प्लाज्मा थेरापी ः कति ठीक ? कति बेठीक ?

काठमाडौं ः कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ ।

साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ ।

तर यी दुवै औषधि सीमित अवस्थाका बिरामीलाई मात्र दिइन्छ । सबैले उपयोग गर्न उचित हुँदैन पनि र कतिपय अवस्थामा उल्टो हानि गर्ने सम्भावना हुन्छ ।

आइभरमेक्सिन जस्ता औषधि भने दिनुहुँदैन । केही समय पहिले काम गर्छ कि भनिएको भए पनि अहिले अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशन (एफडीए) जस्ता संस्थाले यो वर्जित गर्नुपर्छ भनेको छ । यसले फाइदाभन्दा हानि गर्छ ।

नेपालमा कोरोना उपचार गर्ने क्रममा प्लाज्माथेरापीको प्रयोग जनस्वास्थ्यमाथि ठूलो खेलबाड भएको छ । यसको बारेमा केही विस्तारमा बुझ्नु आवश्यक छ । अहिले सामाजिक सञ्जाल लगायतका क्षेत्रमा व्यापक रूपमा प्लाज्माको माग भएको र सोही अनुरूप प्रायः बिरामीले पाएसम्म प्लाज्माको प्रयोग गरेको जस्तो देखिन्छ ।

रगतमा रक्त कोषिका र प्लाज्मा गरी दुई प्रमुख तत्व हुन्छन् । प्लाज्मा भनेको रक्त कोषिका बाहेकको पानीजन्य पदार्थ हो । जसमा पानीमा मिश्रित प्रोटिन, साइटोकाइन, लवण लगायतका वस्तु हुन्छन् । अर्थात् यो रगतको कोषिका बाहेकको तरल तत्व हो ।

कन्भालेसेन्ट प्लाज्मा भनेको कोरोनाभाइरसको संक्रमणपश्चात निको भएका वा पूर्ण खोप मात्रा पुर्‍याएका व्यक्तिको रगतबाट प्राप्त प्लाज्मा हो । यो प्लाज्मामा कोरोनाभाइरस विरुद्ध काम गर्ने एन्टिबडीहरू हुन्छन् । तसर्थ पूर्ण निको भएका व्यक्तिको कन्भालेसेन्ट प्लाज्मा संक्रमित व्यक्तिलाई दिएको खण्डमा भाइरस निस्तेज पारेर निको पार्न सकिन्छ भन्ने विश्वास हो ।

चुनौती

भाइरस निस्तेज पार्ने एक प्रकारको एन्टिबडीलाई न्युट्रालिजिङ एन्टिबडी भनिन्छ । अर्थात् यस्ता एन्टिबडीले भाइरसलाई निस्तेज पारिदिन्छन् । सबै संक्रमितले एउटै न्युट्रालिजिङ क्षमता भएका एन्टिबडी बनाउँदैनन् । सबैले एउटै परिमाणमा पनि बनाउँदैनन् । अर्थात् व्यक्ति–व्यक्तिमा यस्ता एन्टिबडीको मात्रा र प्रभावकारिता फरक–फरक हुन्छ । फेरि यो एन्टिबडीको मात्रा संक्रमणपछिको समयमा उतारचढाव हुन्छ ।

केही व्यक्तिमा लामो समयसम्म रहन्छ भने केही व्यक्तिमा शीघ्र नै यसको मात्रा घट्छ । अर्थात् प्लाज्मा लिएको खण्डमा त्यसको एन्टिबडी मात्रा कति छ भन्ने निर्क्योल गर्न थप परीक्षण गर्नुपर्ने हुन्छ ।

परीक्षण गर्दा पनि अर्को समस्या परीक्षण गर्ने विधिमा छ । ल्याबमा परीक्षण गर्दा देखिने प्रभावकारिता र वास्तविक भाइरस निस्तेज पार्नसक्ने क्षमतामा थुप्रै असमञ्जस्य फेला परेका छन् । ल्याब परीक्षण गर्दा उल्लेख्य परिमाणमा कोरोना विरुद्धको एन्टिबडी भेटिए पनि वास्तवमा सो प्लाज्मा भाइरस निस्तेज पार्न प्रभावकारी नभएको पनि पाइएको छ ।

ल्याब परीक्षणमा त्यति किफायती नदेखिएको प्लाज्मा भाइरस निस्तेज पार्न किफायती पनि पाइएको छ । अर्थात् वास्तविक भाइरसमाथि परीक्षण नगरिएसम्म प्लाज्माको किफायतीपन ठोस निर्क्योल गर्न सकिन्न । तर वास्तविक भाइरसमा सो परीक्षण गर्न उच्च सुरक्षा प्रयोगशाला (लेबल–३) मा लामो समय परीक्षण गर्नुपर्ने हुन्छ, जुन नेपालमा सम्भव छैन । तसर्थ ठोस निर्क्योल नगरी गरिएको प्लाज्मा उपचारले काम गर्छ भन्ने ग्यारेन्टी हुँदैन ।

