१० सांसदको दसैँ ः दलितको खुट्टा ढोग्नेदेखि १० दिन भोकै बस्नेसम्म

आम सर्वसाधरणजस्तै जनताका प्रतिनिधिका रुपमा रहेका संघीय सांसदहरुलाई पनि दसैँको रौनकले छुने गर्छ । दसैँका बेलामा कतिपय सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जाने गर्छन् भने कतिपय अध्ययनमा ब्यस्त हुन्छन् । केही सांसदहरु भने धार्मिक गतिविधिमा पनि सहभागी हुने गरेका छन् ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । त्यसैले दसैँलाई हिन्दूहरुको चाड भनिए पनि सबै जातजाति र सम्प्रदायमा यसको प्रभाव विस्तार हुँदै गएको कुरा साँसदहरुको भनाइबाट पनि पुष्टि हुन्छ । मुस्लिम समुदायका साँसदहरुले पनि दिन्छुसँग मिलेर दसैँ मनाउने गरेको बताएका छन् भने आदिवासी जनजाति समुदायका साँसदले पनि दसैँलाई उत्तिकै महत्वका साथ मनाउने बताएका छन् । साथै भौतिकवादी भन्ने कम्युनिस्ट साँसदले पनि दसैँको टीका लगाउन थालेको बताएका छन् ।

साँसदहरुका कुरा सुन्दाखेरि देशमा बहुजातीय साँस्कृतिक सुन्दरता र विविधता झल्किएको महसुस हुन्छ । एकले अर्को सम्प्रदायमाथि सम्मान गर्ने सकारात्मक परम्पराको थालनी भएको महसुस गर्न सकिन्छ । यिनै सन्दर्भमा दसैँका बेला सांसदरुको दिनचर्या कसरी बित्दैछ भनेर हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी १० जना सांसदको दैनिकी बुझ्ने प्रयास गरेका छौँ –

मोहम्मद इस्तियाक राई स् हिन्दू–मुस्लिम मिलेर दसैँ मनाउँछौँ

दसैँ नेपालीहरुको ठूलो पर्व भएकाले आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना आदान–प्रदान कार्यक्रममा व्यस्त हुन्छु । सामाजिक सौर्हादताका लागि विभिन्न कार्यक्रममा सहभागी हुने, सबै हिन्दू–मुस्मिल मिलेर दसैँ मनाउने गर्छौँ । दसैँको अवसरमा सबैलाई शुभकामना आदान–प्रदान गर्ने, यही बेलामा जनताका गुनासा समस्याहरु सुन्ने, नेपालीहरु बीचमा भाइचाराको सन्देश दिन सबै मिलेर दसैँ मनाउने गर्छु । मुस्मिलहरुको पर्वमा पनि हिन्दूहरुको सहभागिता रहने गरेको छ, हिन्दूको पर्वमा पनि मुस्लिमहरु सहभागी हुने गरेका छन् । यसरी हामी मिलेर हिन्दू–मुस्लिमका चाडपर्वहरु मनाउने गरेका छौँ ।

दसैँंका बेला म मेरो निर्वाचन क्षेत्र बाँकेमै रहन्छु । मतदाताहरुलाई भेटेर दशैैंको खुसीको अवसरमा शुभकामना दिन्छु । उहाँहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुने गरेको छु । हामी मिश्रित सामाजिक व्यवहार भएको देशमा बस्छौँ । नेपालमा बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक सबै समुदायका ब्यक्तिहरु छन् । हामी सबै मिलेर एउटा समूदायको पर्वमा सहभागी हुने र अर्को समुदायको पर्वमा पनि सहभागी हुने गरेका छौँ ।

हामी मुस्लिमहरुको धर्म, आस्था फरक भए पनि हिन्दूहरुको पर्वमा सहभागी हुने र उहाँहरु पनि हाम्रो पर्वमा सहभागी भएर सँगै मनाउने गर्छौं । धार्मिक सहिष्णुतको हिसावले नेपाल एउटा विशाल देश नै हो । हाम्रो यहाँ सामाजिक सद्भाव समिति नै छ, यहाँ नेपालगञ्ज क्षेत्रमा हिन्दू, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन धर्मगुरु बोलाएर शुभकामना आदान प्रदानको कार्यक्रम नै हुने गरेको छ । दसैँ सकेपछि मात्रै काठमाडौं फर्कनेछु ।

