एक महिनादेखि भारतीय सीमामा रहेका मजदुर भन्छन् हामी कहिले घर आउन पाउँछौं ?

भारतका बिभिन्न ठाउँवाट पैदल हिडेर आएर सुदूरपश्चिमका जिल्लाका सीमापारी अलपत्र परेका नेपालीहरु भारतीय पक्षले बनाएको क्वारेन्टाईनमा बसेको एक महिना नाघेको छ।

क्वारेन्टाईन भनेपनि कोचाकोच गरेर सुत्नुपर्ने, खाने, बस्ने, शौचको समस्या भएर कष्टकर गरि दिन बिताउनु परेको उनीहरुको भनाई छ। सुदूरपश्चिममा सीमानाका रहेका कैलाली, कंचनपुर, बैतडी र दार्चुला जिल्ला पारी पलिया, बनवासा,झुलाघाट धार्चुला, पिथौरागढ लगायत भारतीय क्वारेन्टाईनमा करिव २ हजार नेपाली रहेका छन्। भारतका बिभिन्न ठाउँमा मजदुरी गर्ने नेपालीहरु लकडाउनले निर्माण लगायतको काम बन्द भएपछि उनीहरु पैदल हिडेर सीमासम्म पुगेका थिए। सीमामा प्रवेश गर्न रोक लगाएपछि नदी तरेर, लुकिछिपी जंगलको बाटो १ सय भन्दा बढी जना प्रवेश गरेका छन भने उनीहरु नेपालले प्रवेश गराउने दिनको पर्खाईमा कष्टकर दिनहरु बिताईरहेका छन।

उनीहरुले नेपालमा क्वारेन्टाईनमा बस्न तयार रहेको र प्रवेश गराउन आग्रह गर्दै आएका छन। एक महिना पुगिसकेकाले क्वारेन्टाईनमा राख्ने गरि नेपालमा प्रवेश गराईनु पर्ने सुदूरपश्चिमका बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले केन्द्रमा सिफारिस पत्र पठाएपनि सरकारले अझै निर्णय नगरेकाले उनीहरु प्रवेश गर्न नपाएका हुन। सर्वोच्व अदालतले पनि सीमामा रोकिएका नेपालीलाई क्वारेन्टाईनको व्यवस्थापन सहित प्रवेश गराउनु पर्ने आदेश जारी गरेको थियो भने सीमामा अलपत्र परेकालाई क्वारेन्टाईनमा राख्ने गरि प्रवेश गराउनुपर्ने स्थानीयले पनि अवाज उठाउँदै आएका छन। अत्यन्त गरिव परिवारका मजदुरी गर्न गएका नेपाली अलपत्र परेकाले उनीहरुको समस्या कम सुनावाई भएको स्थानीयको जनगुनासो छ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि नेपाल–भारत सीमानाका बन्द हुँदा घर फर्कने आशमा बसेका दार्चुला बैतडी सीमा जोडिएका भारतीय क्वारेन्टाइनमा करिब एक हजार पाँच सय बढी नेपाली एक महिनाभन्दा लामो समयदेखि बस्दै आएका छन्। बनवासा र पलियामा करिव ४ सय जना रहेका छन।

अधिकांश छोटो समयको लागि मजदुरी गर्न गएका नागरिक सीमामा अड्किएका हुन्। स्थानीय जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता कार्यकर्तासँग गुहार माग्दासमेत घर फर्कन नपाउँदा लामो समयसम्म सीमामै रोएिको पुर्चौडी नगरपालिका–३ का परमल धामीले बताए। हामीसँगै आएका धेरै जना महाकाली नदी तरेर घर पुगीसके हामी भने सरकारले उद्धार गर्न आशमा छौं,’ उनले भने, ‘ढुक्कले खान बस्न पाएका छैनौं, घरमा छोराछोरीले बाटो हेरेर बसेका छन् तर हाम्रो समस्या कसैले बुझेनन्।
भारतमा लकडाउन भएपछि कामका लागि गएका नेपालीहरु स्वेदश फर्कन आएका थिए। नेपालमा समेत लकडाउन सुरु भएर नाकामा प्रवेश रोक लगाएपछि उनीहरु सीमानाका झुलाघाट धार्चुला, पिथौरागढ लगायत भारतीय क्वोन्टाइनमा बस्दै आएका छन्।

काम बन्द भएर खान र वस्न समस्या भएपछि दिनरात पैदल हिडेर उनीहरु नेपाली सीमामा आइपुगेका हुन्।