बेफाइदा

पहिलो कुरा त प्लाज्मा दिंदा उचित सावधानी अपनाउन सक्ने हो भने रगतका माध्यमबाट सर्ने अन्य भाइरस र रोग सर्ने सम्भावना प्रबल रहन्न । सावधानी नअपनाउँदा एचआईभी, हेपाटाइटिस सी, हर्पिसलगायतका विभिन्न भाइरस सर्ने जोखिम हुन्छ । तर सबैभन्दा ठूलो डर त नयाँ प्रकारको भाइरसको उत्पत्ति हुन्छ भन्ने हुन्छ ।

कोरोना र मानवको लडाइँ एउटा बक्सिङ्ग म्याच जस्तो मान्ने हो भने हाम्रो प्रयास सटिक प्रहार गरेर नकआउट पार्ने हुनुपर्छ, तर अहिलेको जथाभावी प्रयोग भनेको सिकारु खेलाडीहरू पठाएर कोरोनालाई प्रशिक्षित गराएको जस्तो हुनजान्छ
कसरी ?

कोरोनाभाइरस आफैंमा परिवर्तन भइराख्ने भाइरस हो । आक्कलझुक्कल भाइरसको जिन कपी गर्दा हुने गल्तीले गर्दा समय–समयमा यसको जिनको बनोटमा सानोतिनो परिवर्तन आइराख्छ । तैपनि अन्य भाइरस भन्दा यसको जिन कपी गर्ने संजाल किफायती हुने हुँदा यो तुलनात्मक रूपमा अन्य आरएनए भाइरसभन्दा कम परिवर्तनशील छ । यस्तो परिवर्तनले विस्तारै भाइरसको गुणमा पनि परिवर्तन ल्याउँछ ।

तर भाइरसले कुनै प्रकारको अवरोध खेप्नु परेको खण्डमा भने यिनै म्युटेशनहरू भाइरसको सहयोगी बन्न पुग्छन् । मानिसको प्रतिरोध क्षमता वा कुनै औषधिको प्रयोग, अन्य केही कारकले शुरुआती भाइरसको विस्तारमा अवरोध पुग्न गएमा यस्तै यस्तै म्युटेशनमध्ये कुनै एक भाइरस सो अवरोध पार गर्न सक्ने हुन्छ ।

त्यस्तो भएको खण्डमा सोही भाइरस प्रतिरोधी क्षमतासहितको नयाँ भेरियन्ट बनेर निस्किन्छ । विशेषगरी यस्तो अवरोधहरू भाइरसलाई निमिट्यान्न पार्न नसक्ने केवल सानोतिनो अवरोध मात्र गर्ने खालको भएको खण्डमा नयाँ भाइरस बन्न सहयोगी हुन जान्छन् ।

अहिलेसम्म अपवाद बाहेक कोरोना संक्रमण भएका व्यक्तिहरू सबै नयाँ संक्रमित हुन् । कुनै पनि संक्रमितमा पूर्ववत् कोरोना विरुद्धको प्रतिरोध क्षमता थिएन । तसर्थ कोरोनाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा खासै प्रतिरोधको सामना गर्न परेन । अहिलेसम्म जे–जति पनि म्युटेशन भएर भेरियन्ट देखिएका छन् ती सबै आफसेआफ उत्पन्न भएका हुन् र यो भाइरस अझै मानिसको प्रतिरोध क्षमताविरुद्ध लड्ने गरी विकसित हुन पुगेको छैन । जे–जति पनि आक्रामक वा प्रतिरोधी देखिएको छ त्यो साधारण मात्र हो ।

अब पूर्ण रूपमा किफायतीपन निर्धारण नगरिएको प्लाज्मा प्रयोग गर्दा त्यो प्लाज्माले भाइरस ठ्याक्कै पूर्ण रूपमा निस्तेज पार्ने सम्भावना न्यून हुन्छ । अझ प्लाज्मा त बिरामी गम्भीर हुन लागेको बेलामा जतिबेला शरीरमा भाइरसको संख्या अत्यधिक हुन्छ त्यतिबेला खोज्ने गरिएको छ । यस्तो अवस्थामा प्लाज्माको प्रयोगले भाइरसका ती भेरियन्टलाई फैलिन मद्दत गर्छ, जसले यो प्लाज्मामा रहेका एन्टिबडीबाट उम्कन सक्छन् । अहिले खोप समेत यही पुरानै स्पाइक प्रोटिनमा आधारित भएर निर्माण गरिएको छ । यस्तो अवस्थामा बनेका भाइरसले अहिले बनेका खोप समेत अप्रभावकारी बनाइदिने ठूलो सम्भावना रहन्छ ।

