पर्यटन क्षेत्रको विकास र नागरिकको दायित्व

–के.बि.मसाल
विकास भनेको परिवर्तन हो । नेपालको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्रलाई लिने गरिएको छ । पर्यटनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि मात्र होइन समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ । प्रकृति र संस्कृतिमा धनी नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु चिनाउन सजीलो भएको छ । पर्यटन क्षेत्रको बिकास गर्न नेपाल सरकारले देशभरका विभिन्न स्थललाई एक सय एक गन्तब्यका रुपमा घोषणा गरेको छ । तर आधारभूत पूर्वाधार, सेवा सुविधा र प्रवद्र्धन जस्ता विषयहरुमा सरकारले ध्यान भने दिन सकेको छैन ।

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढदै गएको छ । पर्यटन क्षेत्रको विकासको लागि देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गर्नु पर्दछ । पर्यटनलाई मुलुकको आर्थिक विकासको आधारमा ग्रामीण तहसम्म विकास भयो भने मात्र ग्रामणि क्षेत्रमा बिकास हुन्छ । अबको विकासमा संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्दधन गर्न आवश्यक छ । मुलुकको आर्थिक सम्वृद्धि हासिल गर्नका लागि नागरिक समाजको भूमिका आवस्यकता पर्दछ । विश्वका कैयौं देशहरुमा भौतिक उन्नति, सामाजिक परिवर्तन र आर्थिक समुन्ययनतर्फ नागरिक समाजको भूमीका रहेको हुन्छ । नेपालमा पनि अब नागरिक समाजको दायित्व थपिएको छ ।

नेपालमा पर्यटनको इतिहासमा नागरिकहरुले पर्यटकहरुलाई सहयोग गर्दै आएका छन । चाहे तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गर्दा होस अथवा अन्य पर्यटनको गतिबिधिमा होस पर्यटन ब्यवसायीहरुको भन्दा फरक सेवा नागरिकहरुबाट हुदै आएको छ । हिमाल आरोहण गर्दा हरायका पर्यटक खोज्दा मात्र नभएर बाढी पैरो र प्राकृतिक विपदको बेला भ्रमण रहेका पयंटकहरुलाई नागरिकहरुले आफ्नो दायित्व मानि पर्यटकहरुलाई आवस्यक पर्ने सेवा दिदै आएका छन् । नेपाल भित्रिनी पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा नागरिक समाज बोल्ने गरेको छ । त्यस्तै निजी व्यवसायीहरुबाट पर्यटक ठगीनु, विभिन्न व्यक्तिहरुबाट पर्यटकहरु लुटिदा पनि नागरिक समाजले बोल्ने गरेको छ । पर्यटनको बिकासमा संघिय सरकार र पर्यटन ब्यवसायीहरुको प्रयासले मात्र सम्भव नहुने हुँदा यसमा नागरिक समाजको धेरै दायित्व हुन्छ । यसमा प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै साथ सहयोगको खाँचो रहन्छ ।

नेपालमा २०६२ र ६३ को जनआन्दोलनमा लोकतन्त्र प्राप्तिको लागि सडकमा धर्ना, जुलुस, भाषण गर्दै मुलुकको राजनीतिक रुपान्तरणमा अगुवाईको भूमिका खेलेको नागरिक समाजले अब पर्यटनको क्षेत्रको विकास र आर्थिक रुपान्तरणको लागि पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएको छ । किनकी पर्यटनको क्षेत्रमा नागरिक समाजको भूमीका रहन्छ । नागरिक समाज सरकारभन्दा बाहिर रहने गैरराजनीतिक, गैर मुनाफामुखी स्वयंसेवी संस्था हो । सरकारको नागरिक प्रति जुन दायित्व रहन्छ‚ त्यस्तै दायित्व नागरिक समाजको पनि हुन्छ । मुलुकको हितका लागि नागरिक समाजको दायित्व हरेक क्षेत्रमा हुने गर्दछ । अहिले देशमा लोकतन्त्र आएको छ । लोकतन्त्रको विषयमा फेरी बहस, पैरवी गर्दै नागरिक समाज हिडन जरुरी छैन । फेरी नागरिक समाज भन्ने बित्तिकै शहर बजारको चोक र सार्वजनिक मञ्चमा भाषण गर्दै हिंडने जमात मात्र पनि होइन । नागरिक समाज संगठित वा असंगठित रुपमा हरेक बस्तीमा, टोलमा, गाउँमा सिंगो समुदाय, समाजलाई प्रभाव पार्ने मुद्धाको वकालत गरिरहेको हुन्छ ।

