जग्गा दिएको पाँच वर्ष भइसक्यो किन बन्दैन अस्पताल – विष्णुदेवी रोकाया

जुम्ला ः तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकायाका छोरा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भूमिगत थिए।

त्यति वेला बम विस्फोट भएर उनको मृत्यु भएको थियो। विष्णुदेवीका अरु छोराछोरी जीवित नभएकाले ३८ लाख ८२ हजार ६ सय रूपैयाँ बराबरको जग्गा स्थानीय सरकारलाई अस्पताल बनाउनका लागि दान दिइन्।

उनलाई अस्पताल छिट्टै बनेको र जनताले उपचार पाएको हेर्ने हेर्ने धोको छ। विष्णु देवी एकल महिलाका साथै शहीदको परिवार पनि हुन्। विष्णुदेवीले भोलिका दिनमा मेरा छोराछोरीजस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेको बताइन्।

दुःख गरेर हुर्काएका एक छोरा र एक छोरी बिरामी हुँदा समयमै उपचार नपाएर ०५३र५४ सालतिर बितेको बताउँछिन् उनी। छोरा र छोरीको मृत्युले दिएको पीडा नसकिँदै ०५८ सालमा १८ वर्षका उनका अर्का छोरा छक्कको पनि मृत्यु भयो।

रोकायाले पति नरबहादुर र छोरा छक्कको सम्झनामा गाउँ सरकारलाई ५ शय्याको अस्पतालका लागि जग्गा दान गरेकी हुन्। उनले भनिन्, ’जग्गा दान गरेको ५ वर्ष भइसक्यो‚’ उनले भनिन्, ’अहिलेसम्म अस्पताल बनिसक्नु पर्थ्यो‚ खै बनेकै छैन। छोराले सबै जग्गा पार्टीकै नाममा गर्नु आमा भनेको थियो।’

तातोपानी(६ की विष्णुदेवी छोरा छक्क गरिब, दुःखीहरुको मुक्तिका लागि द्वन्द्वमा होमिएको थियो भन्छिन्।

उनले भनिन्, ‘छोराले म मरेँ भने सबै जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको सम्झनामा नेकपा माओवादी पार्टीका नाममा जग्गा दान गर्न खोजेकी थिएँ तर पछि पार्टीभन्दा पनि सबैले त्यसको फाइदा पाउन् भनेर सोही वडाको ३८ लाख ८२ हजार ६ सय रूपैयाँ बराबरको जग्गा स्थानीय सरकारलाई दान दिएकी हुँ।’

उनका छोरा छक्क नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा उनको मृत्यु भयो। छोराको मृत्युको पीडा ओभानो हुन नपाउँदै २०६६ सालमा पति नरबहादुरको मृत्यु भएपछि एक्लिइन् उनी।

आफ्नोभन्दा समाजका समस्याबारे बढी चिन्तित

एकपछि अर्को पीडा सहेर एकल जीवन बिताइरहेकी विष्णुमायालाई आफ्नो पीडाभन्दा पनि ज्यादा समाजले भोग्नुपरेका समस्याबारे चिन्ता छ।

‘सानो छँदै छोराछोरी मरे। ती मरेका लालाबाला बितेको घाउ पीडा नमेटिँदै ठूलो छोरा बित्यो,‘ गहभरि आँशु छचल्काउँदै उनले भनिन्, ‘पछि आएर आफ्नो जीवनसँगीले नै छाडेर गए। त्यसपछि १३ वर्षयता एक्लै छु।’ उनले आफू एक्ली भएर होला समाजले गरेको अपमान खेपिरहेको बताइन्।

एक्लै बस्दा कोही छिमेकीको सहयोग नपाएको उल्टै आफूमाथि कुटपिट भएको पीडा उनको छ। ‘पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलेको थियो‚’ उनले भनिन्, ‘गाउँलेलगायत अरु पनि मेरा छोराछोरीजस्तै हुन् भन्ने सोचले उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनु पर्छ भनेर दिएँ।’

विष्णुदेवीलाई आफू जीवित रहँदै अस्पताल बनेको देख्न पाउँछु कि पाउँदिन भन्ने चिन्ता छ। अस्पताल बनेको हेरेर मात्र मर्ने चाहना छ। छिटो बनाउन अनुरोध गर्दै उनी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारी‚ केन्द्रीय सदस्य गोमा गौतम कुँवरलगायत नेतासँग पुगेर अनुरोधसमेत गरेकी थिइन्।

साढे १० करोडको टेण्डर आह्वान

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले अस्पताल बनाउन साढे १० करोडको टेण्डर आह्वान भएको बताए।

‘आफैँ सहाराविहीन र पीडामा परेकी महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन। अस्पताल निर्माणका लागि टेण्डर आह्वान अघि बढेको छ‚’ अध्यक्ष चौलागाईले भने, ’गाउँपालिकाले उनको योगदानलाई उचित कदर गर्नेछ। जग्गामा अब सुविधासम्पन्न अस्पताल निर्माण गरिनेछ र रोकाया दम्पती र छोरा छक्कसहितको इतिहास रहने गरी योगदानको कदर गरिनेछ।’





error: Content is protected !!