सिन्धुपाल्चोकको लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते , हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक ः अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

पहिराले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयवासी आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

सिन्धुपाल्चोक भीषण पहिरो ः हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।
जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिनुभयो । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।





error: Content is protected !!