भाइरस संक्रमणका कारण अनुहारको पक्षघात

खुसी, पीडा, रिस, ईर्ष्याजस्ता भावना देखाउन अनुहारमा भएका मांशपेसी र आँखाले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । अनुहारमा हुने सातौँ नम्बरको क्रेनियल नर्भले मांशपेसीलाई चलाइरहेको हुन्छ । यस्तै, जिब्रोको अगाडिको दुईतिहाइ भागले पनि यही सातौँ नसाको कारणले स्वाद थाहा पाउने गर्छ । यो नसा मस्तिष्कबाट निस्किई कानको पछाडि भाग हुँदै पाँचवटा हाँगामा विभाजित भई अनुहारका विभिन्न मांशपेसीलाई चलायमान बनाउँछ । चोटपटक वा अन्य कारणले उक्त नसा च्यापिएमा वा सुन्निएमा अनुहारका मांशपेसीले काम गर्न नसक्ने अवस्था हुने गर्छ, जसलाई अनुहारको पक्षघात भनिन्छ । यसलाई मेडिकल भाषामा वेल्स पाल्सी पनि भनिने गरिन्छ ।

कसरी थाहा पाउने ? 

अनुहारको पक्षघातको वास्तविक कारण अझै पत्ता लागेको छैन । तर, भाइरस संक्रमण वेल्स पाल्सीको कारण मानिँदै आएको छ । जस्तै, दादुरा, खटिरा, हाडे आदि रोग गराउने भाइरस नै अनुहारको पक्षघातको कारण मानिन्छ । सामान्यतः अटो इम्युन रोगहरू भएका व्यक्ति, अन्य कारणले प्रतिरोधी क्षमता कम भएमा, रुघाखोकी ज्वरो आदिबाट प्रभावित व्यक्तिहरू अनुहारको पक्षघातबाट बढी प्रभावित भएको पाइन्छ । यस्तै, गर्भवती अवस्थाको अन्तिम तीन महिनाको समय, डाइबेटिज, श्वासप्रश्वासमा समस्या र कानमा समस्या भएमा समेत वेल्स पाल्सीको जोखिम रहन्छ ।

कुनै लक्षणविना एक्कासि अनुहारको एक भाग वा पूर्णरूपमा प्यारालाइसिस हुने गर्छ । बिस्तारै आँखा बन्द गर्न नसक्ने वा बन्द गर्न गाह्रो हुने, हास्न, निधार खुम्च्याउन, नाक खुम्च्याउन नसक्नेजस्ता लक्षण देखिन्छन् । हास्दा ओठ बांगिने, र्‍याल चुहिने र तरल पदार्थ पिउन गाह्रो हुन्छ । खाना खान कठिनाइ हुने, प्रभावित भागपट्टिको दाँतमा अड्किने, बोल्न अप्ठ्यारो हुने, जिब्रो अगाडिको दुईतिहाइ भागले स्वाद थाहा नपाउने, आँसु चुहिने, बंगारापछाडिको भाग दुख्ने हुन्छ ।

लक्षणका आधारमा वेल्स पाल्सी थाहा पाउन सकिन्छ । भाइरस संक्रमण पत्ता लगाउन रगत परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा मस्तिष्कको ट्युमर वा मस्तिष्कसम्बन्धी अन्य समस्याका कारणसमेत यस्तो समस्या आउने हुँदा एमआरआई वा सिटिस्क्यान गर्नुपर्ने हुन्छ ।

रोकथाम र उपचार

सामान्यतः अनुहारको पक्षघात भाइरस संक्रमणका कारणले हुने भएकाले शरीरको प्रतिरोधी क्षमता बलियो बनाइराख्न जीवनशैलीमा ध्यान दिनुपर्ने हुन्छ । लामो समयसम्म एसी वा पंखाको प्रयोग गर्न हुँदैन । साथै, कानमा खटिरा वा संक्रमण भएमा समयमै चेकजाँच र उपचार गर्नुपर्छ । गाडीमा वा मोटरसाइकलमा लामो यात्रा गर्दा, दाँत निकाल्दा, अनुहार झमझमाउने समस्या भएमा समयमै सचेत हुनुपर्छ ।

अनुहारको पक्षघात भएमा उपचारका लागि स्टेरोइड औषधिको प्रयोग गरिन्छ । यस्तै, आँखामा भाइरस संक्रमण फैलिन नदिन औषधिको प्रयोग गरिन्छ । अनुहारका मांशपेसीलाई चलाउन फिजियोथेरापी गरिन्छ । ट्युमर आदि कारणले नसा च्यापिएमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।





error: Content is protected !!