पारदर्शितामा जोड दिएका छौँ’ काइके गाउँपालिका अध्यक्ष -अङ्गदकुमार राना

डोल्पा जिल्ला नेपालकै ठूलो, कठिन भूगोल अनि विकासमा पछाडि परेको जिल्ला हो । यस जिल्लाको काइके गाउँपालिका जिल्ला सदरमुकाम दुनैसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकामसँग सिमाना जोडिएको भए पनि विकास निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पछाडि परेको छ । स्थानीय तहको निर्वाचन भएको चार वर्षको अवधिमा यस गाउँपालिकाले विकास निर्माण र शिक्षा क्षेत्रमा अपेक्षित सुधार गरेको बताइन्छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उक्त गाउँपालिकाको अध्यक्षमा अङ्गदकुमार राना निर्वाचित हुनुभयो । कलिलो उमेरमै स्थानीय सरकारको नेतृत्वमा पुगेका रानाले गाउँपालिकाको समग्र विकास र आर्थिक पारदर्शितालाई पहिलो शर्त बनाएको बताउनुहुन्छ । यसै सन्दर्भमा अध्यक्ष रानासँग गरिएको कुराकानी ः

 स्थानीय तहमा निर्वाचित भएको चार वर्षको अवधिमा के के काम गर्नुभयो ?

स्थानीय तहमा निर्वाचित हुँदा गाउँपालिकाको संरचना नयाँ थियो र हामीसँग अनुभव पनि थिएन । सुरुका वर्षमा व्यापक छलफल गर्दै, अनुभवी व्यक्तिहरूसँग सरसल्लाह गर्दै र सङ्घीय कानुन मन्त्रालयको सहजीकरणमा विभिन्न ऐन नियम, विधि तथा कार्यविधि निर्माण गर्दै विकासका काम सुरु गरियो । आर्थिक पारदर्शितालाई पहिलो शर्त बनाएर विकासका कामहरू गरिरहेका छाँैं । आर्थिक पारदर्शिताबिना केही पनि हँुदैन भन्ने सोचका साथ यो नारा अगाडि सारेर विकासका काम थालेका थियौँ र अहिले विकास निर्माण पनि गरिरहेका छाँै । हामीसँग माध्यमिक तहको पढाइ हुने विद्यालय थिएन । पालिकामा माध्यमिक विद्यालयको स्थापनासँगै सञ्चालन गरीे विद्यालयमा प्राविधिक धारको कम्प्युटर शिक्षासमेत सञ्चालन गरेका छौँ । विभिन्न विद्यालयको भौतिक संरचना निर्माण, मर्मत सुधार गरेका छौँ । पानीको दुःख भएको गाउँमा घरघरमा पानीका धारा जडान गरी खानेपानी उपलब्ध गराइएको छ । साना जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पूरा गरी कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ ।गाउँपालिकाभित्र सडक सञ्जाल विस्तारको काम धमाधम भइरहेको छ ।

स्थानीय बासिन्दाको स्वास्थ्यमा सुधार र वनजङ्गल तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ सुरुमा धुवाँरहित चुलो र यो चालू आर्थिक वर्षमा ग्याँस र ग्याँस चुलो वितरण गरिएको छ । एक घर/ एक करेसाबारी नाराका साथ कृषिलाई महत्वका साथ अगाडि बढाइएको छ । फलफूल खेतीलाई व्यवसायिक बनाइ सामूहिक फलफूल खेती सुरु गर्न लगाइएको छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरूको विकास र सुधारका काम गरेका छौँै । गाउँपालिकाभित्रका युवालाई स्वरोजगारी सिर्जना गर्नका लागि विभिन्न सीपमूलक तालिम दिँदै अध्ययनका लागि छात्रवृत्तिसमेत दिइएको छ ।

-तपाइँ निर्वाचित हुनुअघि गापाको अवस्था कस्तो थियो त ?

त्यसअघि स्थानीयस्तरमा योजना निर्माण हुँदैनथ्यो । खानेपानीको समस्या थियो, विद्युत् थिएन, मोटरबाटा थिएनन् । विद्यालयका भौतिक संरचना कमजोर थिए । ऐन, नियम तथा विधि/  कार्यविधि निर्माण भएका थिएनन् । एक्काइसाँै शताब्दीमा पनि गाउँपालिकाभित्र आधारभूत तहसम्म मात्र अध्ययन हुने विद्यालय थिए । स्वास्थ्यसम्बन्धी संस्था पनि कम थिए । स्थानीय बासिन्दा स्वास्थ्यको पहुँचभन्दा बाहिर थिए ।

– आफ्नै कामको समीक्षा कसरी गर्नुहुन्छ । काम गराइबाट के कति सन्तुष्ट हुनुहुन्छ ?