सुदन किराती स् दलित बस्तिमा गएर दसैँ मनाउँदैछु

मैले दसैँ नमानेको बीस–पच्चीस वर्ष भयो । यो वर्ष म दलितसँग दसैँ मनाउँदैछु । हिजोको दिनमा मेरो घरमा बालीघरे प्रथाअन्र्तगत काम गर्ने दलित समुदायहरु हिजोका दिनमा दसैँ चाडपर्वका बेला सुङ्गुरको पुच्छर लिन आउथे, घर बाहिर बस्थे । अहिले छुवाछुत अन्त्य भएको छ । मेरा बाबुआमा जस्तै देखिने ती दलितहरुसँग दसैँ मान्न म उहाँहरुका घरमा जाँदैछु । म टीका चाहीँ लगाउदिनँ, उहाँहरुलाई एकसरो लुगा बोकेर ढोग्न जान्छु ।

दसैँको दिन दलितहरुको घरमै खान्छु, त्यहीँ सुत्छु त्यो दिन । म त्यहाँ उनीहरुलाई संविधानमा सबै दलितहरु मान्छे भइसकेका छन्, यो संविधानलाई रक्षा गर्नका लागि देशमा सम्पूर्ण दलितहरु एकजुट हुन म आग्रह गर्दछु । किनभने अहिलेसम्म हामीले गणतन्त्रको संस्कृति नै निर्माण गर्न सकेनौँ ।

 

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर १ मा मेरो परिवारका लागि लुगा सिलाउने दर्जी र वडा नम्बर ३ मा मेरो परिवारमा फलामका सामान बनाउने बिश्वकर्मा समुदाय बस्नुहुन्छ, उहाँहरुलाई मेरा बुबाआमा सरह मानेर यो वर्षको दसैँ मनाउँदैछु ।

२०४६ सालमा देशमा प्रजातन्त्र आयो, त्यतिबेला नेपाली राजनीतिमा गोरेबहादुर खपाङ्गीको उदय भयो । उहाँको दसैँको टीका बहिष्कार गर्ने अभियानबाट प्रभावित भएर हाम्रो परिवारका साथै गाउँलेले टीका लगाएनन् । त्यसपछि म जनयुद्धमा लागेँ । जनयुद्धका बेला दसैँमा टीका लगाउने कुरै भएन । शान्ति प्रक्रियामा आएपछि दसैँका बेला कृषि फर्ममा गएर श्रम गर्थेँ । तर, यस वर्ष भने म दलितसँग दसैँ मनाउँदैछु ।

हितबहादुर तामाङ स् टीका लगाउँदिनँ, अरु सबै गर्छु

घरपरिवारका साथ काठमाडौंमै बस्छु । नुवाकोट जादिनँ । काठमाडौंकै डेरामा घर–परिवारका साथ बस्छु । भेट्न नपाएका साथीहरुलाई बोलाउँछु । फुुर्सद भयो भने साथीहरुकोमा पनि जान्छु ।

 

मेरो परिवारमा ४ जना छौँ । सामान्य तरिकाले दसैँको समय बिताइन्छ । जनयुद्धको सुरुवातदेखि नै मैले टीका लगाउन छाडेको छु । पछिल्लो समय तामाङ् समुदायले त्यसै पनि दसैँ मनाउन छाडेका छन् । मैले तिहारमा पनि टीका लगाउदिनँ । तर, अरु आफन्तहरु भेटघाट गर्ने, खानपान गर्ने रमाइलो गर्ने त भइहाल्छ । तास खेल्ने गरेको छैन । पिङ खेल्न काठमाडौंमा सम्भव छैन, गाउँमा भएको भए पिङ पनि खेलिन्थ्यो होला । साथीहरुले शुभकामना आदान प्रदानको कार्यक्रम राख्नुभयो भने नुवाकोट पनि जान्छु होला ।

रामनारायण विडारी – दुई वर्षअघिदेखि टीका लगाउन थालेको छु

दसैँमा त्यति लामो बिदा हुँदैन । पार्टीका भेला, सम्मेलनहरु पनि छन् । अष्टमीसम्म पार्टीका विभिन्न जनवर्गीय संगठनले गरेका शुभकामना आदान–प्रदानका कार्यक्रमहरुमा पनि सहभागी हुन्छु ।

