अव कसरी आहा होला बारेकोट ?

हेमन्त केसी
जाजरकोट ,  माथी चारैतीर हिमालहरु ! तल सम्म परेका साना , साना फाँटहरु , फाँटको किनारमा हिम नदीबाट बगेको पानीले निर्माण भएको नलगाड नदीको सुसावट ? साचिक्कै आहा गर्न लायक ठाउँ बारेकोट ! जैविक विविधता र भारी मात्रामा जडीवुटीको भण्डार मात्र नभई स्वच्छ अनि सफा सवैले रोजेको तिर्थस्थल पनि । तीन जिल्लाको बीचमा रहेको बारेकोट ।


पुर्वमा डोल्पा , उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम । तर अहिले यो परिचयलाई गत असार २५ गते आएको भिषण बाढी , पहिरोले यहाँको सुन्दरतालाई कुरुपता थपिदिएको छ । यहाँको कुनै पनि वडा सग्लो नरहदा स्थानीयवासीहरु आँखाबाट आँसु झार्दै थाकथलो प्रतिको माया प्रकट गरिरहेका छन् ।


पुस्तौ सम्म कमाएको जमिन अनि बसेको घर एकाएक गल्याम, गुलुम्म ढलेपछि सवै उमेर समुहका मानिसहरु अग्ला डाडा र जंगलमा त्रिपालको सहारामा दुखका दिन कटाईरहेका छन् । बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाही भन्नुहुन्छ , “ हामीले मनाउने देवी ( बाँचिलो) रिसाएर हामी माथी यत्ती ठुलो बज्रपात भयो कि ? हामीले प्रकृती माथी अन्याय गरेका कारण समस्य बल्झियो ?”

१२ वटा कोट मिलेर बारेकोट भएको यस भूमिको महत्व अन्य ठाउँको भन्दा बढी रहेको छ । तल्लो भाग देखि हिमाल सम्म जोडिएको यस ठाउँमा सवै खालको हावापानी पाईने गर्दछ ।


विश्वमै लोपोन्मुख रेडपाण्डा देखि सुनगिद्ध र चिरकालिजको बास स्थान यही बारेकोटमा पर्दछ । डोल्पा र जुम्ला जानका लागि अत्यन्तै छोटो दुरी रहेको बारेकोटमा अहिले बाढी पहिरोले छिया, छिया बनाउदा अव पुर्ण निर्माणको लागि सवै खालका सरकारकोे सहयोगका लागि यस ठाउँले याचना गरेको छ । ४१७ मेगावाट जलविद्युत आयोजनाको बाध स्थल समेत यही रहेको छ । जाजरकोटको पर्यटकीय क्षेत्र सवै भन्दा बढी बारेकोटमै पर्दछन् ।

त्यही प्रकृतीको माया गर्ने अनि संरक्षण गर्ने सर्वसाधारणहरु भने अहिले प्रकृतीकै रिसाह व्यवहारले अहिले वर्षाको झरीसँगै खुल्ला आकाशमा त्रिपालको सहारामा बाँच्न बाध्य छन् ।


१ हजार २ सय भन्दा बढी घरहरु भत्किएका छन् । रु १२ करोड भन्दा बढीको धनजनको क्षती भएको छ । तिर्थव्रतको लागि ठाकुर ज्यू जाने बाटो देखि एक गाउँबाट अर्को गाउँ जाने बाटो भत्किदा धन्न धन्न बाँचेको ज्यान फेरी पनि मरिन्छ की भनि मन चसक्क गदै पानी , घट्ट र भत्किएका घर हेर्न जानुपरेको बारेकोट ४ का अने सार्कीले बताउनुभयो ।

हजार भन्दा बढी घरपरिवार खानेपानीबाट बन्चित भएका छन् । अहिले उनीहरु खुल्ला भल पानी पिउन बाध्य भएको अर्का स्थानीय परिमल कार्कीले पीडा पोख्नुभयो ।

भत्किएको घर हेदै टोलाउदै

असार २५ भन्दा अघि सध्य घरमा बसेर रमाएका छोरा, छोरीहरु अहिले त्रिपालको वासमा बिभिन्न किराहरुले टोक्दा रुदै , कराउदै बाबा ,आमालाई गुनासो गर्छन् । तर बाबा आमा सँग पनि सो कुराको समाधान केही छैन ।

उनीहरु घर सम्झदै फेरी छोरा,छोरीसँगै आँखाबाट बरररर आँसु झार्छन् । अहिले बारेकोट गाउँपालिका भित्रका १ हजार २ सय भन्दा बढी सर्वसाधारणहरुको खास व्यथा हो यो । अभिभावकहरुले कति दिन बालबालिकालाई घर भोली जाउला भनि भाँट्ने आफूहरु हैरान भएको तलकोटका भीमबहादुर सिंहले भन्नुभयो ।

सानो त्रिपालमा १२ भन्दा बढी घरपरिवार बस्नु परेको उहाँको पीडा छ । खाना पकाउने , खाने र सुत्ने ठाउँ भन्दा शौचालय धेरै टाढा छैन । जंगलमा जथाभावी दिशा गर्दा फोहोर बढेको उहाँको भनाई छ । न गतिलो बास , न त गतिलो खाना ? कति दिन चल्ला यसरी मन भरी पीडा सुनाउदै अर्का प्रेम सिंहले भन्नुभयो ।
मान्छेको जिन्दगीमा पीडा , दुख र वेदना भन्ने कुरा यसरी पर्दो रहेछ ।

तीन तलाको सवै भन्दा ठुलो घर थियो , त्यसमा रमाई ,रमाई बस्थे तर अहिले सो सवै पहिरोसँगै आधा बगीसकेको छ । अहिले सवै गाउँले सँग त्रिपालमा छु । घर बनाउदा नखाई , नलगाई काम गरेर घर निर्माण भयो तर घर निर्माण गरेको दुई वर्ष नवित्दै त्रिपालको वास भयो उहाँले भन्नुभयो ।

घर बनाउदा जग कति बलियो छ भन्ने तर्फ ध्यान नदिदा अहिले वर्वादी भएको उहाँको भनाई छ । वारी र पारी सुन्दर डाडा, काँडा देखिएपनि आउने र जाने बाटो छैन ? टाढैबाट मात्र आहा भयो उहाँको भनाई छ ।
बारेकोटको मात्र भूमि नभई सवैको समुदाय र ठाउँको सम्पती भएकाले बारेकोटको पुर्ण निर्माणका लागि सरोकारवाला निकायको ध्यान छिटो जावस स्थानीयको माग छ ।





error: Content is protected !!