ठेकेदार खोज्दै स्थानीय तह ः ठेकेदार नौ वर्ष सम्म काठमाडौँमै हराए

रेशमबहादुर खड्का
जाजरकोट ः जुनिचाँदे गाउँपालिका –१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण कार्य सुरु भएको नौ वर्ष बितेपनि अझै निर्माण भएको छैन । प्रसुती भवन नहुँदा सेवा प्रवाहमा समस्य भएको स्वास्थ्य संस्थाले जानकारी दिएको छ ।

ठेकेदार कम्पनीका ठेकेदारले कति काम भयो ? के भयो ? नागरिक बेखबर छन् । वडाध्यक्ष राम बहादुर नेपालीले बताउनुभयो । ‘साबिक मजकोट गा.वि.स.को १ नम्बरमा निर्माणाधिन भवन ठेकेदारका लापरवाहीका कारण काम अलपत्र परेको छ ।’ उहाँले भन्नुभयोे, ‘ठेकेदारले गराएको कामको कामदारलाई पैसासमेत दिएका छैनन् ।’

काम सुरु भएको धेरै वर्ष भएकोले स्थानीयहरूले काम गरेको ज्याला तथा सामग्री खरिदको पैसासमेत नपाएको उहाँले गुनासो गनुभयोे । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कबिहिन हुँदासमेत स्थानीय प्रशासन मौन रहेको उहाँको आरोप छ । नेपाल सरकार गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सुची जिल्ला प्रशासनमार्फत संकलन गरेतापनि ठेकेदारलाई कारबाहीको कुनै पहल नभएको वडाध्यक्ष नेपालीले बताउनुभयो ।

फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौँले ३५ ले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थाम छ । १ वर्षभित्र काम सम्पन्न गर्नेगरी २०६९ बैशाख २१ गते सम्झौता गरेको ठेकेदार कम्पनी अहिले बेखबर भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका अनुसार रु १ करोड २७ लाख ११ हजार ६ रुपैयाँमा ठेकेदार जिम्मा लिएको ठेकेदार कम्पनी बेपत्ता भएपछि काम अलपत्र अवस्थामा छ । कार्यालयमा भएको सम्झौता अनुसार वित्तियतर्फ १०.०६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलम कुमार डङ्गोलले जानकारी दिनुभयो ।

कार्यालयमा सम्झौता भएको रकममध्ये २ लाख ५९ हजार ७ सय ४५ रुपैयाँ भुक्तानी भएको उहाँको दाबी छ । ठेकेदार कम्पनीले समयम काम सम्पन्न नगरेपछि सुरक्षित प्रसूति सेवा लगाएत कार्यालयका नियमित कार्यमा सेवा दिन सास्ती खेप्दै आएको जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक योगेश्वर बस्नेतले बताउनुभयो ।

ठेकेदार कम्पनीले समयमै भवन निर्माणको काम नगर्दा संस्थाबाट हुने सुत्केरी सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ । गाउँपालिकामा प्राप्त जनशक्ति हुँदासमेत संरचनाको अभावमा स्थानीयलाई सेवा दिन सास्ती भएको उहाँको भनाइ छ ।

ज्याला ठगेर ठेकेदार बेपत्ता
फ्राइन्डस कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँ ३५ ले जिम्मा लिएको भवनको काम गरेका कामदारलाई ठगी गरी ठेकेदार बेपत्ता भएका छन् । १ वर्षभित्र काम सम्पन्न गर्नेगरी २०६९ बैशाख २१ गते सम्झौता गरेको ठेकेदार कम्पनीले काम गरेका कामदारलाई पैसा ठगेर बेपत्ता भएको स्थानीय लोक बहादुर बुढाले बताउनुभयो ।
संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतमा रु १ करोड २७ लाख ११ हजार ६ रुपैयाँमा ठेक्का जिम्मा लिएको ठेकेदार कम्पनीले काम गरेका कामदारलाई पैसा नदिएर बेपत्ता भए उहाँको भनाइ छ ।

ठेकेदार पुष्पराज बजगाईले भवन निर्माणमा काम गरेका कामदारलाई २३ लाख रकम ठगि गरी बेपत्ता भएको स्थानीय अबर बुढाले जानकारी दिनुभयो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका संचालक बजगाइले कामको जिम्मा दिएको पैसा नदिएर फरार भएको बुढाले बताउनुभयो ।

ठेकेदारले सिमेन्ट सरियाको जिम्मा आफूलाई दिएपनि सरीया सिमेन्टमा खर्च भएको रु १० लाख ५० हजार रकम आफुलाई नदिएको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले बताउनुभयो ।

