोजिटिभ केस फेला परे पनि महामारीको रुपमा लिइन्छ । बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कार्यालयको सूचना अधिकारीसमेत रहेका महतले भने अवस्था भयावह छ, सबै सचेत रहनुपर्छ । उनकाअनुसार ५ वर्षअघि यहाँको विकट पलाता गाउँपालिकाको धौलागोहमा दादुराले ४ बालबालिकासहित ७ जनाले ज्यान गुमाएका थिए । हाल नेपालमा १८ जिल्लामा दादुरा रोग देखिएको छ ।

दादुरा सरुवा रोग भएकाले महामारीको रुप लिनसक्ने भएकाले दादुराको शंका लागेका नजिककको स्वास्थ्य संस्थामा पठाउने, शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्ने, हाच्छिउ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुनपानीले बेलाबेलामा हातधुने, संक्रमित व्यक्तिलाई भीडभाड भएको ठाउँमा नलैजाने, घरभित्र हावा ओहोरदोहोर हुने, घाम लाग्ने कोठामा राख्ने, संक्रमित व्यक्तिलाई स्याहारसुसार गर्ने व्यक्तिले मास्क लगाइ राख्ने, दादुरा संक्रमित बालबालिकालाई साविकको भन्दा पोषिलो खानेकुरा खुवाउनुपर्ने उनको सल्लाह छ ।

९ महिना र १५ महिनाका बालबालिकालाई अनिवार्य दादुरा र रुवेला मिश्रित दुई मात्र खोप अनिवार्य लगाउनु पर्ने भए पनि कालीकोटमा ७२ प्रतिशतमात्र खोप कभरेज छ । खोप लगाउन छुट्ने पनि अधिकांश दलित र विपन्न परिवारका बालबालिका हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

कालाजारका २० जना बिरामी

यहाँको ५ वटा स्थानीय तहका कालाजारका २० जना बिरामी फेला परेका छन् । जिल्लाको पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेको सूचना अधिकारी महतले बताए । भुसुनाको टोकाईबाट फैलिने कालाजार नेपालमा औलोपछिको बढी मृत्यु हुने रोग मानिन्छ ।

कालीकोटमा आर्थिक वर्ष ०७७र०७८ मा ४३, ०७८र०७९ मा २८ र यस वर्ष ८ महिला र १२ पुरुष गरी २० जना कालाजारका बिरामी फेला परेका छन् । कालाजारको उपचार जिल्ला सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ । कालाजारका बिरामीलाई सरकारले यातायात खर्चबापत प्रतिव्यक्ति २ हजार रुपैयाँ दिने गरेको छ ।





error: Content is protected !!