दैनिक भारी वर्षा , विपतबाट जोगिन छैन तयारी ?

नन्दा शाही 
जाजरकोट ,  देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे हम्मे परेको समयमा हाम्रो सामु वर्षायाम समेत सुरु भएको छ ।
कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्रकृतिक विपतीबाट बाँच्न स्थानीय सरकारको तयारी सुस्त रहेको छ । जाजरकोट , रुकुम पश्चिम र डोल्पाका स्थानीय तहहरु प्रकृतिक विपतीबाट जोगिनका लागि आवश्यक तयारी नहुँदा समस्या बल्झिन थालेको छ । विपत व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समेत कोडिनेशनको अभावमा अलमलमा परेको छ ।

विपत व्यवस्थापका लागि सामान्य छलफल भएपनि परिणाम आउने गरी काम नभएको सर्वसाधारणहरु बताउँछन् । सुरुमा लक डाउनका कारण काम गर्न पाईएन , अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहहरुको भनाई छ । बर्षाको भेलसँगै उर्लदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार , जाली खरिद गरेर जोखिमपुर्ण ठाउँमा लगाउनु पर्ने भएपनि अहिले समयको अभावका कारण सवै कामले गती लिन सकेको छैन ।

सम्वन्धित कार्यालय सँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहदा काम कसरी हुन्छ भनेर सामग्री उपलव्ध नगराउदा हैरान भएको बारेकोट गाउँपालिका –४ मैनाका देव बोहोराले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ बारेकोट सामग्री लिन समेत कठिन भएको छ । पहिले लक डाउन थियो , अहिले अलि खुकुलो हुँदा समय मात्र होईन , बाटो समेत अवरुद्ध हुँदा समस्या भएको छ । ” भेरी नदीको किनारका बस्तीहरु सवै भन्दा बढी समस्यामा परेका छन् ।

सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलव्ध नहुँदा भेरी किनाराका सर्वसाधारणहरु त्रासमा बाँच्न बाध्य भएका हुँन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलाहरुमा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमण गरी फर्कदा रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनु परेको थियो ।

लामो समय सम्मा खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्कनु भएको थियो ।

त्यस्तै सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीच बीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । नौँ वर्ष देखि शिवालय गाउँपालिका –१ मोर्कमा सहारीसाधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वितिकै छेडा – जुनिचाँदे सडक बन्द हुँने गर्दछ । छिन्चु – जाजरकोट सडक खण्डको पासागाड , खोदाखोला लगायतका चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधनहरु ठप्प हुँने गरेका छन् ।

दर्जनौ खोलामा नियन्त्रणको काम भएन
सातै वटा स्थानीय तहमा रहेका साना देखि ठुला गाउँ ,बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमिन जोगाउन तयारी कुनै भएको छैन । नलगाड नदी , छेडाखोला , ताँसु गाड खोला , भेरी नदी , पासागाड खोला , सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतीका विषयमा अहिले सम्मा कुनै तयारी गरिएको छैन । यि त देखिने खालका खोलाहरु मात्र हुँन ।
अन्य दर्जनौ साना खोलाहरु भएपनि त्यहाँ खोला नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुँने भन्दै सोही अनुसार काम गर्न लागेको बताएका छन् ।

विपत प्रतिकार्य योजना
यत्ता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत प्रतिकार्य योजना बनाउनका लागि तीन महीना अघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ । स्थानीय भौतिक पुर्वधार कार्यक्रम (सांसद विकास कोष)को खर्च हुँन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट समेत मनसुन विपतको काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
आफूहरुले जाजरकोटमा पर्ने समस्यालाई हल गर्न विपत व्यवस्थापन कार्यका लागि उद्धार सामग्री भण्डार कक्ष निर्माण गरेर परेको बेला तत्काल जान सक्ने तयारी थालेको प्रजिअ पन्तले बताउनुभयो ।





error: Content is protected !!