जाजरकोटको दानीपिपलमा सब स्टेशन निर्माण गर्न भारतीय एक्जिम बैंक तयार ः तीन जिल्लाको विद्युत एकै ठाउँबाट निर्यात हुने लक्ष्य

जाजरकोटको नलगाड नगरपालिका ७ मा दानीपिपलमा ४०० केभी प्रशारण लाइन निर्माण गरी भेरी करिडोर हुँदै निर्यात गर्न भारतीय बैंक लगानीका लागि तयार रहेको पाइएको छ । भारतीय एक्जिम बैंक भेरी करिडोर ४०० किलोभोल्ट प्रसारणलाइन परियोजनामा लगानी गर्न इच्छा देखाएसँगै भेरी करिडोर भित्र प्रशारण लाइन निर्माणको आशा पलाएको छ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले गरेको प्रस्तावमा एक्जिम बैंकले लगानी गर्न सकारात्मक संकेत दिएपछि भेरी करिडोरमा प्रशारण लाइन निर्माण हुने आशा पलाएको हो । हामी अहिले निरन्तर छलफलमा छौं। ग्रीन सिग्नलसँगै थप कागजात मागेका छन्। हामीले दिइसकेका छौं, ‘ राष्ट्रिय ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले, ‘सम्झौता भएमा हामी अर्को वर्षबाट निर्माण जाने योजनामा छौं।’
यो प्रसारणलाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। करिब ६ महिनाअघि नै स्वदेशी कम्पनी नियुक्त गरेर अध्ययन गरिएको ज्ञवालीले बताए।

अध्ययनले करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सोही बराबर रकम भारतीय बैंकसँग ऋण मागिएको हो। सरकारले आन्तरिक स्रोतबाट लगानी गर्न नसकेपछि यो आयोजना ऋण लिएर आयोजना निर्माण गर्नुपर्ने भएको छ।

सानी र ठुली भेरी बेसिनमा उत्पादन हुने जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउने छ। ४४० मेगावाटको भेरी १, भेरी २ र ४१७ मेगावाटको नलगाड लगायतका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा ल्याउनेछ। नलगाड जलविद्युत आयोजनाको ऊर्जा मन्त्रालयले कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ। चालु वर्षभित्रै अध्ययन सक्ने योजना छ। १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना, करिब ८६ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युतसमेत यही प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा आउनेछ। जगदुल्ला जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा लैजाने तयारी छ। सरकार आफैंले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआईए अध्ययन चलिरहेको छ।

नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने बिजुली समेत नलगाड हबसम्म ल्याउने छ। ठूलो संख्यामा जलविद्युत आयोजनाहरु निर्माणमा जान लागेकाले यो प्रसारणलाइन तत्कालै निर्माणमा लैजानुपर्ने आवश्यकता सीइओ ज्ञवालीले औंल्याए। यहाँ २हजार५०० मेगावाट विद्युत अनुमानित शक्ति निकासी गर्ने लक्ष्य रहेको छ ।

‘सबै आयोजनाहरु निर्माण जाने तयारीमा छन्। हामीले पनि प्रसारणलाइन निर्माणमा लैजानुपर्छ। निर्माण थालेको चार वर्षमा यो आयोजना सक्ने योजनामा छौं,’ उनले भने। यो डबल सर्किट प्रसारणलाइन हो। सुरुवाती बिन्दु जाजरकोटको नलगाड सबस्टेसन दानीपीपलमा हुनेछ। अन्तिम बिन्दु सुर्खेतको मेनटाडा सबस्टेसनमा हुनेछ। यो प्रसारणलाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यानहुँदै सुर्खेत आइपुग्छ। करिब १५० किमि हुनेछ। प्रसारणलाइनसँगै दानी पीपल र मेनतडामा सबस्टेसन निर्माण हुनेछ।

दुवै सबस्टेसनका लागि जग्गा अधिग्रहण पुरा भएको छ। भने प्रसारणलाइन मुनि पर्ने जग्गा मूल्यांकन हुन बाँकी छ। ६ हजार ९ सय २० रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ। यो प्रसारणलाइनका लागि ६० प्रतिशत निजी जग्गा आवश्यक पर्छ भने ४० प्रतिशत सरकारी जग्गा रहने छ। तुलनात्मक रुपमा जग्गा अधिग्रहण सहज भएको ज्ञवालीले बताए। उनका अनुसार बस्ती भएको क्षेत्रमा प्रसारणलाइन पर्दैन। रुखहरु ठूलो संख्यामा पर्दैन। यो आयोजनाको निर्माण अवधि ४ वर्ष छ। सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ।





error: Content is protected !!