पठनपाठनमा जोरबिजोर

जाजरकोट ः कुशे गाउँपालिकाले जोरबिजोर कक्षाअनुसार पठनपाठन सुरु गरेको छ। एक दिन जोर अंक आउने कक्षाको पठनपाठन हुने र अर्को दिन बिजोर अंक आउने कक्षाको पठनपाठन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी बताउँछन्।

उनका अनुसार गाउँपालिकामा कोरोना भाइरस संक्रमण जोखिम नभएपछि पठनपाठन सुरु गरिएको हो। यहाँका नागरिक कसैमा पनि कोरोना देखिएको छैन। त्यही भएर विद्यार्थी र अभिभावकको आग्रहमा विद्यालय खोलेर पठनपाठन सञ्चालन गरिएको गिरीको भनाइ छ। उनका अनुसार गाउँपालिकामा शिक्षण सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक पठनपाठनका माध्यम तथा साधन नभएका कारण यही असोज ११ गतेदेखि विद्यालय खोलेरै पठनपाठन थालिएको हो।

जनता मावि पैकमा कक्षा १० मा अध्ययनरत आस्था सिंह लामो समयपछि पठनपाठन हुन थालेकोमा खुसी लागेको बताउँछिन्। ‘आधुनिक सञ्चारका साधन नभएको गाउँमा सरहरूको गाइड बिना घरमा एक्लै पढ्न गाह्रो भइरहेको थियो’, उनी भन्छिन्, ‘प्रत्यक्ष रूपमा पठनपाठन हुन थालेपछि हामीजस्ता दुर्गमका विद्यार्थीका लागि फलदायी भएको छ।’

दूरी कायम गरी पढाउनुपर्ने भएकाले जोरबिजोर प्रणाली लागू गरिएको जनता माविकी प्रधानाध्यापक पार्वती थापा सुनाउँछिन्। कुशे गाउँपालिका सुरक्षित देखिएकाले विद्यार्थी र अभिभावकको आग्रहबमोजिम प्रधानाध्यापक बैठकले स्थानीय सरकारलाई अनुरोध गरेपछि नियमित पठनपाठन सुरु भएको उनको भनाइ छ।

उनका अनुसार लामो समय विद्यालय आउन नपाएका विद्यार्थीले विद्यालय खुलेपछि उत्साहित भएर पठनपाठनमा अग्रसरता देखाउन थालेका छन्। कुशेमा प्राथमिकदेखि माध्यमिक तहसम्मका जम्मा ५३ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी छन्।





error: Content is protected !!