यस्तै भवनको बालुवा, गिट्टी, ढुङ्गा व्यवस्थापनको जिम्मा पाएका गोरे बुढाले उक्त शीर्षकमा खर्च भएको रु ५ लाख ४० हजार रकम नपाएको बुढाले गुनासो गनुभयोे । झयाल ढोका बनाउने जिम्मा लिएका अमर बहादुर बुढा, गोबिन्द बुढाको रु ३ लाख ८० हजार रकम ठेकेदारले ठगी गरेको गोरे बुढाले बताउनुभयो ।

भवनको ‘वाल’ निर्माण जिम्मा लिएका कर्ण बहादुर सुनारको रु ४ लाख रकम ठेकेदारले ठगी गरेको बताउनुभयो । कामको जिम्मा लिएको ठेकेदारले पैसा भुक्तानी नदिएर फरार भएको उनीहरूको भनाइ छ । काम गरेर छाक गुजारा गर्ने नागरिकको पैसा ठगि गरी ठेकेदार सम्पर्कबिहिन भएको स्थानीयको आरोप छ ।
उता फ्राइन्डस कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँ ३५ का सञ्चालक पुष्प बजगाई (९८४३७५८९६०) लाई सम्पर्क गर्दा फोन उठेन ।

ताकेता गरेकै छौँ ः कार्यवाहक अध्यक्ष
नै वर्षदेखि अलपत्र परेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि कार्यालयले ताकेता गरिरहेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेतले बताउनुभयो । गाउँपालिकाको बड्कुलेमा रहेको स्वास्थ्य चौकी निर्माणको लागि सम्बन्धित कार्यालयमा ताकेता गरिएको उहाँको भनाई छ ।

निर्माणाधिन भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कबिहिन भएकोले काम सुरु गर्नको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने का.वा.अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकामा लामो समय भवन निर्माण नहुँदा सुत्केरी महिलाहरूलाई सास्ती खेप्नुपरेको उहाँले भनाई छ ।

सुत्केरीको लागि प्रसुती भवनसम्म नहुँदा डोको स्ट्रेचरमा बोकेर खलंगा ल्याउनुपर्ने बाध्यता कायम रहेको बस्नेतले बताउनुभयो । ‘एउटा भवनको लागि ९ वर्ष लाग्ने ?’ उहाँले आक्रोश व्यक्त भन्नुभयो, ‘ठेक्का तोड्नको लागि संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले कुनै पहल गरेको छैन ।’

गाउँपालिकामा अहिलेसम्म सुत्केरी गराउनको लागि संरचनासमेत निर्माणमा भएको ढिला सुस्तीलाई तत्काल अन्त्य गर्न गाउँपालिकाबाट नीतिगत निर्णय गरिने बस्नेतको भनाइ छ । स्थानीय तहबाट ताकेता हुँदासमेत जिम्मा पाएको कम्पनीले काम नगरिदिएको उहाँको गुनासो छ ।

जिल्लामा एकै समयमा सुरू भएका नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकी निर्माण कार्य सम्पन्न भएको छ । यस्तै जिल्लाको दशेरामा रहेको स्वास्थ्य चौकी भवन निर्माण भएर हस्तान्तरण भइसकेको छ । साथै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको निर्माणाधीन भवन निर्माण कार्य सम्पन्न भएको छ ।

घरंगाको काम सुरु

जिल्लाको कुशे गाउँपालिका ६ घरंगा स्वास्थ्य चौकीको काम सुचारु भएको छ । संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतका अनुसार घरंगा स्वास्थ्य चौकीको भवन निर्माणको काम सुचारु भएको छ । २०७१ भदौ २० गते भएको ठेक्का सम्झौता थियो । तेस्रो पटक म्याद थप गरी काम सुचारु गरेको कार्यालय प्रमुख दङ्गोलले बताउनुभयो ।

कार्यालयमा लोहनी एण्ड ब्रोदर्स र एमपी कन्स्ट्रक्सन जेभी बाँकेका व्यवसायी मोहन कुमार आचार्यलाई बोलाइ असार २२ गते मङ्सीर मसान्तसम्म काम सम्पन्न गर्नको लागि कागज गरी सुचारु गरिएको उहाँले बताउनुभयो ।

उक्त भवन रु २ करोड २५ लाख ४३ हजार ३ सय ६१ रुपैयाँ लागतमा निर्माणको क्रममा छ । २०७७ जेठ १५ गते तेस्रो पटक म्याद थप गरेको कार्यालयले मंसीर महिनामा सम्पन्न गर्न लिखित कागजसमेत गरेर काम सञ्चालनमा रहेको कार्यालय जनाएको छ ।

