पढ्ने किताव छैन पीर नगर्नुहोस् निःशुल्क डिजिटल पुस्तकालय छ

देश अहिले बन्दाबन्दी (लकडाउन)मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको दायरा बढाउन सकिन्छ ।
बन्दाबन्दीको फुर्सदको समय बिताउन गाह्रो भइरहेको अवस्थामा पनि धेरैलाई ई–लाइब्रेरीहरू सहयोगी बनेका छन् । समय र पैसाको किफायती उपयोगका लागि भर्चुअल लाइब्रेरी धेरैले रोज्न थालेका छन् । इन्टरनेटको पहुँच भएका ठाउँमा गुगलमा खोजी गरेपछि सबै थाहा पाइन्छ भन्ने धेरै युवा पुुस्तालाई थाहा भइसकेको छ ।
अनलाइन लाइब्रेरी यस्तो प्लेटफर्म हो, जहाँ तपाईं डिजिटाइज्ड अक्षरहरूसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ । कति निःशुल्क त कति शुल्क तिरेर पढ्न सकिने लाइब्रेरीहरू छन् । साहित्य, समाज, विज्ञान, धर्म, संस्कृति, इतिहास, दर्शन, राजनीति जस्ता धेरै विषयका हजारौँ किताब इन्टरनेटबाट निःशुल्क डाउनलोड गरी आफ्नै घरमा कम्प्युटर वा मोबाइलमा पढ्न मिल्ने भएपछि किन लिने पुस्तकालयको चिन्ता केही निःशुल्क डिजिटल लाइब्रेरीबारे थाहा पाइराख्दा लकडाउनलाई अध्ययनमय बनाउन सकिन्छ ।

वल्र्ड डिजिटल लाइब्रेरी
यसलाई संसारको उत्कृष्ट निःशुल्क अनलाइन लाइब्रेरी भन्दा फरक नपर्ला । अमेरिकाको लाइब्रेरी अफ कंग्रेसको पहलकदमीलाई युनेस्कोले सहयोग गरेपछि यसको निर्माण भएको हो । यो लाइब्रेरीमा संसारभरका लाइब्रेरीको सहकार्य छ ।
सन् २००९ को अप्रिलमा खुला गरिएको यो डिजिटल लाइब्रेरीमा संसारका लगभग सबै देशका किताब पाइने उल्लेख छ । पुस्तक, पाण्डुलिपि, नक्सा, पत्रपत्रिका, फोटो लगायतका विशाल डिजिटल सङ्ग्रहमा संसारका सात भाषामा मेटाडाटा र विवरणसमेत दिइएको छ ।

बिब्लियोमेनिया
बिब्लियोमेनियामा निःशुल्क अनलाइनमै पढ्न सकिने हजारौँ पुस्तक राखिएका छन् । यसमा दुई हजारभन्दा बढी शास्त्रीय पठन सामग्री रहेको उल्लेख छ । विश्वमा निकै रुचाइएका र पढिने स्रष्टाका आख्यान, गैरआख्यान, नाटक, कथा, कविताको भण्डार यसको भर्चुअल सङ्ग्रहमा उपलब्ध छन् । लेखक र विधा छानेर चाहेका किताब तुरुन्तै पढ्न सकिन्छ ।

मेनी बुक्स
सन् २००४ मा स्थापना गरिएको मेनी बुक्स निकै पुराना किताबका लागि लोकप्रिय ई–लाइब्रेरी हो । कथा, इतिहास, आत्मकथा, रोमान्स, साइन्स फिक्सनलगायत विभिन्न विधाका पुस्तक निःशुल्क पढ्न सकिन्छ । पुस्तक डाउनलोड गरी आफूले चाहेको समयमा अफलाइन पनि पढ्न सकिन्छ ।

लेट्स रिड
एसिया फाउन्डेसनले विकास गरेको लेट्स रिड डिजिटल लाइब्रेरी विशेष गरी साना नानीहरूका लागि निकै उपयोगी इलाइब्रेरी हो । विभिन्न देशका राष्ट्रिय मात्र नभई स्थानीय भाषाका समेत रोचक पुस्तकहरू यसमा राखिएका छन् ।
सचित्र कथाहरूका भर्चुअल किताबले केटाकेटीलाई किताबको संसारमा हराउन मद्दत पुग्छ । नेपाली भाषाका दर्जनौँ सचित्र पुस्तक डाउनलोड गरी बालबालिकालाई दिएमा उनीहरू चित्रसँगै अक्षर र धेरै शब्दसँग समेत परिचित बन्न सक्छन् ।

ई–पुस्तकालय
विशेषगरी बालबालिकाका लागि उपयोगी ई पुस्तकालयमा विद्यालय स्तरका प्रशस्त शैक्षिक सामग्री भेट्टाउन सकिन्छ । छ हजार आठ सयभन्दा बढी किताब, दुई हजारभन्दा बढी अडियो बुक, पाँच सय जति भिडियो सामग्री यसमा उपलब्ध छन् । सन् २००९ देखि निःशुल्क उपलब्ध यहाँका सामग्री निःशुल्क प्रयोग गर्न सकिन्छ ।





error: Content is protected !!