लकडाउनमै विकास–निर्माण जारी

रुकुम पश्चिम ः आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई उपचार गर्न कोरोना आइसोलेसन वार्ड बनाइयो । कोरोना भाइरस फैलन नदिन लकडाउन गरेकै समयमा तीनवटा संरचना तयार भए ।

जिल्लामा यो बीचमा यत्ति मात्रै काम भएको छैन । स्थानीय तहमा विकासका काम भएका छन् नै, अनुगमन र मूल्यांकनको काम पनि जारी छ । स्थानीय तहले भवन, खानेपानी र सिँचाइका काम धमाधम गरिरहेका हुन् । आठबीसकोटमा कोरोना विशेष कामका लागि खाद्यान्न कार्यक्रममार्फत सडक, सिँचाइ र भवन निर्माणका काम भइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

चौरजहारी नगरपालिकामा पनि सडक, खानेपानी तथा भवन निर्माणलाई निरन्तरता दिइएको छ । नगरप्रमुख विशाल शर्माले उपकरणमार्फत गर्नुपर्ने काम सामाजिक दूरी कायम गरेर जारी राखिएको बताए । ‘संक्रमित क्षेत्रबाट आएकालाई टाढा राखेर गाउँमै भएकाको सामाजिक दूरी कायम गरेका छौं,’ उनले भने, ‘प्रतिकूल समयमा पनि विकाससँगै स्थानीयको रोजगारीलाई प्राथमिकता दिइएको छ ।’

बाँफीकोट गाउँपालिकाले पनि सम्झौता भइसकेका काम गराउन थालेको छ भने विषयगत कार्यालयले निर्माणका काम सुरु गरेका छन् । कृषि विकास कार्यालयले निश्चित दूरी कायम गरेर काम थालिएको जनाएको छ ।

कोरोना भाइरसका कारण धेरै मान्छे जिल्ला तथा गाउँ फर्किएका छन् । त्यसमध्ये धेरै ज्याला–मजदुरी गर्ने छन् । काम गर्ने क्रममा घर फर्केका कतिपयले ज्यालासमेत नपाएको गुनासो गरेका छन् । यस्तो अवस्थामा जिल्लाका विकासका काम गर्ने र उनीहरूलाई समेत सहभागी गराउने काम भइरहेको कृषि कार्यालयका सूचना अधिकारी मीनबहादुर केसीले बताए । विकास पनि हुने र रोजगारी सिर्जना हुने भएपछि विकासका कामलाई निरन्तरता दिइएको उनको भनाइ छ । ‘बजेट कार्यान्वयन गराउन पनि विकासलाई निरन्तरता दिइएको हो,’ उनले भने, ‘लकडाउन खुकुलो बनाइएपछि काम गर्न सहज भएको छ ।’

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले सबै स्थानीय तह र विषयगत कार्यालयले सतर्कताको मापदण्ड पालना गरी काम गरिरहेको बताए । उनका अनुसार यसबीचमा जिल्लामा श्रम सहकार्य समूहमार्फत विकासको काम थालिएको छ । ‘हामीले पनि अनुगमनलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमार्फत निर्माण भएका योजना कार्यान्वयनमा लगिएको छ ।’





error: Content is protected !!