के गरम आमा ?

– निरज यादव
लगातार चार दिनको पानीपछि आएको बाढीबाट पीडित एउटा गाउँको कुनै एक घरको कहालीलाग्दो अवस्था यस लेखमा प्रस्तुत गरिएको छ ।
लकडाउनको समयमा बाढी आएको छ । भर्खरै मात्र लकडाउन अलि खुकुलो भएको छ । बाढीले घर भत्काएको छ । मोटरले बाटोको छेउमा पलाएको दुबोको मुना निमोठ्दै अगाडि बढिरहेको छ । निमोठिएको दुबोको मुना हेर्दै एक जना वृद्ध आमा आफ्नो भत्किएको घरको आँगनको छेउमा बसिरहेको बेला भान्छाबाट आवाज आउँछ । ‘आमा, चामल पनि रित्तिएछ नि !’ यो सुनेर चाउरी परेकी आमाको गालाको रङ झन् कालो हुन्छ र बाढी आउनुभन्दा अघिल्लो रात घरको भित्ता रसाएझैँ आँखा रसाउँछन् ।
सायद छोराले भित्रबाट आमाको गालामा पुगेको आँसुका थोपा देख्छ र हतारिँदै बाहिर आमाको छेउमा पुग्छ । अनि आमालाई सम्झाउँदै भन्न थाल्छ, ‘आमा, जीवनका हरेक दुःख र दर्दनाक अवस्था म हाँसीहाँसी सहुँला तर हजुरको आँखामा आँसु देख्दा म सहनै सक्दिनँ । जीवनको बाटोमा गर्नुपर्ने संघर्षपूर्ण यात्रा नै सकिन आँटेजस्तो लाग्छ ।
आमा रुन बन्द गरेर सुँक्कसुँक्क गर्दै भन्छिन्, ‘छोरा, म अब रुँदिनँ, जति रुनु छ रोइसकेँ । अब जेनतेन गरेर तेरो पढाइ सकाइदिन पाए मेरो पनि सुखका दिन आउलान् । मर्नै परेछ भने पनि खुसीखुसी मर्नेछु ।’
आमाको कुरा बीचमै काटेर छोरा विपुल भन्छ, ‘होइन आमा, पढाइ पछि गरुँला, लकडाउन पनि भर्खरै खुलेको छ । तल बद्रिको छोरा कमले र ठूलाबाको छोरा कृष्णे मिलेर बम्बई जाने रे । दुई/चार महिना म पनि गएर आउँछु ।’
जुन ठाउँले आफ्नो पति निल्यो, त्यही ठाउँमा जानलाई भर्खरै नवौँ वसन्त पार गरेर दसौँ वसन्तमा पाइला टेकेको, पढाइमा अब्बल नाबालक मुटुको टुक्रालाई आमाले कसरी जा भन्न सक्थिन् र ? त्यसैले आमाले छोराको भारत जाने कुरामा समर्थन जनाइनन् । आमाको समर्थन नपाएपछि विपुलले कुनै जोड गर्न चाहेन ।
यत्तिकैमा गाउँकी एक जना पँडेनी भाउजू आउँछिन् । आफू राहत लिन हिँडेको र आमालाई पनि सँगै लिएर जाने कुरा गर्छिन् । यो सुनेपछि आमा र छोरा मुखामुख गर्छन् । त्यसपछि आमा भित्र पस्छिन् । धोतीको कपडा काटेर टालो हालेको बोरा लिएर कपाल मिलाउँदै उत्सुकतापूर्वक बोल्छिन्, ‘ल, अब जाम् । कहाँ जाने हो ? स्कुलको चौतारामा हो ?’
अहिले विपुलकी आमा, पँडेनी भाउजू र कुमारी राहत लिन गएका छन् । विपुल यता मक्ख छ । उसका सुकेको गाला फुलेका छन् । आमाले राहतमा चामल ल्याइन् भने कुन भाँडामा राख्ने भनेर भाँडा हेर्दै छ विपुल । उता राहत लिने मान्छेको घुइँचो छ । यस्तो लाग्छ, विश्वमा कोरोना नामको कुनै अस्तित्व नै छैन । ठूला पेट भएका नेता भन्ने मान्छेहरू लाइनको सबैभन्दा अगाडि उभिएका छन् । लाइनअनुसार नाम आउँदै छ, पीडितहरू जाँदै छन् र राहतको बोरा लिँदै छन् । त्यहाँ भएका सबै मान्छेको नाम आउँछ । पँडेनी भाउजूले पनि राहत पाउँछिन् । ठूलोको पेट नभरिएसम्म सानाको पालो आउने कुरै भएन । कुमारी पनि लाइनमै छिन् ।
अब त उसको पालो आउला भनेको त अहँ आउँदैन । एकैछिनमा अघि अगाडि उभिएको व्यक्तिको आवाज आउँछ, ‘कुमारी, तेरो नाम त छैन यहाँ’ भनेको सुन्दा विस्तारै कुमारीले टाउको उठाउँछिन् । पेट ठूलो घैँटोजस्तो, ठूलो नाक भएको, आँखीभौँ र जुँघा घुम्रिएको, अजङ्गको व्यक्तिले त्यस्तो भनेको सुन्दा कुमारीको पारो तातिन्छ । तर, मौन भएर हेरि मात्र राख्छिन् ।
फेरि आवाज आउँछ, ‘भाग्यमा भए पो पाउँथिस् ।’ यो सुनेपछि कुमारीको त्यो रिस मार्मिक चोटमा परिवर्तन हुन्छ । त्यो चोट उसको आखाँमा आँसुहुँदै गालाबाट बग्न थाल्छ । त्यसपछि उसले केही सम्झिएजस्तो गरी फेरि सोध्छिन्, ‘सुन्नुस् न, मेरो उहाँको नाम पो लेखिएको छ कि ?’
अनि उताबाट आवाज आउँछ, ‘गाउँमै नभएको मान्छेको नाम कसले लेख्छ र ?’ यो सुन्नासाथ उसले केही सम्झिन्छिन् । अघि भर्खर लाइनमा बस्दा त्यही ठूलो पेट भएको अजङ्गको मान्छेको जेठो छोराको नाम भनेको थियो । ती वृद्धा आमालाई थाहा थियो कि त्यो मान्छे शहरतिर अन्तै बस्थ्यो, आफ्नो परिवारको साथमा ।
उनी चुपचाप बस्छिन् र सोच्छिन्– सायद उसको भाग्यमा नै दोष छ । साँझ झपक्कै हुने बेला घर पुग्छिन् । आमाको त्यो मलिन, हल्का रिस र आफैँलाई धिक्कारिरहेको जस्तो अनुहार देख्दा छोराले अलिअलि कुरा बुझेजस्तो गर्छ तर केही बोल्दैन ।
केही दिनमा गाउँमा आमाछोरा घरमा नभएको खबर फैलिन्छ । उनीहरू कहाँ गए, कसैलाई पत्तो भएन ।



