सालिक बन्यो, राख्ने जग्गा पाइएन

जुम्ला ः कर्णाली स्वायत्त प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको शालिक निर्माण सम्पन्न भएको छ । राख्ने स्थान नहुँदा स्मृति दिवसमा पनि शालिक ठड्याउन सकिएन । परिवर्तनका लागि गोली खाएर विसं २०७२ भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा शालिक राख्ने निर्णय राजनीतिक दलले कार्यान्वयन गर्न नसक्दा शालिक स्थापना हुनसकेको छैन ।

तत्कालीन समयमा उहाँले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको आसपासमा राख्दा उचित हुने निष्कर्षमा राजनीतिक दल पुगेपछि तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा शालिक राख्ने निर्णय भएको थियो । अहिले नयाँ भवन निर्माण गर्दा शालिक राख्ने स्थानसमेत नभएपछि अन्योल भएको छ ।

शहीद कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले शालिक बनिसकेको भए पनि राख्ने जग्गासमेत नहुनु विडम्बना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलहरुले गरेको निर्णय कार्यान्वयन गरिनु पर्दछ, शालिक निर्माणका लागि चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा रु १३ लाखमा शालिक निर्माण भएको हो ।”

गाउँमा स्मृति भवन

तातोपानी गाउँपालिका– ७ सर्मीगाउँ शहीद कुँवरको जन्मस्थान हो । त्यही सर्मीगाउँमा शहीद स्मृति भवन निर्माण भइरहेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ४० लाखको सहयोगमा दुईतले भवनको छतको काम सकिएको प्रतिष्ठानले जनाएको छ ।

रु एक करोड ३७ लाखको डिपिआर रहेको उक्त घरमा तल्लो तला सभाकक्ष, दोस्रो तला पुस्तकालय र तेस्रो तलामा कार्यालय रहने डिजाइन गरिएको छ । बाँकी रकम अभावमा अधुरो रहेको बताइएको छ ।





error: Content is protected !!