‘युएन विमेन’को सूचीमा नेपाली चिकित्सक

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झा ४ फागुनयता अति व्यस्त छिन् । कोभिड–१९ को महामारीका कारण चीनमा लकडाउनमा फसेका एक सय ७५ जना नेपालीलाई सरकारले स्वदेश फर्काएको दिनदेखि नै उनको व्यस्तता अत्यधिक बढेको हो ।

‘घर पुगेर छोरीलाई अँगालो हाल्न मन छ । बुबा–आमाको रेखदेख गर्न मन छ । तर, अरूको सुरक्षाका लागि परिवारप्रतिको दायित्वलाई अहिले टाढै राख्नुको विकल्प छैन।’

‘नेगेटिभ’ र ‘पोजिटिभ’ शब्दमा अभ्यस्थ भएकी उनका लागि हालै सुखद खबर सार्वजनिक भयो । कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका संसारभरका ‘टप फाइभ’ महिलाको सूचीमा उनी पनि परेकी छिन् ।

‘उनको टोलीले दैनिक ७० को हाराहारीमा नमुना परीक्षण गर्छ,’ युएन विमनले प्रकाशित गरेको उनको व्यस्तताबारेको रिपोर्टमा भनिएको छ, ‘नसोचेको समयमा नमुना संकलन भएर उनीहरूसामु आउने हुँदा राति अबेरसम्म काम गर्नु उनीहरूको नयाँ दैनिकी भएको छ अहिले ।’

हुन पनि, कोभिड–१९ को नमुना परीक्षणमा पूर्ण ध्यान लगाइरहेकी उनी र उनको टोलीले आफ्नो व्यक्तिगत रुटिन माया मारेका छन् । सुरुवाती चरणमा कोभिड–१९ को परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एक मात्र विकल्प थियो । देशमा उपलब्ध सीमित स्रोतमा रहेर काम गर्नु उनी र उनको टोलीका लागि ठूलो चुनौती थियो । त्यही चुनौती सामना गर्दै गर्दा डा। झाले अन्तर्राष्ट्रियस्तरको सम्मान पाएकी छिन् ।

चीनको वुहानबाट नेपाली नागरिक लिएर नेपाल वायु सेवा निगमको विमान उड्नुअघि नै डा। झाको नेतृत्वमा जनस्वास्थ्य प्रयोगशालाको टोली नमुना परीक्षणका लागि तम्तयार थियो । उनीहरू काठमाडौं उत्रिएर भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पुग्नासाथ उनीहरूले धमाधम नमुना संकलन गर्न थाले । भोलिपल्ट बिहानसम्ममा सबैको नमुना परीक्षणका लागि तयार थियो । संयोगवश, सबैको रिपोर्ट आयो, ‘कोभिड–१९ नेगेटिभ’ ।

नेपालमै कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि उनीहरूको व्यस्तता झनै बढ्ने नै भयो । अबेरसम्म काममा खटिने प्रयोगशालाको टोलीलाई यातायात, खाना, खाजालगायत सबै व्यवस्था मिलाउने दायित्व डा। झाकै हो । र, उनीहरूको सुरक्षा मुख्य चुनौती । आफू तनावमा रहेर पनि अन्य सदस्यलाई काममा प्रेरित गराइराख्नु, उनीहरूसँग वेला–वेलामा संवाद गरेर हौसला दिने र परिस्थितिलाई सन्तुलनमा राख्नु उनको कर्तव्य बनेको छ । त्यही कर्तव्य सफलतापूर्वक पूरा गरिरहेकैले उनी ‘युएन विमन’को सूचीमा परेकी हुन् ।

कामको व्यस्तताबीच उनी घर जान पाउँदिनन् । त्यसैले, परिवारका सदस्यसँग प्रत्यक्ष भेटघाट छैन । आमाले सधैँ फोनमा भन्छिन्, ‘घर आऊ छोरी तिमीलाई हेर्न मन छ ।’ उनलाई पनि घर पुग्न मन नभएको होइन । भन्छिन्, ‘घर पुगेर छोरीलाई अँगालो हाल्न मन छ । बुबा–आमाको रेखदेख गर्न मन छ । तर, अरूको सुरक्षाका लागि परिवारप्रतिको दायित्वलाई अहिले टाढै राख्नुको विकल्प छैन ।’





error: Content is protected !!