नवमी, दशमी र एकादशीको दिन हरेक वर्ष म परिवारसँगै बस्छु । स्वास्थ्यका कारणले जति पनि खानपिन गर्न सकिँदैन । केही किताब पढ्न, केही लेख्न हुन्थ्यो, तर त्यसका लागि पर्याप्त समय हुँदैन । टीकाको भोलिपल्टबाट आफन्त, नातेदारहरुको आगमन हुन्छ । दसैँका बेला साथीभाइ भेट्न कतै जान पनि मिल्दैन । आफन्तजनसँग दसैँंको विशेष तीन दिन बिताइन्छ ।

 

मेरो परिवारमा सबैभन्दा जेठो मै हुँ । पहिले–पहिले म टिका लगाउँदैनथेँ । २ वर्ष अगाडिदेखि टीका लगाउन थालेको छु । म संस्कृतिका रुपमा टीका लगाउँछु । सत्यको विजय र असत्यको हार भएको, राक्षसहरुले हारेको र देवताहरुले जितेको उपलक्ष्यमा टीका लगाएको कुरामा विश्वस्त भएर अझै पनि मुलुकमा सत्य पक्षको जीत भइनसकेको अवस्थामा उत्साहपूर्वक टीका लागाउने कुरा चाँहिँ भएन । मसँग पनि टीका थाप्न आउने धेरै हुन्छन् । नातेदार, आफ्ना वरिपरिका मान्छेहरुलाई टीका लगाइदिन्छु ।

दसैँका अगाडि र पछाडितिर पुरानो घर हेटौंडा जान्छु । मध्य दसैँका बेला, टीकाको दिन र त्यसको भोलिपल्टसम्म काठमाडौंमै रहन्छु । दसैँमा मनोरञ्जनका लागि तास खेल्ने भन्ने हुँदैन । साँच्चिकै भन्दा लाज हुन्छ होला मलाई तासको क्यू भनेको क्वीन, के भनेको किङ् भन्ने थाहा छ, त्यसको अंकभार कति हुन्छ, मलाई थाहा छैन । पिङ पनि पहिला बच्चा बेलामा खेलियो, अहिले हुँदैन । खानपानका लागि पनि शरीरले साथ दिँदैन । प्रोटिनयुक्त धेरै खानेकुरा खान सकिँदैन । कहिलेकाँही ह्विस्की ब्राण्डी खाने कुरा हुन्थ्यो अब त ज्यानले साथ दिँदैन । खानपिन पनि खासै हुँदैन, खेलवाड पनि खासै हुँदैन । फुर्सद भए अध्ययन गर्ने, लेख्ने यस्तैमा समय बित्छ ।

डा-विजय सुब्बा – साइनोले सबैभन्दा ठूलो छु, सबैलाई टीका लगाइदिन्छु

दसैँमा अलि–अलि फुर्सद हुन्छ केही कितावहरु पढ्छु । केही इतिहासका किताबहरु पढ्छु । राजनीति गर्दा आवश्यक पर्ने केही दर्शनका कितावहरु पनि पढ्छु । अरुबेला फुर्सद हुँदैन, दसैँको समयलाई अध्ययनमा जोड गर्छु ।

मेरो परिवारको ठूलो संख्या काठमाडौंमा छ । भतिजाहरु, नाती नातिनाहरु सबै काठमाडौंमा छन्, उनीहरुसँग दसैँका बेला भेटघाट हुन्छ । राजनीतिले गर्दा काठमाडौं बस्ने गर्छु । मेरो घर तथा निर्वाचन क्षेत्र तेह्रथुम नै हो । तेह्रथुममा पनि बस्छु । यसपालि मेरा केही योजनाहरु बनाउनुपर्नेछ, ती कामहरु पनि छन् ।

 

काठमाडौं बस्दा पनि, तेह्रथुम बस्दा पनि साइनोले म सबैभन्दा ठूलो छु । सबैलाई दसैँको टीका लगाइदिन्छु । काठमाडौंमा पनि मेरा नातिनातिना, भतिजाहरु भेला हुन्छन् । म आफूले टीका थाप्न जेष्ठ नागरिक छैनन्, आफूले चाँही अरुलाई लगाइदिनुपर्छ ।

