श्रममा आधारित खाद्यान्न उपलब्ध हुने

हेमन्त केसी
जाजरकोट (रासस)ः आठबीसकोट नगरपालिका रुकुम पश्चिमले खाद्य सङ्कट समाधान गर्न श्रम सहकार्यमार्फत एकैपटक १० हजार धरधुरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति लिएको छ ।
यो क्षेत्रकै दुर्गम क्षेत्रमा रहेको सो नगरपालिकामा ६ वटा वडामा असारमा गहुँ पाक्ने गर्छ । अन्य ठाउँमा नयाँ बाली भित्र्याइरहेको भए पनि यहाँका स्याला, खदी, गोतामकोटलगायतका दुई दर्जन गाउँमा अझै गहुँबाली हरियो नै रहेको गोतामकोट थापागाउँका स्थानीयवासी कृष्ण थापाले जानकारी दिनुभयो ।
खाद्यान्न अभावलाई हल गर्न नगरपालिकाले समस्या परेको ठाउँमा काम दिएर सोवापत खाद्यान्न दिने नीति लिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । यहाँले भन्नुभयो, “खाद्य सङ्कट आउने देखेर हामीले पालिकाभित्रका सबै घरधुरीलाई काममा लगाएर हरेक घरमा ५० केजी चालम उपलब्ध गराउने नीति लिएका छौँ ।”
त्यसका लागि निश्चित दूरी कायम हुने गरी हरेक टोलमा १० घरधुरीको एउटा श्रम सहकार्य समूह बनाएर काम शुरु गरेका छौँ, उहाँले भन्नुभयो, “उनीहरुले सडक, सिँचाइ, विद्यालय प्राङ्गण निर्माण आदिका काम गर्ने छन् ।
नगरपालिकाभित्र १० हजार घरधुरी रहेका छन् । त्यसबाट १०÷१० घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएका छौँ प्रमुख केसीले भन्नुभयो, “पालिका र प्रदेशका काम गर्न बाँकी साना विकासका काम यही समूहबाट हुनेछ, हरेक घरले पाँचदेखि सात दिन काम गरेर ५० केजी चालम पाउने छन् । कोही घरमा काम गर्न सक्ने मान्छे नभए समूहकै निर्णयअनुसार छिमेकीले काम गरिदिनुपर्ने छ । चालम पाउनबाट कोही घर पनि वञ्चित हुने छैन ।”
पालिकाभित्र ५१ प्रतिशत नागरिक गरिबीको रेखामुनि र ३५ प्रतिशत दलित समुदाय रहेको तथा वडा नं १ देखि ६ सम्म असारमा मात्रै गहुँ पाक्ने भएकाले यो अभियान अघि सारिएका छ । यसका लागि कम्तीमा पाँच हजार क्विन्टल चामल चाहिने नगरपालिकाले जनाएको छ ।
यो अभियानअन्तर्गत करिब रु तीन करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ । विकासका काम उपभोक्ताले नै गर्थे तर यसपटक सबै घरले अनिवार्य श्रम गर्ने र चामल दिने नीति लिएको छ, फरक यति रहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।
ओखर जोनका रुपमा आठबीसकोट
अघिल्लो वर्ष लगाएको ओखर हुर्किंदा आठबीसकोट नगरपालिकाका १, २, ३, ५, ६, ८, १० र १२ नं वडा ओखरमय भएका छन् ।
अन्य ६ वडामा पनि परीक्षणका लागि ओखरखेती गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले टर्कीबाट ल्याएका ‘च्याडलर’ र ‘फर्नर’ जातका ओखरका बिरुवा किसानलाई वितरण गरेपछि व्यावसायिकरुपमा यहाँका किसान सो खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।
अहिले लगाएका ओखरका बिरुवा दुई महिनामै हुर्किएपछि किसान खुशी भएका छन् । नगरपालिकाले प्रतिओखरको बिरुवा रु ३७० मा बिरुवा खरिद गरी किसानलाई रु ५० मा वितरण गरेको थियो । टर्कीबाट ४४ हजार बिरुवा ल्याएर किसानलाई वितरण गरिएको लम्सालले जानकारी दिनुभयो । टर्कीमै दुई वर्ष गुजारेका बिरुवा लगाउनबित्तिकै फल दिन शुरु गरेको यहाँको भनाइ छ । किसानले प्रतिरोपनी १३ बिरुवाका दरले ओखर लगाएको बताएका छन् । यो वर्ष पनि ओखरका बिरुवा वितरण गरिएको छ । आवश्यकता र ठाउँअनुसार ओखरका बिरुवा वितरणको काम भएको अधिकृत लम्सालले जानकारी दिनुभयो ।
आठबीसकोटलाई ओखर जोनका रूपमा विकास गर्न र किसानलाई व्यावसायिक बनाउन ओखरका बिरुवा अनुदानमा वितरण गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । यो कार्यक्रमले किसानलाई राम्रो प्रभाव पारेका कारण निरन्तरता दिन लागिएको उहाँको भनाइ छ ।
ओखरको माग उच्च रहेकाले किसान आकर्षित भएको उहाँको भनाइ छ । महिना, महिनामा कृषि शाखाबाट प्राविधिक गएर ओखर हेर्ने काम भएको किसानले बताएका छन् । आठबीसकोट नगरपालिका जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्छ । भेरी नदीको किनार र सिस्ने हिमालको काखमा अवस्थित नगरपालिका हो आठबीसकोट ।










