भारत र चीनबीच फेरि सैन्य तनाव – वार्ता र सैन्य गतिविधि सँगसँगै, त्रिदेशीय बिन्दुमा पनि सैनिक तैनाथी

सन् १९७५ पछि पहिलोपटक भारत–चीन सीमामा गोली चल्यो, दुई देशबीच कूटनीतिक र सैन्य तहमा वार्ता जारी
– भारत र चीन दुवैले सीमा क्षेत्रमा सैन्य संख्या र अभ्यास बढाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम नेपालको लिपुलेकनजिकै नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुमा भारतले अत्याधुनिक हवाई मिसाइलसहित सैन्य संख्या बढाएको छ ।

– चीनले पनि तिब्बततर्फ अत्याधुनिक जहाजसहित सेनाको संख्या बढाएको छ । रक्षा विशेषज्ञहरूले भने तत्काल युद्धको सम्भावना नरहेको बताएका छन् ।

भारत र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकास्थित लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० अर्थात् वास्तविक नियन्त्रण रेखामा आइतबार हवाईफायर भएपछि दुई देशबीच फेरि तनाव बढेको छ । बढ्दो तनावसँगै भारत–चीन आरोप–प्रत्यारोपमा उत्रेका छन् । तर, रक्षा विशेषज्ञहरूले भने तत्काल युद्धको सम्भावना नरहेको बताएका छन् ।

१९७५ मा अरुणाचल प्रदेशमा आसाम राइफलका जवान चिनियाँ एम्बुसमा परेयता भारत–चीन सीमा क्षेत्रमा पहिलोपटक गोली चलेको हो । यद्यपि यसमा कुनै मानवीय हताहती भने भएको छैन । तर, लद्दाखको रेजांला क्षेत्रमा भएको हवाईफायरमा दुवैले एक–अर्कालाई दोषारोपण गरेका छन् ।

तीन महिनाअघि भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यसयता सीमा क्षेत्रबाट क्रमशः पछि हट्दै जाने सैद्धान्तिक सहमति गरे पनि दुवैैका सर्त एक–अर्काले नमान्दा सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिक आमने–सामने छन् । चीन र भारतबीच कूटनीतिक र सैन्य तहमा वार्ता जारी रहे पनि तनाव घटेको छैन । सैनिक कमान्डर तहका वार्ता पनि जारी छन् ।

सोमबार चिनियाँ सेनाले गोली भारतीय सैनिकले चलाएको आरोप लगाएपछि मंगलबार भारतीय सेनाले त्यसको खण्डन गरेको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्यही आरोप पुष्टि गरे । भारतीय सैनिक अवैध रूपमा एलएसी नाघेर चीनतर्फ गएको, चिनियाँ सैनिकले भारतीय सैनिकसँग कुरा गर्न खोजेको, तर भारतीय सैनिकले गोली चलाएको प्रवक्ता लिजियानको भनाइ थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको दाबीलाई भारतीय सेनाले खण्डन गरेको छ । भारतीय सेनाले मंगलबार नै भनेको छ, ‘भारतीय सेनाले सीमा क्षेत्र नाघेको पनि छैन, गोलीबारी गरेको पनि छैन । चिनियाँ सैनिकले हवाईफायर गरेका हुन् ।’ चिनियाँ पक्षले आन्तरिक र बाह्य जगत्लाई ध्यानाकर्षण गराउन गोली प्रहार गरेको भारतीय सेनाको आरोप छ । परिस्थिति सामान्य बनाउने प्रयास भइरहेका वेला चिनियाँ पक्षले गोली हानेर भड्काउन खोजेको भारतीय सेनाकोे आरोप छ ।

लद्दाखमा भारततर्फ गुरुङ हिल, मगर हिल, हेल्मेट टप, चुसुललगायतका क्षेत्रमा एकतर्फ भारतीय सेना र अर्कोतर्फ चिनियाँ सेनाको बाक्लो उपस्थिति छ । दुवै पक्षले सैनिकको संख्या बढाएका छन् । गलवान उपत्यका र लद्दाख सीमा आसपासमा भारतीय र चिनियाँ गरी करिब एक लाख सैनिक तैनाथ छन् । उनीहरूले आन्तरिक युद्ध–अभ्यास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवादित प्याङगोङ तालको १३५ किलोमिटर लम्बाइमध्ये ९० किलोमिटर चीनसँग र ४५ किलोमिटर भारततर्फ छ ।

१९ भदौमा लद्दाख पुगेका भारतीय स्थलसेनाध्यक्ष मणिमुकुन्द नरभणेले सञ्चारमाध्यमसँगको कुराकानीमा सीमा क्षेत्रको स्थिति नाजुक रहेको र भारतीय सेनाले आफ्नो तयारी गरिरहेको बताएका थिए । ३ महिनापूर्वको यथास्थिति फर्काउन भारतले चीनसँग निरन्तर संवाद गरिरहेको पनि उनको भनाइ थियो ।

यद्यपि, भारतका रक्षा मामिलाविज्ञ धु्रव कटोचले परिस्थिति यथास्थितिमै रहने अर्थात् युद्ध पनि नहुने र सामान्य पनि नहुने अवस्था कायम रहने विश्लेषण गरेका छन् । अर्का रक्षा विश्लेषक अजय शुक्लले भने दुवै पक्ष कूटनीतिक र सैन्य अधिकारी तहमा वार्तामा ‘इन्गेज्ड’ भएका कारण युद्धको सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

