राजनीति कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै राजकुमार


सुर्खेत ः कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्दैछन् ।

२१ पुसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए ।

मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारमा जाने–नजाने, समर्थन गर्ने, नगर्ने विषयको सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको थियो । त्यसपछि दुई दलका नेताहबीच सामान्यत छलफल बाहेक ठोस निर्णय नभएको माओवादी स्रोत बताउँछ । माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार सामान्य छलफलमा यामलाल कँडेलले आलोपालो सरकार बनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

माओवादीका शर्मालाई एमालेले समर्थन गरेमात्रै सरकार बनाउने बहुमत पुग्छ । ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा सरकार गठनका लागि २१ जनाको समर्थन चाहिन्छ । माओवादी केन्द्रका १३ र एमालेका १० तथा राप्रपाका एक गरी गठबन्धका पक्षमा २४ सांसद छन् ।

त्यस्तै, प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको १४ र नेकपा एकीकृत समाजवादीको १ सिट छ । एकजना स्वतन्त्र सांसद छन् ।





error: Content is protected !!