बारेकोटबासीको पीडा ः हेलिकोप्टरको आवाज सँगै खाद्यान्नको आश

  जाजरकोट , गत सुक्रबार पहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकाको बिभिन्न ठाउँमा खाद्यान्न आपुर्ती नहुँदा हैरान हुँदै आएको छ । बारेकोटमा तीन पटक हेलिकोप्टर पुगेपनि आवश्यक खाद्यान्न ढुवानी हुँन नसक्दा स्थानीयवासीहरु पीडा व्यक्त गर्न थालेका छन् । खाद्यान्न ढुवानीको आसशमा बसेका पाँच सय विस्थापितहरु गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि सर्वसाधारणहरु दुखी भएका हुँन् ।

खाद्यान्न लगायतका खानेकुरा पाउने ठुलो आसमा रहेका विस्थापित परिवार गैरखाद्य सामग्री मात्र आएको सूचना पाएपछि निराश भएका छन् । बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकोप्टरले खाने कुरा ल्याउला भनेको त कम्मल र त्रिपाल मात्र पो लिएर आएको बताउनुभयो । घर छोडेको आज हप्ता दिन बढी भैसक्यो घरमा भएको केही चामल र पिठो ल्याएर अहिले सम्म जेनतेन गुजरा चलायौ । अव के खाने ? राहत आउला भन्ने आसमा थियौ तर अहिले सम्म राहत पाईएन उहाँले गुनासो सुनाउँदै भन्नुभयो “त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपुर्ण कुरा पेट भर्नु छ । बाँच्नका लागि पनि नखाई भएन तर के खाने ? हेलिकोप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ ।” पहिरो गए यता तीन पटक हेलिकोप्टर आईसकेको छ । तर हेलिकोप्टरले केही थान त्रिपाल, कम्बल र सात बोरा चामल मात्र त्यहाँ पुरयाएको छ ।


गत २६ गते देखि स्थानीय कालिका प्राविमा बसेका छौ । विद्यालयको छाना चुहिन्छ । खाने अन्न छैन । घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो । के खाएर बाँच्ने हो कामीको भनाई छ । बाढी पहिरोको त्रासले एक हजार ५५ परिवार परिवारहरु विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर धेरै परिवार सँग खाद्यान्न सकिदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाईदैन ।

किन्ने खाद्य पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको गाँउपालिका अपाध्यक्ष ओमा शाहीले बताउनुभयो । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्षदिनमा ६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिन देखि रित्तै हुँदा समस्या भएको हो ।

बर्षेनी खाद्य संकट भैरहने जाजरकोटको बारेकाटका करीव २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य संकट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक बर्षमा थप सहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिदै आएको छ । तर आर्थिक बर्ष सकिदा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो ।


‘गाउँमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गदैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?’ विस्थापित बारेकोट गाँउपालिका ४ का देवराज बोहोराले बताउनुभयो ।

विस्थापित परिवारहरु विपन्न बर्गका छन् । लकडाउनकै कारण धेरै मानिसहरु गाँउ फर्किएका छन् । रोजगारीका अवसर छैनन् । त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाँउ तथा बस्तीहरु छियाछिया परेका छन् । मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् तर अहिले सम्म कतैबाट सहयोग भएका छैनन् ।

बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउकम केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाउँपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । उपाध्यक्ष शाहीले भन्नुभयो । यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको उहाँले पीडा सुनाउनुभयो ।

विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यान्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन ।

पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानीयहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भन्नुभयो ।

गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको छ भने एक जना अझै पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् ।





error: Content is protected !!