न्यायको लडाइँमा आमाहरू रुकुम घटनाको एक वर्ष

‘न्याय पनि नबगाउलान् भन्न सकिँदैन’ – उर्मिला विक (नवराजकी आमा)

‘मेरो छोरोलाई त्यसरी लखेटी–लखेटी मार्दा कति आमा भन्या हुँदो हो ? ’, उर्मिला भक्कानिँदै गर्दा उनका भिजेका आँखामा डर थियो– छोरासँगै कतै न्याय पनि मर्ने हो कि ?

‘ज्यामी काम गर्दै खाई–नखाई छोरो हुर्काई–बढाई गर्‍यो, बुढेसकालमा यस्तो दिन आउला भनी कहिल्यै सोचेकी थिइनँ,’ यति बोल्दै गर्दा उनको आवाज भास्सिएको थियो । फुङ्ग उडेका कपाल अनि कैयौँ रात नसुतेका ओसिला आँखामा आँसु थामिएका थिएनन् ।

‘आमा मेरा लुगा पनि धोइदिनू है, म खाना पकाउँछु,’ छोरा नवराजले भनेका शब्द उर्मिलाका कानमा अझै गुन्जिरहन्छन् । २०७७ जेठ १० मा बिहान आफैँ खाना पकाउँछु भनेपछि उर्मिला पनि दंग परेकी थिइन् ।

‘आफैँ पस्केरसमेत कहिल्यै नखाने छोरोले पकाउँछु भन्दा फुरुक्कै भएँ, पहिलोपटक छोराले पकाएको खाना खाएकी थिएँ,’ यति भन्दै उर्मिला टोलाइन् । ‘खाना पकाएर खायो, हामीलाई खुवायो तर कहाँ जाने केही नभनी हिँडेको छोरो कहिल्यै नफर्किने गरी गयो,’ उर्मिला बोल्दै गर्दा मेरो मुटुमा गाँठो पर्‍यो । छोराले कथित उपल्लो जातकी केटीसँग प्रेम गर्दा ज्यानै गुमाउनुपर्ला, यस्तो त उनले कल्पनासमेत गरेकी थिइनन् ।

तीन छोरी र एक छोराकी आमा हुन् उर्मिला विक । प्रशासनअगाडि चार महिनादेखि छोराको न्यायका लागि हारगुहार गरिरहेकी वेला उनलाई मैले भेटेकी थिएँ । मान्छे मार्नेहरू खुलेआम हिँडेको देख्दा, आफू लाचार भएर बस्नुपर्दा, छोराको आत्माले शान्ति पाउँदैन भन्ने पिरलो छ उनलाई ।

‘हत्यारालाई कानुनी कारबाही गर्न पाए हामीलाई केही चाहिँदैन,’ उनको अन्तिम इच्छा नै अपराधीलाई कानुनबमोजिम सजाय दिनु हो । ‘विनागल्ती छोरालाई मारेर भेरीमा बगाउन सक्नेले न्याय पनि नबगाउलान् भन्न सकिँदैन,’ एकछिन टोलाएकी थिइन् उनी ।

‘सपना सपनै रह्यो’ – गीता सुनार (टीकारामकी आमा)

‘अपराधीलाई हदैसम्मको कारबाही भए मात्र हाम्रा छोराहरूको आत्माले शान्ति पाउँछ,’ अर्धचेतमै बर्बराउँदै थिइन् गीता । ससुराली गएको छोरो टीकाराम सुनारलाई भेरीमा मारेर फालिएको खबर सुनेदेखि गीता होसमा थिइनन् । अन्तिमपटक फोनमा बुहारी र छोरी लिएर आउने कुरा भएको उनी सम्झिन्छिन् । छोरासँगको यही संवाद अन्तिम होला भन्ने उनले शंकासमेत गरेकी थिइनन् ।

ज्यामी काम गरी परिवार पालेका बुबालाई सघाउन मोबाइल मर्मत पसल खोल्ने योजनामा थिए टीकाराम । उनको योजना अधुरै भयो । ‘हामी ज्याला मजदुरी गरी खाने मान्छे, छोरो कमाउला र दुःख गर्न नपर्ला भन्ने सपना सपनै रह्यो,’ उनले गुनासो पोखिन् ।

छोरा गुमाउनुको चोटबीच छोराको न्यायको लागि लड्नुपर्दा झन् पीडा थपिएको तस्बिर उनका आँखामा छर्लंगै देख्न सकिन्छ । दुई वर्षकी नातिनी अनि कलिली बुहारीको भविष्यले घरिघरि चिमोट्छ उनको मनलाई । ‘परिवारको बाँच्ने आधार त खोसियो नै, नातिनीको भविष्य पनि अन्धकार भयो,’ उनले दुखेसो पोखिन् ।

वस्तुभाउसरी ज्यान फाल्नुपर्ने कहिलेसम्म – लक्ष्मी सुनार (लोकेन्द्रकी आमा)