कठिन भूगोल, न्यून चेतनास्तरका नागरिक भएका ठाउँमा विकासका काम सम्पन्न गर्नु आफैँमा सुखद पक्ष हो । पहिलो कुरा गाउँपालिकाभित्र हुने सबै विकास योजनामा आर्थिक पारदर्शिताको विधि अवलम्बन गरिएको छ । त्यसैले गाउँपालिकाभित्र हुने सबै विकास निर्माणका काम गुणस्तरीय भएका छन् । हामीलाई मतदाताले विश्वास गरेका छन् । आन्तरिक स्रोतबाट गरिएका विकासका कामहरू बिना झन्झट सम्पन्न भएका छन् । गाउँपालिकाले गरेका काममा म धेरै सन्तुष्ट छु ।

– बजेट खर्चअनुसारको उपलब्धि प्राप्त भएको छ त ?

चार वर्षको अवधिमा हामीले विकास बजेट मात्रै करिब २८ करोड रुपियाँ खर्च गरेका छाँैं । आर्थिक पारदर्शिता पहिलो शर्त’को नारासहित विकास र साधारण खर्चका काम गरिरहेका छौंँ । त्यसैले गाउँपालिकामा उपलब्ध बजेटअनुसारका योजना निर्माण गरी उक्त बजेटको सदुपयोग गरेका छौंँ । हाम्रो बजेटअनुसार गाउँपालिकाभित्रका विकासमा राम्रो उपलब्धि भएको छ । केही योजना निर्माण भइरहेकाले सम्पन्न हुने क्रममा छन् । मोटरबाटोमा गाडी चलेपछि, विद्यालयमा विद्यार्थी पास भएपछि, फलफूल खेतीबाट फल उत्पादन भएपछि, जलविद्युत् योजनाबाट विद्युत् उत्पादन भई जनताले प्रयोग गर्न थालेपछि मात्र हामीले गरेका कामको उचित मूल्याङ्कन हुनेछ ।

-यो अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

पहिलो कुरा हाम्रो समुदायको चेतना कस्तो छ भन्ने हो । यही चेतनाले नै काममा सहयोग/ असहयोग गर्छ भन्ने अनुभव गर्न पाइयो । सङ्घीय शासन प्रणालीअनुसार स्थानीय सरकार सञ्चालनको सुरुवाती चरण भएकाले ऐन, नियम, विधि, कार्यविधि निर्माण नभएकाले र कर्मचारीहरूको अभावका कारण काममा निकै समस्या भयो । कर्मचारी अभावको समस्या अहिले पनि झेलिरहेका छौंँ । यसले विकास निर्माण तथा प्रशासनलगायतका काम समयमा सम्पन्न गर्न समस्या भइरहेको छ । यही नै प्रमुख चुनौती हो । अर्को भौगोलिक विकटताले काममा कठिनाइ भइरहेको छ । त्यस्तै ढुवानी खर्चले निर्माण सामग्री महंँगो हुँदा विकासका काममा प्रभाव परिरहेको छ ।

– प्रदेश तथा सङ्घीय सरकारसँग विकासका काममा समन्वय छ ?

यसमा हाम्रो गाउँपालिकाको मात्र होइन सबै स्थानीय तहको समस्या र अनुभव उस्तै होला । सङ्घीय सरकारले स्थानीय सरकारमार्फत काम गरेको छ । विकासका लागि आवश्यक विधि ÷कार्यविधि पठाइदिएको छ । प्रदेश सरकारले जिल्लामा आफैँले कार्यालय राखेर काम गरेको छ , समन्वयमा तालमेल मिलेको छैन । गाउँपालिकाबाट छनोट गरी पठाइएका भन्दा फरक योजना आउने गरेका छन् । स्थानीय तहसँग समन्वय कमजोर बनाउने काम भएको छ । प्रदेश सरकारसँग समन्वयमा कमजोरी भएको छ । यसलाई सुधार गर्नुपर्छ ।

–  कोरोना रोकथामका लागि गाउँपालिकाबाट के कस्ता काम भइरहेका छन् ?

कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारले गरेको निषेधाज्ञा गर्दै सङ्क्रमित हुन नदिने र समस्यामा परेका नागरिकलाई उद्धार गर्ने कामलाई प्राथमिकता दिइयो । क्वारेन्टाइन व्यवस्थापनमै बजेट र समय खर्च गर्नुप¥यो । गाउँपालिकाभित्र कोरोनाविरुद्ध सचेतना फैलाउने, नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारका व्यवहार गर्न÷गराउन सचेतना अभियान सञ्चालन गरियो । यस्तै, कोरोना रोकथाममा प्रयोग हुने औषधि, मास्क, सेनिटाइजरलगायतका विभिन्न स्वास्थ्य सामग्री खरिद गरी वितरण गर्ने काम ग¥यौँ । दोस्रो लहरमा पनि ती काम गरिरहेका छाँैं ।

– बाँकी अवधिमा कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ?

समुदायको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएका विभिन्न योजना पूरा गर्नेगरी काम तीव्र गतिमा अगाडि बढाउँछौँ । सुरु भएका तर सम्पन्न नभएका विकास निर्माणका अधुरा काम पूरा गर्ने योजनामा छौंँ ,

विष्णुलालब बुढाको सहयोगमा तयार पारिएको सामग्री ।

 





error: Content is protected !!