सुत्केरी हुन नसकेर छट्पटाउँदै

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन्। सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन्।

सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ। गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ।

स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताए।

स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पुर्‍याउन नसकी घर फर्काइएको छ। बुढाको शरीरबाट रगत बगेको र सुत्केरी हुन नसकेको बारे स्वास्थ्यकर्मीलाई खबर गरेर गाउँमै बोलाइए पनि पहिराले गर्दा स्वास्थ्यकर्मीसमेत आउन नसकेको रोकायाको भनाइ छ। बिच्छ्या स्वास्थ्यचौकी युनाबाट करीब पाँच घण्टाको पैदल दूरीमा पर्छ।

दुर्गम उक्त गाउँबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती बोकेर ल्याउन तीन दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। बुढालाई बोकेर ल्याउँदा वर्षाका कारण पहिरो आएमा बीच बाटामा अलपत्र पर्ने र ज्यान जाने जोखिमका डरले कोल्टी ल्याउन नसकिएको रोकाया बताउछन्।

गर्भवतीको उच्च रक्तश्राव भइरहेकाले तत्काल उपचार नभए ज्यान जान सक्ने भएको छ। हिमाली गाउँपालिकाले भने स्वास्थ्य संस्थाले गर्भवतीको उपचारका लागि सिफारिस नगर्दासम्मका गाउँपालिका स्वास्थ्य शाखाले कुनै प्रक्रिया अघि बढाउन नसक्ने जनाएको छ।





error: Content is protected !!