गाडी दुर्घटनामा श्रीमान्को मृत्यु भयो । परिवार पाल्ने जिम्मेवारी ३९ वर्षकी लक्ष्मी सुनार एक्लैको काँधमा आइप¥यो । उनको काँधमा दुई छोरा र एक छोरीको लालनपालनको दायित्व छ । उनकी कान्छी छोरी पुनम बुबासँगै दुर्घटनामा परेकी थिइन् । गाडी दुर्घटनामा परेर पुनम अपांगताको सिकार भएकी छन् ।

गाउँघरमा दुःखसुखले जीवन निर्वाह गरिरहेकी लक्ष्मीलाई दुई छोराले सघाइरहेका थिए । जेठो छोरा रामबहादुर परिवार पाल्न मलेसिया गए । कान्छो छोरा लोकेन्द्रले जेठ १० मा पश्चिम रुकुमको सोतीगाउँमा भएको सामूहिक हत्याकाण्डमा ज्यान गुमाए ।

श्रीमान् गुमाएको दुई वर्ष नपुग्दै कान्छो छोराको हत्याले लक्ष्मी विक्षिप्त भएकी छिन् । ‘गल्ती नै गरेको भए पनि नियमअनुसार सजाय दिए हुने, मान्छे नै नमारेको भए हुने,’ उनी गुनासो गर्छिन् ।

छोराको न्यायका लागि लक्ष्मी दिनदिनैजसो धाउँदै छिन्, कहिले जिल्ला अदालत, रुकुमको गेटसामु त कहिले जिल्ला प्रशासन अगाडि । उनी दोषीहरूलाई सजायको माग गर्दै रुकुम नरसंहारमा सन्तान गुमाएका आमाहरूसँगै कुद्न छाडेकी छैनन् । ‘गाडी दुर्घटनामा श्रीमान्को क्षतविक्षत् शव बिर्सन नपाउँदै छोराको बीभत्स लास देख्नुपर्दा संसारकै अभागी मै हुँ जस्तो लाग्यो,’ लक्ष्मीले भनिन् ।

भेरीमा नवराजको शव भेटियो भनेपछि लक्ष्मीले लोकेन्द्रलाई सम्पर्क गर्न खोजिन्, सोधखोज गरिन्, तर कतै केही पत्ता लगाउन सकिनन् । नवराजको शव भेटिएको चार दिनपछि लोकेन्द्रको शव पनि भेटियो । शव कति क्षतविक्षत् थियो भने चिन्नै नसकिने १ लक्ष्मीले आफैँले जन्माएको सन्तानलाई सहजै चिन्न सकिनन् ।

लक्ष्मी शव भेटिएको ठाउँमा लड्दै घिस्रिँदै पुगेकी थिइन् । आफ्नो छोराको शव देख्नेबित्तिकै बेहोस भइन् । ‘आफैँले जन्माएको छोराको अनुहारसमेत चिन्न नसक्ने म कति अभागी आमा हुँ,’ भक्कानिइन् उनी ।

‘छोरालाई अंगभंग हुने गरी मारे, अझ यौनांगसमेत काटेर मारे,’ यति भन्दाभन्दै उनका आँसुले भरिएका आँखामा हेर्न सकिनँ । ‘दलित भएकै कारण वस्तुभाउजसरी ज्यान फाल्नुपर्ने कहिलेसम्म रु न्यायका लागि रोइकराई गरिरहने कहिलेसम्म रु’ उनका प्रश्नको जवाफ स्वयं खोज्दै छु ।

‘नातिले ‘बाबा खोइ’ भन्दा मुटु नै गाँठो पर्छ’ – सविता विक (सन्जुकी आमा)

सविता विकले गाउँको चलनअनुसार छोराको बिहे गरिदिएकी थिइन् । छोरा–बुहारीबाट नाति पनि छन् । नातिको चौथो जन्मदिन मनाउने तर्खरमा थियो विक परिवार । छोराको भन्दा नातिको मायाले फुरुंग हजुरबुबा बलराम विक र हजुरआमा सविता विक जन्मदिनको तयारीमा थिए ।

‘छोराको जन्मदिन मनाउन नपाई हामीलाई छाडेर गयो,’ बोलिन् सविता । सन्जुको सपना थियो– सैनिक बन्ने । घरमा उनकी दिदी पनि सेनामा छिन् । उनीसँगै हत्या भएको छ उनको सपना पनि । मृतक सन्जुकी २० वर्षकी श्रीमती छन् ।

‘नाति छ, उसले ‘बाबा खोइ’ भन्दा मुटु नै गाँठो पर्छ,’ भक्कानिइन् सविता । छिनछिनमा मुर्छा पर्ने बुहारीलाई सम्हाल्न खोज्दा आफैँ मुर्छिन्छिन् । ‘बालख बुहारीको काखमा अर्को बालख देख्दा झन् मुटु निचोरिन्छ,’ उनलाई पिर नै यही छ । ‘बुढेसकाल लाइसकेका हामी कति नै बाँचौँला, मलाई पिरलो यही बुहारी र नातिको भविष्यको छ,’ अत्तालिन्छिन् उनी ।

