ढुंगेघरले राम्रो गोतामकोट

हरि गौतम
रुकुम पश्चिम ः ढुंगाको दिवाल, ढुंगाकै छानो । एकनासका यी घरले गाउँलाई पत्थरमय बनाएका छन् । आठबीसकोट नगरपालिका ४, ५ र ६ नम्बर वडामा पर्ने साविकको गोतामकोटलाई यस्तै ‘ढुंगेघर’ले फरक पहिचान दिएका छन् ।
गोतामकोटबासीले स्वतस्फूर्त रुपमा यस्ता घर बनाएका हुन् । ढुंगाको छानो भएको घरलाई स्थानीयस्तरमा ‘ढुंगेघर’ भन्ने चलन छ । गोतामकोटका सरकारी संरचनाबाहेक निजी घर ढुंगाले छाइएका छन् ।
‘जस्ता पाताभन्दा सस्तो र बलियो हुने भएकोले हामीले पत्थरले घर छाउने गरेका छौं,’ स्थानीयबासी घनश्याम भण्डारीले भने, ‘गाउँमा सजिलै पाइने भएकोले पनि ढुंगाको छानो हाल्ने गरिएको छ ।’ घरका साथै यहाँका गोठ र बार्दलीसमेत ढुंगाले छाइएका उनले बताए । भेरीखोला र तरबरामा छानो छाउने ढुंगा पाइन्छ । माघदेखि असारसम्म ढुंगा काढ्ने गरिन्छ । एउटा घर छाउने ढुंगाको मुल्य न्यूनतम ८ रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्छ । ढुंगा काढ्ने काम गरिरहेका स्थानीय बासिन्दा नरसिंह नाथका अनुसार एउटा घर छाउन करिब २५ हजारका ढुंगा भए पुग्छ । ठूलो घर बनाउनु परेमा ६० हजारका ढुंगाले पर्याप्त हुने उनले बताए । उनका अनुसार पछिल्लो समय ढुंगाको मुल्य बढ्दै गएको छ । ढुंगा काढ्नेहरूको ज्याला बढ्नुका साथै अन्य सामग्रीको समेत भाउ बढेको कारण ढुंगाको मुल्य बढेको उनले बताए ।
स्थानीय लक्षिमान सार्कीले ढुंगाले छाएका घर बलियोका साथै राम्रा पनि देखिने गरेका बताए । त्यसैले अन्य गाउँका मान्छेले समेत यहाँका ढुंगा लैजाने गरेका उनको भनाइ छ । सामुदायिक वन उपभोक्ता समितिले ढुंगा बेच्ने व्यवस्था मिलाएका हुन्छन् ।
सम्बन्धित वनमा रहेको ढुंगा बिक्रीबापत उपभोक्ता समितिले निश्चित दस्तुरसमेत लिने गरेका वडा नं। ५ का अध्यक्ष प्रजित कामीले बताए । ‘यी ढुंगाले गाउँमा एकनासका घर बनाउन सघाएको छ,’ उनले भने, ‘गाउँमै पाइने भएकोले सहज र सस्तो पनि भएको छ ।’ गाउँमा रहेका विद्यालय, स्वास्थ्यचौकी र अन्य भौतिक संरचना भने जस्तापाताले छाइएका छन् ।