नेपालमा पर्यटनको इतिहास

प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणमा निक्कने यात्रीहरुमा फेनोसियनहरुको नाम आउछ । विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको छ  । विश्व पर्यटनका क्षेत्रमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन् १९४३ देखी सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ  । तर नेपालको सन्दर्भमा भने चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पर्यटकको रुपमा आएको विदेशी मानिन्छ ।

राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा स्रोङचनगम्पोसंग बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । स्रोङचनगम्पो सन् ६१७ देखि ६९८ सम्म तिब्बतमा सम्राट भएका थिए । यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटीसग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो पर्यटक मानिन्छ ।

राणाकालिन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७ र ५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए ।

त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो । यो सँगै नेपालमा पर्यटकीय गन्तव्यको समेत चर्चा हुन थाल्यो । अन्नपूर्ण पदयात्रा विश्वमा चर्चित भयो । नेपालको जंगल पर्यटन, बन्यजन्तु पर्यटन, ¥याफटिङ पर्यटनदेखि हिमाल आरोहण गर्ने र टे«किङ पर्यटनले विस्तारै गति लिन थाल्यो । टाइगर टप्सले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गर्यो । पर्यटन बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानसँग मिल्ने व्यवसाय हो । अफ्रिका त के भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगन्य हो । तर, यसलाई एकसिंगे गैंडा र पाटे बाघ देखिने ठाउँका रुपमा प्रचार गरियो । अफ्रिकाको जंगलमा हुलका हुल वन्यजन्तु पाइन्थो भने नेपालमा त्यस्तो हुन्थेन । पर्यटकहरुलाई वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो । यसका कारण विश्वमा नेपाललाई हिमालयको देशसँग विश्वमा लोप हुन लागेको बन्यजन्तु एकै पटकमा हेर्न पाइने भनेर चिनिएको थियो ।

सन् १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसको विरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल/गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो, अहिले नेपाल पर्वतारोहणको केन्द्र, हिमश्रृखला, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता र वुद्धभुमी भनेर चिनिन्छ ।

प्रत्येक वर्ष नेपालको हिमालयमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउने गर्दछन । पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।

पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ  । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो  । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ  । यसरी देश विदेशको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृथ्वीको जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ । नेपालमा पर्यटकहरु के का लागि भ्रमणमा आउछन त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो ।

भुपरिवेष्ठित मुलुकका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ वाह्य पर्यटकहरु नेपाल आँउदैन थिए होला ?

नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रको सुधारमा नागरिक समाजको ठूलो भूमीका हुन्छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटनको विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

के हो नागरिक समाज ?

नागरिक समाज देशको यस्तो बलियो किल्ला हो,जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । कहिलेकहि अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठडयाउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरुमा जनतालाई जागरुक गराई सरकारका काममा सहयोग गर्नु नागरिक समाजको दायित्व हुन्छ । भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुख दर्शक भएर बस्दैन । जनता देशका मालिक हुन र उनीहरुको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ ।

प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र बृद्धिजिवीहरु, स्थानिय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीय स्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएको अग्रगामी सुधारको पक्षपाती, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । त्यसैले नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।

विचार, अभिव्यक्तिको आदान–प्रदानमार्फत समाजलाई एकीकृत रुपमा अघि बढ्न प्रेरित गर्नु । सामूहिक भावनको विकास गर्दै विभिन्न ढंगको संजालमार्फत सरकारलाई सहि मार्गदर्शन गर्नु । राज्यको मूल धारामा आउन कठिन भइरहेको वर्ग, क्षेत्र, लिङ्ग, समूदाय र सम्प्रदायलाई नागरिक शिक्षा प्रदान गर्दै उनीहरुको हक, अधिकार प्राप्तिमा समेत बनाउनु । सुरक्षालाई नीति, कानून परिपालना गराउन दबाबमूलक ढंगले बाध्य बनाउनु । नागरिक समाजको काम कर्तब्य पहिला नै डिजाइन गरिएको त हुँदैन । समय परिस्थितिअनुसार स्वस्फुर्त रुपमा नागरिकका सवालहरु उठान गर्ने र नागरिकको अधिकारका लागि बहस पैरवी गर्ने काम नागरिक समाजको हो । नागरिक समाज कुनै एउटा व्यक्ति पनि हुनसक्दछ, संगठित संस्था पनि हुनसक्दछ । यो विषय उठाइने मुद्धा र सवालमा भर पर्ने कुरा हो ।