व्याक्टेरियाको विरुद्ध एन्टिवायोटिक खाँदा पनि त्यही भएर पूर्ण मात्रा पूर्ण समय सेवन गर्नुपर्छ भनिएको हो । त्यति हुँदाहुँदै पनि मात्रा र समयको पूर्ण पालन नगरिदिंदा एन्टिवायोटिक रेजिस्टेन्ट व्याक्टेरियाको ठूलो चुनौती छ । विभिन्न भाइरसका विरुद्ध किफायती केही एन्टिभाइरल औषधि पनि यसैगरी काम नलाग्ने भएका छन् । यसरी नै अप्रमाणित प्लाज्मा प्रविधि जथाभावी कोरोनाको उपचारमा प्रयोग गर्दा उल्टो हामीले खतरनाक भेरियन्ट पैदा गर्ने सम्भावना प्रबल हुन्छ ।

यही कुरा रेम्डिसिभिरमा पनि लागू हुन्छ । यो औषधि पनि केही निश्चित बिरामीहरूको लागि निश्चित परिवेशमा मात्रै उपयुक्त हुन् । तैपनि यसको किफायतीपन भनेको खाली केही दिनले अस्पताल बसाइ छोट्याउनेमै सीमित छ । यसको प्रयोगले मृत्युदर घटाउने देखिएको छैन । तर जथाभावी मात्रा नपुर्‍याई, जति पाइन्छ त्यति प्रयोग गरिहालुँ भन्ने मानसिकताले चाँडोभन्दा चाँडो भाइरसको प्रकोप बढ्ने निश्चित छ ।

उदाहरणको लागि, कोरोना र मानवको लडाइँ एउटा बक्सिङ्ग म्याच जस्तो मान्ने हो भने हाम्रो प्रयास सटिक प्रहार गरेर नकआउट पार्ने हुनुपर्छ, तर अहिलेको जथाभावी प्रयोग भनेको सिकारु खेलाडीहरू पठाएर कोरोनालाई प्रशिक्षित गराएको जस्तो हुनजान्छ । सिकारुले एक–दुई मुक्का त हान्लान् तर कालान्तरमा उल्टो कोरोनालाई थप शक्तिशाली बनाउँछ ।

प्लाज्मा थेरापी ट्रायलको नतिजा

प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल अमेरिकाको मेयो क्लिनिकमा गरिएको थियो । सो परीक्षणले उचित मात्राको गुणस्तरीय एन्टिबडी भएको प्लाज्मामा निश्चित मात्रा पुर्‍याएर प्रयोग गरेको खण्डमा संक्रमणको शुरुआती चरणमा जोखिम समूहमा रहेका व्यक्तिलाई उपचार गर्न सकिने निर्क्योल गरेको हो । अझ नियामक संस्था एफडीएले प्लाज्मा थेरापी प्रयोग गर्दा क्लिनिकल ट्रायलकै रूपमा पूर्ण रेकर्ड राखेर, उचित रूपमा एन्टिबडीको अध्ययन गर्दै, सकिन्छ भने एकरूपता ल्याउन पुलिंग गरेर अनि उचित केसमा मात्रै प्रयोग गर्ने भनेको छ ।

अहिलेको जस्तो उपचारकै लागि प्लाज्मा निकाल्दै संक्रमितलाई दिंदै गर्ने अभ्यास कुनै पनि रूपमा वैज्ञानिक छैन ।

राज्यले के गर्नुपर्छ ?

० सरकारले जथाभावी प्लाज्माको उपभोगमा अंकुश लगाउन जरूरी छ ।

० सकिन्छ भने पुलिंग गरेर राष्ट्रिय स्टक बनाउने, सो स्टकको उचित परीक्षण गराएर प्रयोग गर्ने मात्रा निर्क्योल गर्न उचित हुन्छ ।

० निश्चित अस्पतालमा उचित तथ्यांक संकलनका साथ अनुभवी स्वास्थ्यकर्मीको नेतृत्वमा क्लिनिकल ट्रायल गर्ने ।

० कस्ता बिरामीले कुन अवस्थामा प्रयोग गर्ने भनेर उचित र स्पष्ट मापदण्ड विज्ञको सुझावमा बनाउने ।

० रक्तजन्य संक्रमणको उचित स्क्रिन भएको छरछैन पूर्ण ग्यारन्टी गर्ने ।

० प्लाज्मा संकलन गरिएको व्यक्तिको उचित र आवश्यक स्वास्थ्य अवस्थितिको पूर्ण ज्ञान राख्ने ।

० अहिले संक्रमण गर्दै गरेको भाइरसको नमूना गुणस्तरीय प्रयोगशालामा पठाएर परीक्षण गराउने ।

भाइरोलोजिस्ट डा सुदीप खड्का  अमेरिकाको मेयो क्लिनिकमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!