दसैँका बेला रमाइलो गर्न खानपिन गर्ने, तास खेल्ने चलन छ । अझ गाउँघरतिर त भव्य नै हुने गर्छ । आजभोलि पिङ खेल्ने मेला बजार कम हुँदै गएको छ । मनोरञ्जनका साधनहरु के–के छन्, त्यसमै रमाउने हो । अरुबेला व्यस्त राजनीतिक जीवन हुने गरेकाले दसैँका बेला परिवारसँग बसेर रमाइलो गर्नुपर्छ । दसैँको टीकासम्म काठमाडौंमा हुन्छु त्यसपछि तेह्रथुम जाने योजना छ ।

शशी श्रेष्ठ – जूठो परेकाले यो वर्षको दसैँ हुँदैन

दसैँलाई मैले सामाजिक एकताको रुपबाट, पारिवारिक भेटघाटको हिसावबाट लिने गरेको छु । हामीले त्यस्तो परम्परागत ढंगबाट दसैँ मनाउने गर्दैनौँ । सामान्य रुपमा जेठा दाइबाट टीका लगाउने गर्छौँ । यसवर्ष मेरी सासूआमा बित्नुभएको छ । एकजना दाजु पनि कोभिडका कारणले बित्नुभयो । त्यसकारण यो वर्ष दसैँ हुने कुरा भएन ।

 

हाम्रोमा जतिजना दाजुभाइ दिदीबहिनी छौँ, पालैपालो एक अर्काको घरमा गएर भेटघाट खानपान गर्ने चलन छ । वर्षभरिमा पनि प्रत्येक महिना पालैपालो एक–अर्काको घरमा गएर भेटघाट खानपिन गर्ने चलन छ । दसैँमा लामो समय छुट्टी भएका कारणले गर्दा पारिवारिक मिलन भेटघाट र वर्षभरीका सुखदुःख साटासाट गर्ने पर्वको रुपमा लिन्छौँ ।

हामीले दसैँका बेलामा राजनीतिक प्रशिक्षणदेखि लिएर विभिन्न अभियान पनि सञ्चालन गर्ने गर्छौँ । हाम्रो दसैँ परम्परागतजस्तो हुँदैन, पारिवारिक भेटघाट, मिलन हुने गर्छ । अहिले राजनीतिक परिवर्तन आएपछि भने दसैँैका बेलामा भेला प्रशिक्षणजस्ता कार्यक्रममा कमी आएको छ ।

शरदसिंह भण्डारी – ९५ वर्षकी हजुरआमाको हातबाट टीका थाप्छु

सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा वडादसैँको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । अहिले म आफ्नै निर्वाचन क्षेत्र महोत्तरीमा छु । घटस्थापनाका दिन जमरा राख्ने काम हुन्छ त्यसपछि परिवार, आफन्तसँग भेटघाट गर्ने काम हुन्छ । तराईतिर दुर्गा पूजाको रौनक पनि हुन्छ । अष्टमीसम्म तराईका विभिन्न जिल्लाहरुमा भेटघाट गर्ने, पार्टी प्रशिक्षण, शुभकामना आदान–प्रदानको काम हुन्छ ।

नवमीको दिन काठमाडौं फर्किएर भोलिपल्ट टीकाको काम हुन्छ । दसैँमा म राजनीतिक–सामाजिक काममा बढी व्यस्त हुन्छु । दसैँका बेला खानपान गर्ने, जुवातास खेल्ने, रमाइलो गर्ने मेरो सन्र्दभमा लागू हुँदैन । अनुत्पादक मनोरञ्जनको काममा म ब्यस्त रहँदिनँ । जनसम्पर्क धेरै भएकाले साथीभाइ, कार्यकर्ताहरुसँग भेटघाटमा बढी व्यस्त हुन्छु ।

 

मेरो परिवारमा ठूली हजुरआमा हुनुहुन्छ । उहाँ अहिले ९५ वर्ष पुग्नुभएको छ । यो वर्षको दसैँमा म उहाँको हातबाट टीका थाप्छु । परिवारमा आफैँ जेठो भएकाले अरुलाई टीका लगाइदिन्छु ।

