अन्तरजातिय विवाह गरेको भन्दै काजक्रियामा विभेद

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ वैशाख ः अन्तरजातिय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका १ चिर्तुङ्गधारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।

वैशाख २६ गते ७३ वर्षीय आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातिय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उहाँका श्रीमती शरीता नेपाली श्रेष्ठलाई छाप्रो बनाएर राखिएको छ ।

चौध वर्षअघि अन्तरजातिय विवाह गरेका श्रेष्ठ विहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाह संस्कारमा दागबत्ति दिन समेत रोक लगाइयो ।

काजक्रियाका लागि घर नजिकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाए लगत्तै शनिवार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरु सरह नै संगै राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गर्नुभएको छ ।

आईतवार बिहान पानी परेपछि छाप्रो पुरै पानी चुहिएर भिजेपछि भने घरमै लगेर राखिएको खबर आफुलाई प्राप्त भएको अध्यक्ष बस्याल बताउनुहुन्छ ।

“अन्तरजातिय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइदैन, घरभित्रै अरु सरह नै संगै राख्न निर्देशन दिएको छु, आज बिहानपख परेको पानीले छाप्रो नै भिजेपछि मात्र घरमा लगेर राखेको भन्ने खबर सुनेको छु” अध्यक्ष बस्यालले भन्नुभयो ।

श्रेष्ठका तीन भाई दाजुभाई मध्ये दुई भाई विदेशमा छन् । उहाँलाई अन्तरजातिय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल श्रेष्ठ आएपछि मात्र पार्थिक शरीरमा दागबत्ति दिइएको थियो ।

अन्तरजातिय बिवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आउनुभएको छ । पोखरामा गाडीमा सहचालकको काम गर्ने श्रेष्ठका श्रीमति र दुई सन्तति हुनुहुन्छ ।

 

 





error: Content is protected !!