मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा ११ वर्षमा १० पक्की पुल

रुकुम पश्चिम ः मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा ११ वर्षमा १० पक्की पुल निर्माण भएका छन् । लोकमार्गअन्तर्गतको जहारीखोलामा पुल निर्माणको काम सकिएसँगै १ सय २३ किलोमिटर खण्डको सबै ठाउँमा पुल बनेका हुन् ।

जिल्लामा २०६६ सालदेखि लोकमार्ग निर्माणको काम थालिएको थियो । लोकमार्गको निर्माण कार्य थाल्दा रुकुम एउटै जिल्ला थियो । अहिले रुकुम पश्चिम र रुकुम पूर्व गरी २ जिल्लामा विभाजन भएको छ ।

१ सय २३ किलोमिटर खण्डको दुवै जिल्लामा १० सडक पुल बनाउने गरी आयोजनाको डिजाइन गरिएको थियो । रुकुम पूर्वमा २ र रुकुम पश्चिममा ८ पुल निर्माण भएको मध्यपहाडी लोकमार्ग सडक आयोजना, दैलेखले जनाएको छ । कार्यालयका सूचना अधिकारी तुलाराम शर्माले पछिल्लो पटक चौरजहारी नगरपालिकाको जहारीखोलामा पुल निर्माणको काम सकिएको बताए ।

२०६९ सालमा सम्झौता भएको उक्त पुल ८ वर्षपछि २०७७ मा सम्पन्न भएको हो । १ करोड ९२ लाख रुपैयाँमा उक्त पुल निर्माण भएको इन्जिनियर शर्माले बताए । उनका अनुसार चौरजहारीबाट जाजरकोट जोड्ने भेरी नदीमाथि पुल भने निर्माण हुन बाँकी छ । ‘रुकुम पूर्व र पश्चिमका कुनै पनि ठाउँमा जान अब खोलाले सवारी रोक्ने छैन,’ उनले भने, ‘ढिलै भए पनि सबै सडक पुल निर्माण सम्पन्न भएका छन् ।’ ठेकेदारको लापरबाही र अरु प्राविधिक कारणले पनि पुल निर्माणमा ढिलाइ भएको उनले जानकारी दिए ।

रुकुम पश्चिमबाट जाजरकोट जोड्ने पुल भने अझै अलपत्र छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले गति लिन नसकेको हो । आगामी फागुनसम्म उक्त पुल निर्माण गर्ने गरी म्याद थप गरिएको आयोजनाले जनाएको छ । रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमानास्थित रेलीखोलामा पुल बनेपछि यात्रा सहज बनेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनका अनुसार हरेक वर्षाको समयमा रेलीखोलाले सवारी साधनको आवतजावत रोक्थ्यो ।

जहारीखोलामा पुल बनेसँगै चौरजहारी र जिल्ला सदरमुकामको सम्पर्क स्थापित भएको छ । हरेक वर्षामा जहारीखोलाको कारण यो क्षेत्रको सम्पर्कविच्छेद हुन्थ्यो । पुल बनेपछि यात्रुले वर्षौदेखिको सास्तीबाट मुक्ति पाएको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए ।





error: Content is protected !!