कोरोना परीक्षण समेत भएन

बढीमा २१ दिन क्वारेन्टाईनमा राखेर घर पठाउने गरेकोमा उनीहरु १ महिना देखि क्वारेन्टाईनमा नै छन। उनीहरुको अहिलेसम्म कोभीड १९ को परीक्षण समेत भएको छैन। सुरुमा स्वास्थ्यकर्मीले समान्य चेकजाँच गरे पनि कोरोनाको जाँच नगरिएको उनीहरुले बताएका छन।

एक महिनासम्म क्वारेन्टाइनमा बस्दा उनीहरु समस्यामा छन्। नेपाल–भारत दुवैतर्फ लकडाउन भएपछि पैदल हिँडेर सीमा क्षेत्रमा पुगेका अधिकांश मजदुरहले काम गरेको पारिश्रमिक समेत लिन पाएका छैनन। ठेकेदारले पैसा नदिएपछि बेखर्जी भएको आएको हुँ, पुर्चौडी नगपालिका–४ का नरपति धानुकले भने,‘एक महिनादेखि घर जान नपाउँदा बेहाल भैसक्यो।

सरकारले सीमानाका बन्द गरेपछि अलपत्र परेका नेपाली भारतका विभिन्न विद्यालय र मन्दिरका धर्मशालामा बसिरहेका छन्। सर्वोच्च अदालतले सीमामा फसेका नेपालीको तत्काल उद्धार गरी स्वदेशमै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सीमामा फसेका नेपालीको उद्धार हुन सकेको छैन्।

भारतीय क्वारेन्टाइनमा एकै कोठामा कोचाकोच गरेर वस्दा धेरै समस्या भएको उल्लेख गर्दै जामीर पानीस्थित आधारभूत विद्यालयमा बसेका पुर्चौंडीका लोकेन्द्र पार्कीले घर फर्केने दिन कुर्दा कुर्दै अत्यास लागिसकेको बताए। ‘हामीलाई यहाँ खान, बस्न र पिउने पानीको निकै समस्या छ। सरकारले छिट्टै हाम्रा समस्या बुझेर स्वदेशमै लगेर क्वारेन्टाइनमा राखोस्। आफ्ना नागरिकको जीउधनको सुरक्षाको सरकारको दायित्व होइन् र रु’उनले भने,‘हामी यत्ति मात्रै भन्छौं, हामीलाई विदेशी भूमीमा दुःख छ।’ घरपरिवार पाल्नका लागि भारतका विभिन्न ठाउँमा पुगेका नागरिक अहिले भोकभोकै बस्नुपरिरहेको पुर्चौंडीका जोगे पार्कीले बताए। उनले भने,’ हामीलाई छिट्टै उद्धार गरियोस्। स्वदेशमै क्वारेन्टाइनमा राखियोस्।

एउटै कोठामा ५० जनासम्म कोचाकोच गरेर सुत्छन्। क्वारेन्टाइनमा हुनुपर्ने समान्य मापदण्डसमेत नभएको ठाउँमा कोचाकोच गरेर बस्दा झन रोगको संक्रमण बढेको पुर्चौडी नगरपालिका–४ का दीपक धानुक ले बताए। स्वास्थ्य जाँच गर्न पहिलो दिन मात्र स्वास्थ्यकर्मी आए त्यसपछि फर्केका छैनन। कुनै एक जनामा संक्रमण भए सबैलाई सर्ने डर भएको धानुकले बताए।

कलेजमा ४ वटा मात्र शौचालय छन्। पालो पाउन मुस्किल हुन्छ। अधिकांश महाकाली नदी किनारमै खुला ठाउँमा दिसापिसाव गर्न बाध्य छन्। फोहर त्यतिकै छ झन हैजाको प्रकोप आउने त्रास नेपालीहरुलाई छ। आफ्नो देशको क्वारेन्टाइनमा जति दिन राखे पनि खुसी छौं,’ दार्चुला नौगाड गाउँपालिकाका–५ का जयबहादुर ठगुन्नाले भने, यहाँ भोकभोकै मार्नुभन्दा हामीलाई उद्धार गरेर गाउँमै मर्न दिनुस्।’

भारतीय पक्षले सधै हेप्ने गाली गर्ने गरेका छन्। अन्यत्रबाट यहाँ आएर समस्या निम्तिाइएको भन्दै दैनिक गाली खान बाध्य भएको बझाङका नरेश बोहराले दुखेसो पोखे।

सीमानाका खुल्ने आसले एक महिनादेखि नेपाली नागरिक दार्चुला जिल्लास्थिति सीमा पारीका क्वारेन्टाइनमा रहेका छन्। सीमा पारी रहेका अधिकांश मजदुरी गर्न नेपाली नागरिक हुन्। केही महिनाको लागि गएका उनीहरु कोरोना भाइरस (कोभिड–१९) को त्रास बढेपछि बिचल्लीमा परेका हुन। भारतमा पनि लकडाउनले काम गर्न नपाएको अधिकांशको गुनासो छ। ठेकेदारले पैसा समेत नदिएएकाले झन समस्या भएको उनीहरु बताउँछन्।

भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदुरलाई बसोबासको समस्या रहेको छ। क्वारेन्टाइनमा बसेकाहरुको खानपिनको भारतीय प्रशासनले व्यवस्था गरेको भए पनि उनीहरु एकै कोठाको भुँईमा बस्नु पर्ने बाध्यता छ। क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरु आँफै सँग भएको कपडा विछ्याएर भुईमै सुत्न बाध्य भएका भारतबाट फर्केका सुर्नया गाउँपालिका–८, ढोलेका मानबहादुर बोहराले बताए।

कोरोनाको जोखिम कम गर्न सामाजिक दुरी कायम गरेर बस्नुपर्ने भए पनि नेपाली मजदुर भने एकै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ। नेपाल सरकारले सीमा क्षेत्रका नागरिकलाई ल्याउनु पर्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन्। बैतडी र दार्चुलाका जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिले सीमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। सीमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई एक महिना पूरा भई सकेको र संक्रमणको जोखिम समेत नदेखिएकाले उनीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने तयारी समेत भएकाले केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनीहरुलाई ल्याएर स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्ने तयारी भएको प्रजिअ पौडेलले बताए।

अन्तराष्ट्रिय सीमा क्षेत्र भएकाले केन्द्र सरकारले सिमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई ल्याउन निर्देशन गरेलगत्तै उनीहरुलाई ल्याउने तयारी भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। भारतीय क्वारेन्टाइनमा रहेका नेपालीको भारतले र नेपालका रहेका भारतीय नागरिकको नेपालले र्‍यापिड टेस्ट गरेर ल्याउने सल्लाह भएको उनले बताए। वारी ल्याएर हामीले व्यवस्थाप गर्न सक्ने र अवधि पनि पुगि सकेको हुँदा उनीहरुलाई नेपाल ल्याउन सिफारिस समेत गरिएको सहायक प्रजिअ कुँवरले जानकारी दिए।

यसैगरि कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कंचनपुरको सीमापारी बनवासा र खटिमामा गरेर २ सय ५१ जना नेपाली क्वारेन्टाईनमा रहेको बताएका छन। उनीहरुलाई एक महिना पुगेको उनले बताए। केही दिन अघि प्रमुख जिल्ला अधिकारी सहितको टोली नेपालीहरु बसेको क्वारेन्टईनमा अनुगमनका लागी पुगेका थिए। क्वारेन्टाईनमा वसेका नेपालीहरुले प्रजिअ सहितको टोली सँग नेपालमै क्वारेन्टाईनमा वस्न तयार भएको र देशमा जान पाउन माग गरेका थिए। सीमापारी एक महिनादेखि बसिरहेका नेपालीहरु यता आएर क्वारेन्टाईनमा वस्न तयार छन, उनीहरुलाई नेपाल ल्याएर व्यवस्थापन गर्नका लागी मन्त्रालयमा सिफारिस पठाएको प्रजिअ खतिवडाले बताएका छन।‘नेपाल प्रवेश गराउन हामीहरुले पहल गरिराखेकै छौं, केन्द्रमा सिफारिस पनि पठाएका छौं’उनले भने,‘अहिलेसम्म सरकारको कुनै निर्णय नआएकोले उनीहरुलाई प्रवेश गराइएको छैन।’ देशभरी र दुवै देशका नागरीक सिमापारी अर्को देशमा भएकाले दुवै देश बिच उच्च स्तरिय रुपमा ठोस समझदारी भएपछि मात्र सरकारले निर्णय गरेर उनीहरुलाई प्रवेश गराइने संभावना रहेको उनको भनाई छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले सिमापारी रहेका नेपालीलाई प्रवेश गराउन सवै होमवर्क भैसकेको र सरकारले निर्णय गरेपछि भित्र्याइने बताएका छन। कैलालीको सिमापारी पलियामा एक महिना देखि १ सय २० जना क्वारेन्टाईनमा वसेका छन।‘ सवै विबरण संकलन गरेर सिमापारी रहेकालाई भित्र्याएर कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना समेत बनाईसकेका छौं, व्यवस्थापन गर्ने कार्ययोजना सहितको विवरण केन्द्रमा जानकारी गराएका छौं’उनले भने,‘दुई देशका सरकार बिच समझदारी भएर निर्णय हुन्छहोला।’ सिमापारीवाट प्रवेश गराएर पनि उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखिने योजना रहेको उनको भनाई छ। भारतीय नागरिक धनगढीमा ४२ जना रहेका छन।





error: Content is protected !!