रमाइलो के हुन्छ भने मेरो जिल्लाका तराईबासी धेरै साथीहरु काठमाडौंमा हुनुहुन्छ, उहाँहरु पनि मेरो हातबाट टीका थाप्न आउनुहुन्छ । मेरा शुभेच्छुक साथीहरु सबैसँग भेटघाट हुने भएकाले मेरो दसैँ रमाइलो नै हुने गर्छ ।

विशाल भट्टराई – ८५ वर्षकी आमाको हातबाट टीका लगाउँछु

सदाझैं यस वर्षको दसैँमा पनि म आफ्नो जन्मघर खोटाङ जान्छु । काठमाडौंमा बसेर म पढ्दा होस्, राजनीति गर्दा होस्, सांसद हुँदा होस् आफ्नै गाउँमा गएर दसैँ मान्दै आएको छु । यस वर्षको दसैँमा पनि विदा हुनेवित्तिकै घर जान्छु । मेरी ८५ वर्षकी आमा हुनुहुन्छ । आमाको हातबाट टीका थाप्छु । धेरैजसो आफन्तहरुलाई घरमै बोलाउने गरेको छु । मैले सम्मान गर्नुपर्ने आफन्तहरुको घरमा गएर टीका लगाउने गरेको छु ।

 

गाउँ गएसँगै घरायसी काम पनि गर्छु । चाडपर्व घरपरिवार केटाकेटीहरु सँग बसेर मनाउँछु । सँगसँगै त्यहीबेला म राजनीतिक अभियानमा पनि लाग्छु । थुप्रै पुनर्मिलन, शुभकामना आदान–प्रदानका कार्यक्रमहरु हुन्छन् । दसैँका बेला खेलकुदका कार्यक्रमहरु आयोजना हुन्छन्, ती सबै कार्यक्रमहरुमा सहभागी हुन्छु । एक किसिमले भन्दा सिँगै जिल्लासँग सामीप्य हुन्छ । दसैँ तिहार लगायतका चाडहरु उल्लासपूर्ण तरिकाले मनाउँछु ।

तास खेल्ने कुरामा मेरो रुची छैन । जुवा, मदिरा सेवनमा रुची छैन । म त्यसमा विश्वास गर्दिनँ । मैले त्यस्ता कुराहरु सिकिनँ पनि । गाउँमा थुप्रै ठाउँमा रोटे पिङहरु, लिङ्गेपिङहरु हाल्ने चलन छ, म पनि पिङ खेल्छु । दसैँलाई उल्लासमय बनाउनका लागि ब्यापकरुपमा जनतालाई भेट्ने हाम्रो प्रचलन छ ।

प्रकाश स्नेही रसाइली – मेला भर्छु आफन्त र कार्यकर्तासँग दसैँ मनाउँछु

नेपाली कांग्रेसको महाधिवेशनका कारण यो वर्षको दसैँ जिल्लाका पार्टीका साथीहरु बित्दैछ । मेरो गृहजिल्ला अछाम अत्यन्तै दुर्गम भए पनि दसैँका बेला यहाँ भलिवल, क्रिकेट प्रतियोगिता सञ्चालन हुन्छ । साथै देउडा गीतमा महिला पुरुषको प्रतियोगिता पनि हुन्छ । ती कार्यक्रमहरुमा प्रमुख अथिति हुने गर्छु । समय भयो भने विश्वका सफल ब्यक्तिहरुको जीवनी पनि पढ्ने गर्छु । साहित्यका किताब पनि पढ्छु ।

संसारभरका देशका कसरी संविधानको विकास भयो, अमेरिका, चाइना, मुस्लिम देशहरुमा धार्मिक ढंगले कसरी संविधान विकास भएका छन्, तिनीहरुको अध्ययन गर्छु । परिवारसँग र पार्टीका आम कार्यकर्तासँग घुलमिल भएर दसैँ मनाउँछु । नेपाली कांग्रेसको महाधिवेशन आउन लागेकाले देशै भरका नेपाली कांग्रेसका कार्यकर्तासँग सम्पर्क बढाउने यो एउटा महत्वपूर्ण अवसर पनि बनेको छ ।

 