नलगाड नगरपालिकामा रहेको दल्ली स्वास्थ्य चौकीको भवन निर्माणका लागि २०६८ असार २२ गते सम्झौता भएको थियो । उक्त जिम्मा जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौंले काम सम्पन्न गरेको छ । सोही समयमा ठेक्का सम्झौता भएको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्य चौकीको भवन भने निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ ।

सम्झौता तोड्दैछौँ ः डङ्गोल

निर्माण हुन नसकेका स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिकामा पर्ने बड्कुले स्वास्थ्य चौकी ठेक्का सम्झौता तोड्नका लागि प्रकृया अगाडि बढेकोे कार्यालयले जनाएको छ । स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३५ लाइ ताकेता लगाउँदा अटेरी गरेकोले तत्काल तोड्नको लागि प्रकृया अगाडि बढाएको कार्यालय प्रमुख कार्यालय प्रमुख डङ्गोलले बताउनुभयो ।

‘कार्यालयले बैंक खाताको रकम फिर्ताको लागि पत्र पठाएकोले अब तत्काल प्रकृया अगाडि बढ्छ ।’ उहाँले भन्नुभयो , ‘प्रदेशकै सबैभन्दा समस्या जुनिचाँदेमा देखिएकोले यसलाई भदौ महिनाभित्र निकास दिन्छौँ ।’ कार्यालयमा सम्झौता भएको ९ वर्ष बित्दासमेत काम सम्पन्न नगर्ने ठेकेदारलाई तत्काल ठेक्का सम्झौता तोड्ने उहाँले दाबि गनुभयोे ।

कार्यालयले भदौ महिनामा स्थलगत कर्मचारी पठाएर मूल्याकंन गरेर सम्झौता तोड्नका लागि प्रकृया अगाडि बढाउने कार्यालय जानकारी दिएको छ ।

नौ वर्षमा १० ओटा पत्र

संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतले नेपाल बंगलादेश बैंक लिमिटेड शाखा नेपालगञ्जलाई ९ वर्षमा १० ओटा पत्र पठाएको छ । कार्यालयले ६ पटक म्याद थप तथा रोक्का, २ पटक फिर्ता माग, १ पटक रोक्का, साउन १४ गते पेश्की जमानत रकम उपलब्ध सम्बन्धमा बंैकलाई पत्र पठाएको थियो ।

समन्वय इकाईले पठाएको पत्रलाई बैंकले वेवास्ता गर्दै कुनै जानकारी नपठाएको कार्यालयको बताएको छ । कार्यालयबाट साउन १४ गतेसहित १० पटक पत्र पठाएको कार्यालय प्रमुख डंगोलको भनाई छ ।

‘साविक मजकोट गाविस १ मा निर्माणाधिन अलपत्र भवनको ठेकेदार बेपत्ता हुँदा रकम फिर्ताको चिठी लेख्दा बैंकले कुनै प्रतिकृया पठाएन ।’ उहाँले भन्नुभयो , ‘बैंकले जमानतसहित रकम उपलब्ध गराए काम गर्न सजिलो हुनेथियो ।’

उता नेपाल बंगलादेश बैंक लिमिटेड नेपालगञ्जले कार्यालयलाई जवाफ पठाउँदै आएको बताएको छ । कार्यालयमा आएको पत्रको जवाफ तत्काल पठाएको शाखा प्रबन्धक केशब गौतमले दाबी गनुभयो ।

‘संघीय आयोजना निर्माण इकाई कार्यालयलाई ९ पटक जवाफ दिएँ ।’ उहाँले भन्नुभयो , ‘श्रावण १४ गते आएको पत्र मलाई जानकारी नभएकोले भोलि मात्र खोजेर जवाफ दिन्छु ।’

‘ठेकेदारको पक्षमा बैंक हो ?’ भन्ने प्रश्नमा गौतमले यो सबै गलत भएको दाबी गनुभयो । ‘बैंक ठेकेदारको हैन । हामीले सेवा दिएका छौँ ।’ उहाँले भन्नुभयो , ‘प्रमाण चाहिए कार्यालयलाई लिखित प्रमाण पेश गर्न बंैक तयार छ ।’

नौ वर्षमा १० ओटा पत्रको बैंकले बेवास्ता गरेको कार्यालयको आरोपमा शाखा प्रबन्धक गौतमले आक्रोष ब्यक्त गनुभयो ।





error: Content is protected !!