कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, सरकारका पछिल्ला गतिविधिबारे समीक्षा हुने

आन्तरिक शक्ति सन्तुलनको कारण सत्तारुढ दल नेकपामा बैठक बस्नै नसकेका वेला प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार बस्दै छ ।

दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा दुई विवादित अध्यादेशपछि सरकारको समीक्षा, सांसद अपहरण, कोरोनापछिको लकडाउनको समीक्षा, स्वास्थ्य सामग्री र उपकरण खरिदमा भएका घोटालासहितका विषयमा छलफल केन्द्रित हुने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

ओली सरकारविरुद्ध सत्तारुढ दल नेकपाभित्रै विकल्पबारे गम्भीर वार्ता र बहस भइरहँदा प्रमुख प्रतिपक्षी दलले पनि प्रधानमन्त्री ओलीको विकल्प आवश्यक भएको संकेत गरेको छ । सहमहामन्त्री डा महत सरकारको क्रियाकलाप लोकतन्त्र, संविधानविरोधी भएको भन्दै प्रधानमन्त्रीको विकल्प कांग्रेसले नभई नेकपाले खोज्नुपर्ने बताउँछन् ।

‘कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने वेलामा अनावश्यक अध्यादेश ल्याउने, पार्टी फुटाउन सांसद अपहरण गर्ने, प्रधानन्यायाधीशलाई रातिराति भेट्नेजस्ता गतिविधि भनेको संवैधानिक संस्थालाई कमजोर पार्नमा सरकार उद्यत छ ।

‘लोकतन्त्र र संविधानविपरीत लाग्दै छ भन्ने संकेत हो,’ महत भन्छन्, ‘केपी ओली प्रवृत्ति गलत छ भन्ने हो भने उनको विकल्प खोज्ने मुख्य दायित्व नेकपाकै हो ।’ आफूहरूसँग सरकार बनाउन सक्ने गरी मत नभएको भन्दै महतले नेकपाले नै ओलीको विकल्प खोज्नुपर्ने संकेत गरे ।

‘हामीसँग जनादेश छैन । हामीले सरकार बनाउने पनि होइन, तर संविधान मिच्ने काम सरकारप्रमुखबाट भएपछि विकल्प नेकपाले नै खोज्ने हो,’ उनले भने, ‘हामी त खराब कुराको विरोध गर्छौं, लोकतन्त्रलाई कमजोर पार्दा संघर्षमा उत्रिन्छौँ ।’

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल पनि प्रधानमन्त्री ओलीले नै नेकपालाई अप्ठ्यारोमा पारेको बताउँछन् । ‘हामीले होइन प्रधानमन्त्रीले नेकपालाई अप्ठ्यारोमा पार्नुभयो,’ रिजाल भन्छन्, ‘विपत्तिमा जनताको हितका निम्ति काम गर्नुपर्ने सरकार, संविधान र लोकतन्त्रविरोधी काममा लागिसकेपछि हामी बैठकमा यी विषयमा समीक्षा गर्दै धारणा बनाउँछौँ ।’

कांग्रेस युवा नेता प्रदीप पौडेल संविधान र लोकतन्त्रको घाँटी निमोठ्न लागेका प्रधानमन्त्रीको विकल्प नेकपाले खोज्नुपर्ने बताउँछन् । सरकारका पछिल्ला गतिविधिबारे केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।

यसरी हुँदै छ लकडाउनमा बैठक
कोरोना संक्रमण जोखिम हुन नदिन गरिएको लकडाउनमा बस्न लागेको कांग्रेस बैठकको स्वरूप भने फरक हुनेछ । २ बजे बस्ने केन्द्रीय समितिको बैठक नियमित हलमा बस्ने छैन ।

सानेपास्थित केन्द्रीय कार्यालयको पहिलो तलामा रहेको ठूलो हलमा सामाजिक दूरी कायम गरी बैठक बस्ने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।

बैठक बस्नुअघि कार्यालयलाई पूरै सेनिटाइज गरिएको जानकारी उनले दिए ।

कार्यालय परिसरको सफाइ, हलको सफाइ, केन्द्रीय सदस्य हात धोएर मात्रै बैठक हल प्रवेश गर्नुपर्ने, अनिवार्य मास्कको व्यवस्था, हलभित्र पनि दूरी कायम गरेर मात्रै बैठक बस्ने तयारी भएको शर्माले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्यले बोलेपिच्छे माइक्रोफोन सेनिटाइज गरेर मात्र अर्कोलाई बोल्न दिने गरी व्यवस्था गरिएको उनले जानकारी दिए ।





error: Content is protected !!