सामान्य नेपाली दाजुभाइहरुले घटस्थापना अष्टमीदेखि जसरी दसैँ मनाउँछन्, हामी त्यसरी नै मनाउँछौँ । घटस्थापनामा जमरा राख्ने, नवमीमा बली चढाउने, घर परिवार आफन्त मान्यजनको हातबाट टिका लगाउने, आफूभन्दा सानालाई टीका लगाइदिने गर्छौ । तर, यस वर्ष काका बित्नुभएकाले जुठो परेको छ, यसवर्ष हाम्रो टीका हुँदैन । टीका नभए पनि दसैँमा रमाइलो गर्ने, खानपिन गर्ने गर्छौँ । राजनीतिक व्यक्ति भएकाले पार्टीका कार्यकर्ताहरुसँग पनि बढी समय बित्ने गर्छ । जिल्लाका कार्यक्रमहरुमा पनि सहभागी हुन्छु ।

अर्को कुरा, हाम्रो यहाँ हरेक वर्ष दसैँमा ७ दिनसम्म सुर्मादेवीको मेला लाग्ने गर्छ । यो मेला पूर्णिमाको दिनदेखि एक हप्तासम्म मेला लाग्छ । असत्यमाथि सत्यको विजयको खुसीका रुपमा हामी धर्मकर्ममा विश्वास गर्नेहरुले सुर्मादेवीको मेला भर्ने गर्छौँ ।

यो मेलामा भलिवल, देउडा गीत प्रतियोगिता हुने गर्छ । कालीकोट, हुम्ला, जुम्लादेखि दैलेखसम्मका कलाकारहरु, खेलाडीहरु आएर यहाँ हुने प्रतियोगितामा सहभागी हुने गर्छन् । ती कार्यक्रममा सहभागी भएर विजयी खेलाडी तथा कलाकारहरुलाई पुरस्कार पनि दिने गर्छु ।

चन्दा चौधरी- ९ दिनसम्म अन्न नखाई ब्रत बस्छु

दसैँका बेला मेरो समय ब्रत र पूजापाठमै बित्ने गर्छ । दसैँको १० दिन म काठमाडौंमै हुन्छु । दसैँभन्दा अगाडि नै मेरो निर्वाचन क्षेत्र सर्लाही गएर आउँछु । दसैँमा दश दिन मेरो नवरात्रको व्रत हुन्छ । हरेक वर्ष दसैँमा मैले १० दिन पूजा र ब्रतका लागि नै छुट्याएको हुन्छु । ब्रत अवधिभर अन्न नखाई दूध, दही र फलफूल मात्रै खान्छु । ९ दिनसम्म अन्न, नुन केही खाँदिन् । पूजा पाठ, चन्डी पाठ म आफै गर्छु ।

 

मैले दसैँका बेला पाठ गर्ने, पूजा गर्न थालेको ३० वर्ष भयो । यसरी फलफूल र दूध मात्र खाएर ब्रत बस्न थालेको चाँही १५ वर्ष भयो । घटस्थापनादेखि नवमीसम्म केही खाँदिनँ । दशमीको दिन हवन गरेपछि मात्रै खाना खान्छु । यो अवधिमा मेरो श्रीमानले पनि पूजापाठ गर्नुहुन्छ ।

मैले सानो उमेरदेखि नै देवीको आराधना गर्न थालेकी हुँ । यो अवधिमा ९ वटा शक्तिपीठमा पूजा तथा दर्शनका लागि जाने गर्छु । दक्षिणकाली, गुह्वेश्वरी, नक्साल भगवती, भद्रकाली, चामुण्डा भगवती लगायतका शक्तिपीठमा जाने गर्छु ।

मधेसतिर दसैँमा टीका लगाउने खासै चलन छैन । अहिले त मधेसतिर हामीले पनि जमरा राख्ने, टीका लगाउने गर्न थाल्यौँ । घरमा ठूलो मान्छेको हातबाट टीका पनि लगाउँछौँ । दसैँमा खानपान गर्ने रमाइलो गर्ने भन्ने हुँदैन । कतै भजन कीर्तन भएको छ भने त्यस्तो ठाउँमा जाने गर्छु । कतै दसैँको शुभकामना आदान–प्रादान गर्ने, कार्यकर्ता भेटघाट गर्ने पनि गर्छु ।





error: Content is protected !!