सीमानजिकै दुवैले सर्फेस टु एयर मिसाइल सिस्टम राखेका छन् । चीनले सीमा क्षेत्रमा एचब्यु–९ नामक सरफेस मिसाइल तैनाथ गरेको छ । भारतले राफेल जहाज तयारी अवस्थामा राखेको छ । लिपुलेकदेखि चार सय ६ किलोमिटर दूरीको अम्बालामा भारतले राफेल सतर्क अवस्थामा राखेको छ । चीनले तिब्बतको होतान एयर बेसमा जे–२० फाइटर विमान तैनाथ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम नेपालको लिपुलेकपर नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुमा भारतले अत्याधुनिक हवाई मिसाइलसहित सैन्य संख्या बढाएको छ । चीनले पनि तिब्बततर्फ अत्याधुनिक हतियारसहित सेनाको संख्या बढाएको छ ।

दुई साताअगाडि पनि गत १३ र १४ भदौमा प्योङयाङको दक्षिण क्षेत्रमा दुई देशका सेनाबीच झडप भएको थियो । तनावमा भारतको स्फेसल फ्रन्टियर फोर्सका कम्पनी कमान्डर निमा तेन्जिङको मृत्यु भएको थियो । सोमबार भएको उनको अन्तिम संस्कारमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव राम माधवसमेत पुगेका थिए ।

दुवै पक्षबीच पूर्वी लद्दाखमा १ असारमा सेनाबीच गोली नहानिएको, तर हिंसात्मक परिस्थिति उत्पन्न भएको थियो । २० भारतीय सैनिक मारिएको झडपछि दुवै पक्षको कूटनीतिक र सैन्य च्यानल परिस्थिति सहज बनाउन सक्रिय भएका थिए । भारतीय विदेशमन्त्री डा। सुब्रमण्यम जयशंकर र चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले ३ असारमा टेलिफोन संवाद गरेका थिए । त्यसयता पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाका डिभिजन कमान्डर, ब्रिगेड कमान्डरस्तरीय वार्ता जारी छन्, कूटनीतिक च्यानलमा छलफल भइरहेको छ । दुई देशका रक्षामन्त्रीबीच पनि हालै मस्कोमा संवाद भएको छ । बढ्दो सैन्य तनावबीच भारतले कैयौँ चिनियाँ एप्स बन्द गराएको छ ।

चिनियाँ सेनाले अरुणाचल प्रदेशबाट हालै आफ्ना पाँच नागरिक अपहरण गरेको भन्दै भारतले रिहाइको माग गरेको छ । तर, चीनले अरुणाचललाई दक्षिणी चीन बताउँदै आएको छ । भारतले तिब्बतलाई चीनको र चीनले अरुणाचललाई भारतको क्षेत्र मान्न अस्वीकार गर्दै आएका छन् ।

भारत र चीनबीच तीन हजार पाँच सय किलोमिटर लामो सीमा जोडिएको छ । तर, वर्तमान अवस्थाबारे दुवै देश सहमत छैनन् । यसैलाई लिएर उनीहरूबीच १९६२ मा युद्धसमेत भएको थियो ।

नेपाल र भुटानका छेउछाउमा पनि आमने–सामने

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाल र भुटान जोडिने त्रिदेशीय बिन्दुमा भारत र चीनका सेना आमने–सामने भएका छन् । नेपालको लिपुलेक क्षेत्र र भुटानको चुम्बी उपत्यकामा भारत र चीन दुवैको सैन्य तैनाथी बढेको छ । नेपाली सेनाले परिस्थितिलाई नजिकबाट हेरिरहेको अधिकारीहरूले बताएका छन् । एक उच्च सैनिक अधिकारीले भने, ‘हाम्रा निकायले परिस्थितिलाई नजिकबाट हेरिरहेका छन् । त्रिदेशीय बिन्दुआसपास भइरहेका घटनाक्रमबारे हामी जानकार छौँ ।’ सेनाको युद्धकार्य निर्देशनालय तथा हालै स्थापित सर्भे तथा सीमा अनुगमन निर्देशनालयले परिस्थितिको अध्ययन गरिरहेको सैनिक स्रोतले बताएको छ ।

भारत चीन टकरावबाट नेपाललाई असर पर्छ – बिनोज बस्न्यात, पूर्वउपरथी, नेपाली सेना

नेपालसहित भारतसँग सीमा जोडिएका अन्य देशहरू यो टकरावबाट प्रभावित हुनेछन् । कथंकदाचित युद्ध भयो भने भारतसँग हाम्रो विशेष प्रकारको सम्बन्ध र सन्धिहरूले नेपाललाई पनि यो टकरावको एउटा हिस्सा बन्ने अवस्था रहन्छ ।

भारत र चीनबीच हिमालय क्षेत्रमा आज देखिएको झडप र सैन्यकरणको आरम्भ सन् २०१७ मा चीन–भुटान सीमा क्षेत्र डोक्लामबाट भएको हो । कोभिड–१९ का सन्दर्भमा सुरक्षा निकायहरू आन्तरिक र बाह्य चुनौती सामना गरिरहनुपर्ने अवस्थामा नेपाली भूमि आतंकवादी गतिविधिमा दुरुपयोग हुने खतरा रहन्छ ।

लडाइँ भइहाल्यो भने भारतीय सेनामा रहेका नागरिक यसको हिस्सा बन्नेछन् र यसको प्रत्यक्ष असर हामीलाई पर्ने नै छ । यसैगरी, तिब्बतको सुरक्षा संवेदनशीलता बढ्ने हुँदा नेपालमा चीनको प्रभाव झन बढ्नेछ । यही सन्दर्भमा दक्षिण एसियामा अमेरिकी हस्तक्षेप पनि बढ्नेछ । दक्षिण एसियामै चीनको प्रभाव अझ बढेर जाने अवस्था आउन सक्छ ।





error: Content is protected !!