‘कसरी छाती कठोर बनाई बाँच्नुपर्छ, हामीलाई सोध्नू – भीमाकुमारी शाही (गोविन्दकी आमा)

आफ्नो आँखाबाट केहीछिन मात्र सन्तान ओझेल परे भने आमाहरू कति छट्पटिन्छन्, लेखाजोखा नै गर्न सकिँदैन । रुकुम नरसंहारमा मारिएका युवा गोविन्द शाहीकी आमा भीमाकुमारी शाही रुकुम नरसंहार भएको दश दिनसम्म छोरा फर्किने आसमा रोएर बसिन् । ‘दश दिनसम्म छोरा घरमा नहुँदा मलाई कसरी निन्द्रा पर्नु,’ बोलिन् उनी, ‘तैपनि कतै जंगलमा लुकी बसेको छ कि भनी रातदिन खोजी गरेँ ।’

जेठ ११ मा रुकुम सोती घटनामा नवराजको शव भटियो भन्ने थाहा पाइएपछि उनको मनमा पनि चिसो पस्यो । गाउँ, जंगल, भेरी वारिपारि चारैतिर खोजी गर्न भनिन् । ‘तर अहँ, कान्छो छोरो गोविन्द कहीँ कतै फेला परेन,’ बोल्दै गर्दा रोकिइन् उनी ।

सोती घटनाबाट ज्यान बचाएर फर्केका घाइतेहरूका हुलमा गोविन्द होला भन्ने आशामा खोज्न गइन्, तर भेटिनन् । ‘डरले जंगलमा लुकेर बसेको छ कि भनी त्यता पनि खोज्न पठायौँ । तर, मेरो छोरो भेटिएन, माटोमा गाडिसक्या रहेछन्,’ उनले भनिन् ।

‘पाँचजना केटाहरूलाई मारी फाल्याछन् भन्ने थाहा पाउँदासम्म पनि छोरो जिउँदै फर्किन्छ भन्ने लाग्या थियो,’ गहभरि आँसुसहित बोलिन् उनी । तर, रुकुम नरसंहारको दश दिनपछि गोविन्दको पनि शव भेटियो । अन्यायपूर्वक मारिएका छोराहरूका लागि न्याय माग्न भीमा अर्धचेत अवस्थामै पनि कुदिरहिन्, प्रहरी प्रशासनमा । ‘कुनै अपराधविना कसैले छोरो मारी फालिदिँदा कसरी छाती कठोर बनाई बाँच्नुपर्छ, रुकुम नरसंहारमा सन्तान गुमाएका हामी आमालाई सोध्नू,’ यति बोल्दै गर्दा उनका आँखामा आक्रोश देखिन्छ ।

अपराधीले मुक्ति नपाऊन् – राधिका बुढामगर (गणेशकी आमा)

रुकुम नरसंहारमा नवराजसँगै मारिएका अर्का युवा हुन् गणेश बुढामगर । खलंगास्थित रानागाउँमा भाडामा बस्ने बुढामगर दम्पती मजदुरी गर्छन् । मृतक गणेश बुढामगरकी आमा हुन् राधिका बुढामगर । एक दशकभन्दा बढी समयदेखि ज्यामी कामले घर–परिवारको व्यवहार मिलाउँदै आएकी राधिकाका दुई सन्तान थिए । गणेश उनका कान्छा छोरा थिए, जो आमा–बुबाको दुःखमा साथ दिन सैनिक बन्ने सपना बुन्दै थिए । राधिका छोराको सपना घरिघरि सम्झिन्छिन् र छोरासँगै सपनाको हत्यामा दुःखमनाउ गर्छिन् ।

बिहान–बेलुका अरूकोमा ज्याला मजदुरी गरेर दुःखसुखले बाँचेको परिवार अहिले बाँच्नु र मर्नुको अवस्थामा छ । सबैभन्दा विक्षिप्त छिन्, मृतक गणेश बुढामगरकी आमा राधिका । उनी जुधिरहेकी पनि छिन्, मिलेर छोराको बीभत्स हत्या गर्ने अपराधीहरूलाई सजाय दिन । अपराधीहरूले उन्मुक्ति नपाऊन् भनी छोराको न्यायका लागि आवाज उठाउँदा घाइतेसमेत भएकी छिन् ।

राधिकाहरू रुकुम नरसंहारमा मारिएका युवाहरूको शवको पोस्टमार्टम रिपोर्ट गलत भएको भन्दै विरोधमा उत्रिएका थिए । विरोध प्रदर्शनका क्रममा राधिकाले पनि प्रहरीबाट कुटाइ खाएकी थिइन् । उनको टाउको र हातमा चोट लागेको थियो । शरीरमा लागेको चोट त आजसम्म निको भइसक्यो, तर मुटुमा लागेको गहिरो चोट अझै आलो छ । आलो घाउमाथि सम्बन्धित निकायले नुनचुक छर्ने काम गर्न बन्द भने गरेको छैन । राधिकालाई पिर छ, छोराको हत्यारालाई कानुनी कारबाही हुँदैन कि, न्यायलाई पनि किन्छन् कि ?





error: Content is protected !!