खदीमा आगलागी हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

रुकुम पश्चिम ः घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका–३, खदीमा बिहान पौने ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आगो निभाउने क्रममा उनका श्रीमान डम्बर देवकोटा घाइते भएका छन् । घाइते देवकोटाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन तलाको ६ कोठे घरमा बिहान खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीका कारण घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । सम्पूर्ण क्षतिको विवरण भने संकलन भइसकेको छैन । वडाध्यक्ष केशरमान विकले गाउँमा ठूलो मानिएको घर एकैछिनमा जलेको बताए । आगो नियन्त्रण छिटै गरिएपनि महिलालाई भान्साबाट निकाल्न नसक्दा मृत्यु भएको बताए ।

डम्बर र अर्का एकजना छिमेकी पनि घर भित्रै थिए । उनीहरु एउटा ढोकाबाट निस्के भने भान्सामा रहेकी लाली एकैछिनमा बलेको आगोका कारण बाहिर आउन नसकेको वडाध्यक्ष विकले बताए । पहिलो तलामा तेल भण्डारण गरिएको थियो भने दोस्रो तलामा भान्सा थियो । आगो लागि भइरहेका बेला ४ छोराछोरी भने घर बाहिर थिए ।





error: Content is protected !!