लालपुर्जाबिनै धमाधम बजार विस्तार

गुटु, सुर्खेत ः पश्चिम सुर्खेतका प्रमुख व्यापारिक केन्द्र विशालबजार (गुटु) र बाबियाचौरका बासिन्दा वर्षौदेखि लालपुर्जाविहीन छन् । चिटिक्क र व्यवस्थित बजार देखिने दुवै बजारमा झन्डै ४ सय घरधुरी छन् । तर कसैसँग पनि लालपुर्जा छैन ।

स्थानीय मात्र होइन ८ नम्बर वडा कार्यालय, हुलाक, सशस्त्र प्रहरी बल, प्रहरी चौकी र वन कार्यालयसमेतको लालपुर्जा छैन । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आफ्नै नामको जग्गा नहुँदा सरकारी लगानीका पूर्वाधार निर्माण गर्न समस्या भएको छ । बजार विस्तार हुने क्रम बढ्दै गए पनि लालपुर्जाविहीन हुँदा व्यावसायिक काममा समस्या भएको स्थानीय सहकारी सञ्चालक विमला जिसीले बताइन् । उनका अनुसार ३ वर्षअघि सहरी विकास तथा भवन निर्माण विभागले बजार क्षेत्रमा नाली निर्माण र सडक ग्राभेल गरेपछि बजार थप व्यवस्थित बनेको छ । ‘बजार क्रमशः व्यवस्थित बन्दै गए पनि आफ्नै नाममा घरजग्गा नहुँदा समस्या छ,’ उनले भने, ‘न घरजग्गा छाड्न सकेका छौं न त व्यवस्थित र पक्की घर बनाउन ।’

द्वन्द्वको समयमा गुटुमा तत्कालीन माओवादीले २०६०मा सामुदायिक वन फडानी गरी बजार बसाउन स्थानीयलाई जग्गा निःशुल्क वितरण गरेको थियो । द्वन्द्वको समयमा माओवादीले भिडन्तमा मारिएका विशाल नामक कार्यकर्ताको नाममा ‘विशालनगर एकीकृत सामुदायिक बजार’ निर्माणका लागि स्थानीयलाई जग्गा उपलव्ध गराउँदै जनसरकारबाट लालपुर्जासमेत वितरण गरेको थियो । बजार व्यवस्थापन समितिका अध्यक्ष गजराज वयकका अनुसार २०६१ मा गुटुमा ‘टाउन प्लानिङ’ गरिएको हो । टाउन प्लानिङपछि पुरानो बजार मोतीसेरालाई गुटुमा सारिएको उनले जानकारी दिए । ‘प्लानिङपछि पुरानो बजार तल सर्‍यो,’ उनले भने, ‘तर अठार वर्षसम्म पनि आफ्नै नाममा जग्गा नहुँदा ठूलो समस्या भइरहेको छ ।’ उनका अनुसार जग्गा पाएपछि स्थानीयले धमाधम घर बनाएर व्यापार थालेका थिए ।

चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका बासिन्दा किनमेलका लागि गुटुबजार आउने गरेका छन् । गुटुमा प्रत्येक शनिबार हाटबजार लाग्दै आएको छ । स्थानीय व्यवसायी टिकाराम आचार्यका अनुसार बजार बस्दा प्रतिघरधुरी १५ मिटर लम्बाइ र ७ मिटर चौडाइको जग्गा बितरण गरिएको थियो । ‘आफ्नै नाममा लालपुर्जा नहुँदा ढुक्कले आफ्नै घरमा बस्न सकिएको छैन,’ उनले भने, ‘जग्गाको लालपुर्जा नभएपछि बैंकबाट कर्जा लिन, बिक्री वितरण गर्नलगायतका काममा समस्या छ ।’

दुई दशक अघिसम्म गुटु दैलेख, जुम्ला, हुम्ला, कालीकोट, अछाम, डोटीलगायत ७ जिल्लाको व्यापारिक केन्द्र पनि थियो । पहाडी जिल्लाका बासिन्दा कर्णाली चिसापानी आउजाउ गर्न गुटुकै बाटो प्रयोग गर्थे । कर्णाली राजमार्ग र साफेबगरको सडक खुलेपछि यहाँको व्यापार घटेको स्थानीय तुलबहादुर विकले बताए । ‘अहिले पनि दैनिक चहलपहल र व्यापार आसपासका बजारभन्दा वढी नै छ,’ उनले भने, ‘तर आफ्नै नाममा जग्गा नहुँदा बढी रकम लगानी गरेर व्यापार गर्न सकिएको छैन ।’ उनले लालपुर्जा नभए पनि घरघडेरी ३ देखि ५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको जानकारी दिए ।

गुटुबजारलाई अहिले विशाल बजारका नामले चिनिन्छ । माओवादीका स्थानीय नेता विशाल ओलीको सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएपछि उनैको सम्झनामा विशालबजार नामकरण गरिएको हो । स्थानीयवासीले बजारमा खानेपानीको समेत समस्या भएको गुनासो गरेका छन् । बजारभरि एउटामात्रै धारा हुँदा होटल व्यवसाय सञ्चालन गर्न समस्या भएको वयकले बताए । हाल सोलारवाट पानी तानेर बजारलाई वितरण गरिएको छ ।

सालघारी जंगल क्षेत्र फडानी गरी गुटु बजार स्थापना गरिएको वन डिभिजन कार्यालयका प्रमुख गोविन्द दाहालले जानकारी दिए । बजारबासीलाई लालपुर्जा वितरणका लागि पहल गरिरहेको चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए । ‘लालपुर्जा वितरण नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘गुटुलाई पूर्वाधारयुक्त बनाउन थप योजना बनाइरहेका छौं ।’

यसैगरी, सुर्खेतका झन्डै ५३ हजार भूमिहीन दलित, सुकुम्बासी परिवारले लालपुर्जा पाउन बाँकी छ । उनीहरूले लालपुर्जा पाउने आशामा विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगमा नाम दर्ता गराएका थिए । तर आयोग विघटन भएपछि लालपुर्जा पाउने आशा निराशामा परिणत भएको छ । गुटु, बाबियाचौर, छिन्चु, वीरेन्द्रनगरलगायतका विभिन्न व्यापारिक केन्द्रमा लामो समयदेखि स्थानीयहरू लालपुर्जाविहीन छन् ।

विघटित समितिका अध्यक्ष ऐनबहादुर चन्दले सबै स्थानीय तहको लगत सम्पन्न भइसकेको बताए । उनका अनुसार गत असार मसान्तसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्वासी ५३ हजार ९ सय ९४ परिवारको लगत सम्पन्न भएको थियो । ‘चौकुने, सिम्ता, पञ्चपुरी, भेरीगंगा र गुर्भाकोटमा जग्गा नापनक्साको काम सुरु भइरहेको थियो,’ उनले भने, ‘तर काम निरन्तर चलिरहेकै अवस्थामा रोकियो ।’ आयोगले झन्डै ८ हजार १ सय ५५ रोपनी जग्गाको नाप नक्सा भएको जनाएको छ ।





error: Content is protected !!