नागरिक समाजलाई राज्यको आलोचना गर्ने निकायको रुपमा बुझ्ने गरीन्छ । त्यसकारण राज्यको पुनसंरचनासंगै नागरिक समाजको परिभाषा र भूमिका पनि केही बदल्नुपर्ने आवश्यकता छ । नेपालमा राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भूमिका जसरी अग्रपंक्तिमा रह्यो, यसरी नै देशमा गणतन्त्रको स्थापनामा समेत महत्वपूर्ण रहेको देखिन्छ । देशमा संघ, प्रदेश र स्थानीय तहको सरकारमार्फत राज्य सञ्चालन भइरहेको अवस्थामा नागरिक समाजको भूमिका ३ वटै तहमा प्रभावकारी हुन जरुरी छ । अहिलको सन्दर्भमा नागरीक समाजका मुद्धा नागरिकमैत्री ऐन, नीति, कार्यविधि, कानुन निर्माण र तिनको प्रभावकारी कार्यान्वयनका लागि हुनुपर्दछ । विकास निर्माणका काम र राज्यका स्रोत साधन र सेवाप्रवाह नागरिकमैत्री छन् कि छैनन् ? नागरिकको सहभागिता कस्तो छ ? यी र यस्ता यावत् विषयमा नागरिक समाजको ध्यान जानु आवश्यक छ । तसर्थ सडकमा नाराजुलुस नगर्दैमा, आन्दोलन नगर्दैमा नागरिक समाज निष्क्रिय भयो भन्न मिल्दैन । नागरिक समाजको भूमिका कहिल्यै पनि मर्दैन, हिजो पनि थियो, आज छ र भोलि पनि आवश्यक हुन्छ । बरु राज्यको भूमिका, नागरिकको पहुँच र अवस्था लगाएतका विषयको अवस्थाका आधारमा भूमिका फरक फरक हुनसक्दछ ।

कतिपय अवस्थामा नागरिक समाजलाई राज्यको स्थायी प्रतिपक्षकोरुपमा लिने गरिन्छ । तर यसले नागरिक समाज र राज्यबीच रचनात्मक र प्रभावकारी सम्बन्ध राख्न सक्दैन । नागरिकका सवाल र मुद्धाको प्रकृतिका आधारमा राज्यलाई खबरदारी गर्ने कि सहयोग गर्ने भन्ने विषय नागरिक समाजका अगुवाहरुले पहिचान गर्न पर्दछ । सबै अवस्थामा राज्यलाई सहयोग गर्न सकिदैन यो स्वभाविक हो । त्यसैले त राजनीतिक दल र राज्यभन्दा भिन्न स्वतन्त्र पक्ष नागरिक समाज चाहिएको हो । तर रचनात्मक सहयोग र समन्वय गर्न सकिने मुद्धामा पनि विरोधका लागि विरोध गर्नुहुँदैन ।

अहिलेको सन्दर्भमा नयाँ ऐन कानुन निर्माणमा नागरिक समाजको जति सुझाव र सहयोगको खाँचो छ, उत्तिकै विद्यमान ऐन कानुनको कार्यान्वयनका लागि छ । नेपालको संविधानको २०७२ को धारा १८ देखि ४८ सम्म नागरिकका ३१ वटा मौलिक हकहरुको व्यवस्था छ । ती व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनको लागि नागरिक समाजको पैरवी आवश्यक देखिन्छ । यसरी नै मानवअधिकारको सुनिश्चितता, सुशासन, दण्डहीनताको अन्त्य लगाएत नागरिक सरोकारका विषयहरुमा विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयनको लागि निरन्तर छलफल, सचेतना र खबरदारी नागरिक समाजले नै गर्नुपर्दछ ।
मिती ः– २६ श्रावर्ण २०७७ दाङ





error: Content is protected !!