स्वास्थ्य सेवा कार्यालय असफल , भेरीमा देखियो दादुरा ?

हेमन्त केसी ( एजेन्सीको सहयोगमा )
जाजरकोट – नेपालले सन २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएपनि २०२१ मा आएर जाजरकोटमा दादुराका विरामीहरु फेला परेका छन् ।
भेरी नगरपालिका – १ रावतगाउमा साउन ८ गते दादुरासँग मिल्दोजुल्दो लक्षण भएको विरामीहरु देखिएपछि जाँच गर्दा दादुराको विरामीहरु फेला परेका थिए । डब्लु एच ओको सहयोगमा भेरी नगरपालिका –१ रावतगाउँमा १८ जना बालबालिकाको नमुना संकलन गरी जाँच गर्दा थप २ जनामा दादुरा संक्रमण पुष्टि भएपछि अवस्था गम्भिर देखिएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले बताउनुभयो ।
आज मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत , स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखा बाट संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले बर्षेनी ददुरा विरुद्धको खोप लगाउने गरेपनि त्यो अभियान पुरै असफल भएको स्थानीयबासीह बताउँछन् । अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसकेपनि ददुरा सुरुवा रोग भएकाले यसलाइ समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले बताउनुभयो ।
चार जिल्लामा दादुराका बिरामी
सन् २०२० मा दादुराका बिरामीहरू ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएका थिए । यो साढे तीन महिनाको समयमा १२५ जना दादुराका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अनुसार सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४३० रहेका थियो ।
खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोगहरू बढ्न सक्ने चिकित्सकले चेतावनी दिदै आएका छन् । अत्यावश्यक सेवा रोक्न त मिल्दैन। तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र यातायातका साधन पनि नचलेपछि खोप सेवा बन्द भएकोले समस्या हुँदै आएको चिकित्सकहरुको तर्क छ ।
कस्तो खतरा छ ?
सरुवा रोगमध्ये पनि निकै चाँडो फैलन सक्ने क्षमता भएको हुँदा दादुरा नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरू बताउँछन्। दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलालाई ग्रस्त बनाउने चिकित्सकहरूको भनाइ छ। दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ। तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ। केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा गरेको जनगणनाका अनुसार नेपालमा चार वर्ष सम्मका बालबालिकाको संख्या २५ लाख ६७ हजार थियो। जुन कुल जनसंख्याको करिब १० प्रतिशत हो।
उपचारको व्यवस्था कस्तो छ?
विकसित मुलुकमा सन् १९६३ बाट प्रयोगमा आएको दादुराको खोप नेपालमा भने सन् १९७९ मा मात्र आएको थियो । सुरुका दिनमा उक्त खोप निकै महँगो मानिने भए पनि अहिले ठूलो परिमाणमा उत्पादन हुने हुँदा मूल्य क्रमिक रूपमा घट्दै गएको जानकारहरू बताँउछन्। एक जनालाई एक पटक लगाइने दादुराको खोपको मूल्य एक अमेरिकी डलर जति पर्छ। त्यसमाथि विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ जस्ता संस्थाले त्यस्ता खोपको खरिदमा सहयोग गर्ने हुँदा खर्च कम हुँदै आएको छ ।
रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुई पटक दिएर जोगिन सकिन्छ। यहाँ विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशत दोस्रो खेप लिए। २०१९ मा दादुरा रोगीको संख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्ष यताकै अत्याधिक रहेको यूनिसेभले आफ्नो बुलेटिनमा बताएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) द्वारा संयुक्त रूपमा प्रकाशित विवरण अनुसार २०१९ मा ८६९,७७० जना दादुराका बिरामी भेटिएको उल्लेख गरेको छ ।
जुन संख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरि १९९६ यता देखिएको सबै भन्दा धेरै हो। २०१६ यता दादुराको कारणले मृत्यु हुनेको संख्यामा ५० प्रतिशतले वृद्वि भई २०१९ मा मात्रै अनुमानित २,०७,५०० जनाको मृत्यु भएको उल्लेख गरेको छ । २०१० देखि २०१६ सम्म विश्वव्यापी रूपमै स्थिर प्रगति देखिएकोमा २०१९ सम्म आइपुग्दा दादुराका बिरामीको संख्यामा वृद्वि भयो।
दादुराको कारणले हाल सम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष २०१६ को तथ्यांकलाई २०१९ को तथ्यांकसँग तुलना गर्दा बिरामीको संख्या र मृत्यु दुबै बढ्नुको प्रमुख कारण दादुरा रोकथामको लागि आवश्यक खोपहरू (एमसिभी १ र एमसिभी २) समयमा दिन नसक्नु भएको उल्लेख छ ।
खोप के हो , यसले कसरी काम गर्छ ?
बितेको शताब्दीमा खोपले करोडौँ मानिसको ज्यान जोगाएको छ। तर पनि कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्दो रहेको बताउँछन्।
यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यति चिन्तित छ कि उसले यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको छ।
खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे।
दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाए। “भ्यारियोलेसन“ भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस्।
आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ’काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे निकै अध्ययन गरे।
बिफर अत्यन्त संक्रमक रोग थियो जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो। बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपर्थ्यो। सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरे।
ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए। लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा प¥यो। जब फिप्स सो रोगबाट निको भए तब जेनरले उनलाई बिफरको पनि सम्पर्कमा पु¥याइदिए। तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो। सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति भयो। ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भयो।
२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।
सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ ।










