चैते धान उत्पादन बढेपछि पाल्पा रामपुरका कृषक उत्साहित

—सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ असार ः आधुनिक प्रबिधि र उन्नत जातका वीउ विजनको प्रयोगले चैते धानको उत्पादन बढेपछि कृषक खुशी भएका छन् । समयमा नै उन्नत जातको वीउ विजन, मल, आधुनिक प्रबिधि तथा प्राबिधिक सेवा पाएपछि उत्पादनमा बृद्धि भएको कृषक बताउँछन् ।
कृषि यान्त्रिकरणको प्रयोग, उन्नत जातको वीउ लगाउन थालेपछि यसवर्ष अघिल्ला वर्षको तुलनामा करिव १५/२० मुरी धानको उत्पादन बृद्धि हुने रामपुर नगरपालिका ४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले वर्षेनी नौ रोपनी क्षेत्रफलमा चैते धान लगाएर ३० देखि ३५ मुरी सम्म उत्पादन लिने गरेकोमा यो वर्ष ह्वात्तै बढेर ५०÷५५ मुरी धान उत्पादन हुने अनुमान गर्नुहुन्छ ।
“खेतमा लहलाउँदो धानका बाला झुलेका छन्, यो वर्ष बर्दियाबाट उन्नत जातको वीउ मगाएर धान लगाए, प्राबिधिक सल्लाह सुझाव पनि राम्रो पाएपछि धान खेती राम्रो भयो” उहाँले भन्नुभयो । अहिले खेतमा धान काट्ने बेला भइनसकेको र अझै हप्ता दिन समय लाग्ने उहाँ बताउनुहुन्छ ।
तल्लो वडाभान बस्ने सुमित्रा थापा पनि यसवर्ष गतवर्षको तुलनामा पाँच मुरी बढी धान फलेपछि खुशी हुनुहुन्छ । धान खेती गर्ने राम्रो प्रबिधिको ज्ञान सीप सिक्ने अवसर पाएपछि उत्पादन बढेको उहाँको अनुभव छ । उहाँले साढे सात रोपनी खेतमा चैते धान लगाउनुहुन्छ ।
यसवर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम संचालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको रु १४÷१४ लाख गरी रु २८ लाखमा पकेट कार्यक्रम सुरु गरिएको छ ।
दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले चैते धान खेती गरेका छन् । पकेट क्षेत्रका कृषकलाई चार वटा मिनिटिलर, दुईवटा पावर टिलर, दुईवटा रोटाभेटर, चार वटा धान काट्ने मेशिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल वीउ विजन लगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर राना बताउनुहुन्छ । हाल चलनचल्तिमा आएका चैते १, चैते २, हर्दिनाथ, टाइचन, बगरे लगायतका चैते धानका जात हुन् ।
जिल्लाको रामपुर नगरपालिका क्षेत्रमा करिव पाँच सय रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
निस्दी गाउँपालिकामा करिव २८ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्छ । ढुंगानावेशी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिदमार लगायतका क्षेत्रमा चैते धान लगाउने गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताउनुभयो ।
यसवर्ष धान राम्रै फलेकाले उत्पादन धेरै हुने ढुंगानावेशीका कृषक पुर्खा सिं सोती बताउनुहुन्छ । उहाँले करिव दश रोपनी जग्गामा धान लगाउनुभएको छ ।
बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घा लगायतका क्षेत्रका केही कृषकले चैते धान लगाउने गरेका छन् ।
कुनै बेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान लगाउनै छाडिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ । चैते धान लगाउने कृषक भने पछिल्ला समयमा कम रहेको उहाँको भनाई छ ।
पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह क्षेत्रमा चैते धान लगाइन्छ । पहिला प्रशस्त मात्रामा खोलाखोतमा लगाइने धान पछिल्ला वर्षमा भने कृषकले लगाउन कम गरेपनि उत्पादन भने राम्रै लिन सफल भएको कृषि शाखा प्रमुख सन्तोष कंडेलले बताउनुभयो ।
त्यसैगरी रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि चैते धान राम्रै उत्पादन हुने गर्दछ । पाल्पा जिल्लामा सात सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ ।
यसवर्ष देखि कृषि ज्ञानकेन्द्र पाल्पाले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नविनतम प्रबिधि तथा यन्त्रहरुको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको वागवानी विकास अधिकृत सन्तोष पाठक बताउनुहुन्छ ।
चिउराका लागि अति नै राम्रो हुने तथा मंसिरमा वर्षे धान उत्पादन गरेका जग्गामा पुनः चैतमा धान लगाएर असारमा उत्पादन स्याहार्न पाइने भएपछि केही कृषकले निरन्तर रुपमा चैते धान नै लगाउँदै आइरहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।
जिल्लामा बिगतका वर्षको तथ्याङ्क हेर्दा चैते धान उत्पादन हुने खेतहरुमा कृषकले बिस्तारै धान लगाउन छाड्दै गएको पाइएको उहाँको भनाई छ । निरन्तर धान लगाउने कृषकले भने उत्पादन बढाउन आधुनिक प्रबिधि तथा उन्नत जातका वीउ विजन प्रयोग गरेर धान लगाउने गरेको पाइएको छ ।



