प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने मुद्दा

रुकुम पश्चिम – प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । चौरजहारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार मोहन परियार र पूर्णबहादुर थापामाथि चिर्पट प्रहार गर्ने ४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

चौरजहारी नगरपालिका–३ का २० वर्षीय गोपाल बुढाथोकी, २३ वर्षीय भाष्कर बस्नेत, २२ वर्षीय टिकाराम ओली र ८ नम्बर वडाका २२ वर्षीय विक्रम भनिने रोशन घर्तीले प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरु विरुद्ध अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

बुधबार चौरजहारी नगरपालिका–७, मेलैनाउली बजारस्थित एक होटलमा मदिरा सेवन गरेर उनीहरुले ८ नम्बर वडा सदस्य शशिराम विककी पत्नीमाथि दुव्र्यवहार गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । ओलीलाई नियन्त्रणमा लिने क्रममा पछाडिबाट प्रहरीमाथि दाउरा प्रहार भएको हो । हवल्दार परियारको टाउकोमा ११ वटा टाँका लगाइएको छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने हवल्दार थापा सामान्य उपचारपछि कार्यालय फर्किइसकेका छन् ।





error: Content is protected !!